पोखरा/ पोखरेली युवा सांस्कृतिक परिवारले गीत संगीतमा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८बाट यस वर्षसङ्गीतकार वरिष्ठ तवला बादक श्यामलाल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ ।
पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत संगीतका क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील श्यामलाल श्रेष्ठले २०५१ मा रेडियो नेपाल बाट स्वर परिक्षा उत्तिर्ण गरेका थिए । पोखराका एक पुराना तबलावादक गुरुका रुपमा पनि श्रेष्ठलाइ मानिन्छ । नेपाली गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरुप सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक एवम् पोयुसांपका सल्लाहकार अनन्दश्रेष्ठले जानकारी दिए ।
गायक तथा सङ्गीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोयुसांपद्धारा सञ्चालित यो पुरस्कारबाट यस अघि बिमा कुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा र कर्णदास पुरस्कृत भइसकेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा यही आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिएका छन् ।





