आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

म बाटो हराएको बटुवाज

म बाटो हराएको बटुवाज


  • दिलप्रसाद पौडेल
  • असार १९ २०७९, आइतबार

आज मरुभुमीको तातो हावा र घामका किरणले तातेको मेरो आब अनि पैतालामा उठिरहेका पानीका फोराहरुले यहाँको जिन्दगी र जिन्दगीमा देखेका सपनाको बाव खोजिरहेको छु । गजधुम्म परेका मस्जिदका थुम्काहरु अनि बेकसुर खुम्चिएका खजुरका पातहरुले नैरस्यताको भुमरीमा बैमनस्यताको आगो बालिरहेको छ । स्वर्णिम स्वप्ना अनि योजना र चाहानाका रश्मिहरु ,आशाका यान्द्राहरु पिडानै पिडाको झालभित्र चुपचाप मौन रहिरहेका छन । हरेक गोधुलीमा जब अन्धकार छाउँछ पृथ्वीमा मैले मेरी आमाको काख झल्झली सम्झिन्छु । जब हुरी बतास आउँछ मेरो जीवनमा मानौ म बाटो हराएको बटुवाजस्तै बनेर आमाको हात खोजिरहेको हुन्छु ।जति–जति बढिरहेको छ उमेर उति–उति बढदैछ आमाको याद् सपनाहरुको बिसंगत समिकरण बन्दै छ कि जस्तै भान हुन्छ मेरो यो जीन्दगी ।

सबैभन्दा पहिले मैले अनगिन्ती सपना देखेको थिए आफ्नो लागि अपसोच सपना पूरा कहिल्यै भएनन ।त्यस पछि प्रियसी र छोराहरुका लागि मैले सपना देखें, आफनै ब्यवस्था र भविष्यका लागि दौडेर लामो दौड मलाई थकानको महसुस अझै भएको छैन । वर्षातको पहिरो जस्तो आफनै जीन्दगीलाई हेर्छु अनि हरहरति रुन्छ मेरो मन मैले मेरी आमाको मुहार हंसाउने सपना देख्न सकेको रहेनछु समयमा जुन सपना हुनुपर्थ्यो मेरा सपनाहरुकोअग्रप्रक्तिमा तर ती सबै छुटेका रहेछ्न । सबै सपनाहरुले बनाएका चक्रब्युह भित्र कैदी बनेर आमाको मलिन अनुहार चलचित्रको पर्दामा झै एकपछी अर्को गरि घुमिरहेको छ । जब साउनेझरीमा मुसलधारे पानी पर्छ अनि मरुभुमीमा तातो घाम मेरो शरिरमा पर्दा मैले मेरी आमाको पछ्यौरी सम्झिन्छु । जब मलाई भोकले अत्याउछ अनि निद्राले सताउछ मैले मेरी आमाको काख सम्झिन्छु । जव जमराको आशिष र सयपत्रीको सुगन्ध लिएर बहन्छ चाडपर्वहरु आउछन यो पापी ठाउँमा म आमाको त्यो गहभरी टिअपिलाएका आँसु सहितको चाउरी परेको अनुहार सम्झिन्छु ।

अहिले आमाबाट टाढा भएर जब सोच्छु जीन्दगीको पवित्र स्वर्ग भन्नु पनि आमाको काख रहेछ । योअनुभुति नै जीवनमा लाख रहेछ सम्हाल्दा सम्हाल्दै महासागरमा दिशा हराईरहेको जहाजजस्तो यो जीन्दगी पहिला पहिला विलखवन्दमा परिरहेजस्तै जति–जति ढल्दै गइरहेछ उमेर उति–उति म आमालाई सम्झिरहेको छु । जतिजति विरुवा हुर्के जस्तो भइरहेको छ । यो जीन्दगी उति उति म आपना आंखाभरी देखिरहेको छु।डाँडामा अस्ताउदै गरेको घाम र डाँडा सम्मै देखिने गोरेटो हेर्दाआंगनको डिलमा उभिरहेको अटलआंखामा ममता र स्नेहको महासागर लिएर पलपल आमाको सम्झनामा तड्पिरहेको छु । म जन्मिदा परालको गुन्द्रीमा लम्पसार परेर लामो सास फेरेकी मेरी आमा आज म सातसमुपारीको बिरानो बस्तीमा छु न त तिम्रो जिउदो शरीर भेट्टाए न तिम्रो चितामाथी तुलसीको डांठले एकचोटी झम्टिएर तिम्रो मुखमा दागबत्ती दिन पाए मलाई माफ गरिदिनु आमा ।

म सानो छंदा मेरो हात समातेर बारीका कांल्ला र बाटोका अग्ला गौ ंडाहरु उकाल्दा मेरो बाबू कतै लडेर सिस्नोको घारीमा पर्छकी भनेर डोकोमाथी बोकेर उकाल्थ्यौ है आमा आज त्यही दिन सम्झिरहेको छु । मैले आटो खान नमान्दा पैचो मागेर कनिकाको लिटो बनाएर कुवाउने मेरी आमा आज तिम्रो डढेको खरानी त के अस्तु बगाउन सम्म पाईन आमा । खाना खानेबेला चारैतिर डुलाउदै कोकाई कोकाई हाम्म मेरो बाबू भनेर घण्टौ लगाएर भात कुवाउथ्यौ । मैले कहिलेकाही भात थुकिदिन्थे तिमीले किन खान मान्दैन भनेर आफ्नै मुखमा चपाएर खुवाईदिन्थ्यौ । कहिलेकाही म बिरामी हुदा भए भरका देवि देवता भाकेर मेरो बाबुलाई छिटो निको होस भनेर रातभरी नसुती मलाई बचाएकी मेरी आमा आज म तिमीलाइ बचाउन त के कुरा तिम्रो ठूलो परानले छोड्ने बेला एक चम्चा पानी सम्म खुवाउन सकिन । म मर्दा पानी खुवाउने छोरो मुग्लान पसेको यतिका दिनसम्म पनि फर्के न भनेर भेट्न आउने मान्छेसंग गुनासो गर्थ्यौ अरे आखिर भयो त्यस्तै तिम्रो कानीकाठ गरेर तिमीलाई घाटसम्म पु¥याउन सकिन मलाई माफ गरिदिनु आमा ।

आजभोली कहिलेकाही सपनामा लाम्टो चुसाउन आउछ्यौ म कोल्टो फर्किन्छु र छाम्छु मेरी आमा सपना बनेर आईरहेकी हुन्छ्यौ तर बिडम्बना मैले तिमीलाई भुल्दै गएको छु आमा । आजभोली वर्षमा केवल दुई दिन तिम्रो सम्झना आउँछ एउटा तिमी मरेको दिन अनि अर्को सोह्र श्राद्द मा तिम्रो पुन्य तिथि परेको दिन । भैगो आमा अब मेरो सपनामा पनि नआईदिनु मैले पनि बिस्तारै भुल्दै निदाउने कोशिश गर्ने छु । स्वर्गमाथी म पनि एकदिन तिमी भएकै ठाउँमा पक्कै आउनेछु तिम्रो आडैमा एउटा थाब्नो बिछ्याईराख्नु मरेपछी म तिमीलाई भेट्न आउनेछु । जदौ ।

जैमिनी,बागलुङ
हालः – कुवेत बाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->