पर्वत/स्थानीय तहको निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारी दिएका पर्वतका ९७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार उम्मेदवारी फिर्ताका लागि दिएको समयमा उम्मेदवारी दिएका कुल ९ सय ५७ जनामध्ये ९७ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले जानकारी दिए ।
शर्माका अनुसार स्थानीय तहको प्रमुख पदका उम्मेदवार छ जनाले, उप–प्रमुख पदका उम्मेदवार दुई जनाले, वडाध्यक्ष पदका उम्मेदवार २५ जनाले, महिला वडा सदस्य पदका उम्मेदवार १२ जनाले, दलित महिला सदस्य नौ जनाले र खुल्ला सदस्य पदका उम्मेदवार ४३ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।
फिर्ता लिएकाहरूमा सबैभन्दा बढी फलेवास नगरपालिकाका २९ जना तथा कुश्मा नगरपालिकाका २४ जना, मोदी गाउँपालिकाबाट छ जना, जलजला गाउँपालिकाबाट पाँच जना, विहादी गाउँपालिकाबाट २३ जना, पैंयु गाउँपालिकाबाट चार जना र महाशिला गाउँपालिकाबाट छ जना रहेका छन् ।
९७ जनाको उम्मेदवारी फिर्तासँगै पर्वतमा अब ८ सय ६० जनाको उम्मेदवारी कायम भएको छ । सात स्थानीय तहमा ६१ ओटा वडाहरू रहेको पर्वतमा अब चुनावी प्रतिस्पर्धामा स्थानीय तहको प्रमुखमा ४१ जना, उपप्रमुखमा २६ जना, वडाध्यक्षमा एक सय ९० जनाको उम्मेदवारी कायम भएको छ ।
यस्तै महिला वडा सदस्यमा एक सय ४१ जना, दलित महिला वडा सदस्यमा एक सय ३८ जना र खुल्ला सदस्यमा तीन सय २४ जनाको उम्मेदवारी कायम भएको छ ।
स्थानीय तह अनुसार कुस्मा नगरपालिकामा दुई सय एक जनाले, मोदी गाउँपालिकामा १ सय १९ जना, जलजला गाउँपालिकामा एक सय ३३ जना, फलेवास नगरपालिकामा एक सय ५७ जना, विहादी गाउँपालिकामा ७८ जना, पैंयु गाउँपालिकामा एक सय जना र महाशिला गाउँपालिकामा ७२ जनाले विभिन्न पदहरूमा प्रतिस्पर्धा गर्दै छन् । यीमध्ये तीन सय १९ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।





