पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यही असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङ्गण पोखरा १ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ ।
उत्सवअन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक सम्पदाकोबारेमा चित्र कोरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
असार १० गते गजल, कविता, मुक्तक र लघुकथा बाचन तथा ‘धनिरामको गोरु’ नाटक मञ्चन हुनेछ । यस कार्यको लागि पोखरेली यूवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघु कथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरसँग सहकार्य हुने प्रतिष्ठानको भनाइ छ । साहित्यिक कार्यक्रम तर्फ रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघु कथा समेत सुन्न पाइनेछ । नाटक दिउँसो ४ बजे मञ्चन हुनेछ ।
अन्तिम दिन असार ११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुनेछ । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ । यसका अलावा १४ जना अनुसन्धानकर्ताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानले जनाएको छ ।





