पर्वत/ स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। २०७४ सालमा भएको संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा यो नियमले पर्वतका महिला नेतृहरूलाई हौस्याएको पनि थियो ।
तथ्याङ्क र अध्ययनहरूमा आम नागरिकमा राजनीतिप्रति चासो बढेको, सामाजिक न्याय र सामाजिक सुरक्षा बढेको, महिला अधिकारहरू कार्यान्वयनमा रहेको, राजनीतिक सोचको विकास भएको, महिला अधिकारको पक्षमा महिला मात्रै नभई पुरुषहरू पनि सक्रिय रहेको लगायतका कुराहरू उल्लेख गरिन्छन्। तर, वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनले भने यी कुरालाई मिथ्या साबित गर्न खोजेको देखिएको छ ।
पाँच दलीय गठबन्धन केन्द्रमा रहेको भए पनि पर्वतमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीबीचमा मात्रै चुनावी तालमेल भएको छ। तर, अवस्था यस्तो देखिन्छ कि गठबन्धनमा रहेका यी तीनवटै दलहरूमा महिला नेतृहरूको अवस्था शून्य छ वा भएर पनि निरीह छ ।
दुई नगरपालिका र पाँचवटा गाउँपालिका गरी सात ओटा स्थानीय तहहरू रहेको पर्वतमा गठबन्धनले स्थानीय तहको प्रमुख र उपप्रमुख गरेर १४ जना उम्मेदवार चयन गरेको छ। ती १४ जनामा १२ जना पुरुषहरू रहेका छन् भने २ जनामात्रै महिला राखिएको छ। गठबन्धनबाट कुश्मा नगरपालिकाको प्रमुखमा रामचन्द्र जोशी र उपप्रमुखमा शंकर गिरी, फलेवास नगरपालिकाको प्रमुखमा गंगाधर तिवारी र शोभा क्षेत्री, मोदी गाउँपालिकाको प्रमुखमा गुप्तबहादुर हमाल र उपप्रमुखमा रामबहादुर प्रसाईँ, जलजला गाउँपालिकाको प्रमुखमा राजु आचार्य र दीपक आचार्य उम्मेदवार रहेका छन्।
यस्तै बिहादी गाउँपालिकाको प्रमुखमा प्रवीण गुरुङ र उपप्रमुखमा सन्त बहादुर गुरुङ, पैयुँ गाउँपालिकाको प्रमुखमा तोरण मल्ल ठकुरी र उपप्रमुखमा जानकारी प्रधान तथा महाशिला गाउँपालिकाको प्रमुखमा अशोक उचै ठकुरी र उपप्रमुखमा बिराज हमाल उम्मेदवार हुन। सात स्थानीय तहमध्ये फलेवास नगरपालिकाको उपप्रमुख र पैयुँ गाउँपालिकाको उपप्रमुखमा मात्रै महिला उम्मेदवार खडा गरिएको छ।
नेकपा एमालेले भने सातवटामध्ये छ वटा स्थानीय तहका प्रमुखमा पुरुष र एकमा महिला उम्मेदवार बनाएको छ ।
एमालेबाट कुश्मा नगरपालिकाको प्रमुखमा गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजाल, फलेवास नगरपालिकाको प्रमुखमा पदमपाणि शर्मा र उपप्रमुखमा मञ्जु अधिकारी प्यासी, मोदी गाउँपालिकाको प्रमुखमा हिरादेवी शर्मा र उपप्रमुखमा विमल लामिछाने, जलजला गाउँपालिकाको प्रमुखमा लालबहादुर अधिकारी र उपप्रमुखमा सुनिता जिसी उम्मेदवार रहेका छन्। यस्तै बिहादी गाउँपालिकामा ओम कुँवर अध्यक्षमा र मिना तिवारी उपप्रमुखमा, पैयुँ गाउँपालिकामा महेन्द्र श्रेष्ठ प्रमुखमा र यामकुमारी राना उपप्रमुखमा तथा महाशिला गाउँपालिकामा इश्वरी भुसाल प्रमुखमा र धनसुबा बिक उपप्रमुखमा भिड्दै छन ्।
२०७४ सालको स्थानीय तहको निर्वाचन संघीयतापछिको पहिलो भएका कारण पनि प्रायः उपप्रमुख पद नै महिला नेतृहरूको रोजाइमा परेको थियो। पाँच वर्षको अवधिमा सिकेका अनुभव र कार्यसम्पादनबाट अबका लागि भने आफूहरू स्थानीय तहको प्रमुख नै बन्न सक्षम र योग्य रहेको भन्दै महिलाहरूले बताउँदै र प्रमुख पदमा दाबी गर्दै आएको भए पनि यस पटक त झन् ऐनमा भएको व्यवस्थालाई नै कुल्चिइएको छ ।
सबै पदमा पुरुषहरूको रजाइँ देखिएपछि त्यसको विरोध भएको छ ।
‘पाँच वर्षसम्म उपमेयरको काम गरेका महिलाहरू अहिले उपमेयरबाट समेत बाहिरिएका छन्। पर्वतमात्रै होइन गण्डकी प्रदेश र अन्य जिल्लाको पनि अवस्था देखेकी छु । महिला बसेको पदभन्दा तल पुरुष बसेर काम गर्नै हुन्न भन्ने मानसिकता हो जस्तो देखिन्छ’, कुश्मा नगरपालिकाकी निवर्तमान उपप्रमुख सीता काफ्ले लामिछाने भन्छिन्, ‘गठबन्धनभित्र पनि त अनुभवी र सक्षम महिलाहरू हुनुहुन्छ तर उहाँहरूलाई विश्वास गरेको देखिएन। राजनीतिबाट नै उपेक्षा गर्ने हो भने अरू कुन नीतिमा महिलालाई अटाउन सकिन्छ ?’





