१.भारतीय लेखिका गिताञ्जली श्रीको उपन्यास रेत समाधिले यो वर्षको बुकर पुरस्कार जित्यो । खासमा हिन्दीमा लेखिएको तथा डेजी रकवेलले अंग्रेजीमा अनुवाद गरेको ‘टम्ब अफ स्याण्ड’लाई बुकर प्रदान गरिएको हो । बुकर पाउने यो पहिलो भारतीय कृति हो । बुकर पाएसँगै अन्तर्राष्ट्रिय बजारमा यो कृतिको चर्चा चुलिएको छ ।
उत्तर भारतीय परिवेशलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको पुस्तकका पात्रहरु जीवनको सरल प्रवाहमा बग्छन् । ८० वर्षीया वृद्धको कथाले पुराना दिनको याद गराउँछ,घटना र संवादले कथालाई साँच्चिकै क्यानभास बनाउँछ । सानो घटना, अनौठा बिम्बको प्रयोग तथा उतार–चढावयुक्त जीवनको कथा नै टम्ब अफ स्याण्ड हो । समालोचकहरुले यो उपन्यासलाई एक मानवतावादी उपन्यास भनेका छन् । बुकर पुरस्कारका निर्णायक मण्डलका प्रमुख फ्र्यांक वायनेले यो उपन्यासलाई भारत र विभाजनका बारेमा लेखिएको चम्किलो उपन्यास भनेका छन् । उनका अनुसार उपन्यासमा मन्त्रमुग्धता र उग्र करुणा, यौवन तथा उमेर, महिला र पुरुष, परिवार र राष्ट्रका कुरालाई रंगीन रूपमा प्रस्तुत गरिएको छ ।
२. पन्धौं चुली
सगरमाथाको उचाइ मापनबाट चर्चित बनेका खिमलाल गौतम लेखक बनेर उदाएका छन् । निजामति कर्मचारीको रुपमा उनले सगरमाथामात्रै चढेनन्,उचाइ मापन गर्दै नयाँ कीर्तिमान रचे । सगरमाथासँग जोडिएको अनुभवलाई समेटेर लेखिएको ‘पन्धौं चुली’ बजारमा आएको छ । कास्कीका खिमलालको किताबलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो । काठमाडौंमा विमोचनपछि आज यो पुस्तक गृहनगरी पोखरामा पनि विमोचित हुँदैछ । सगरमाथाको आरोहण इतिहास र भूगोलको जानकारी यो पुस्तकमा समेटिएको समिक्षकहरुको भनाई छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले डा. हर्क गुरुङपछि भूगोललाई सबैले बुझ्ने गरी लेखिएको उत्कृष्ट कृतिको उपमा दिएका छन् ।





