आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

चलचित्र प्रकाश : यथार्थवादी कथामा व्यावसायिकताको खोजी

चलचित्र प्रकाश : यथार्थवादी कथामा व्यावसायिकताको खोजी

जुम्लाको कथा तर हरेक समाजको व्यथा ।


  • सन्तोष बस्याल
  • साउन २१ २०७९, शनिबार

चलचित्र ‘प्रकाश’ जुम्लाको नागरिकको अवस्था परिवर्तनका लागि उत्प्रेरक एवं सरकारी निकायहरुलाई झक्झक्याउने माध्यम बन्न सक्छ । सिनेमामार्फत्रुपान्तरण सम्भव छ भन्ने नौलो अभ्यासको सिर्जना हुन सक्छ ।

नेपाली चलचित्र क्षेत्र फराकिलो बन्दै गएको छ । बीचमा केही समय सुस्ताएको चलचित्र क्षेत्र विस्तारै उठ्ने प्रयास गरिरहेको छ । निर्माता, निर्देशक, लेखकहरु नयाँ नयाँ कथाको खोजीमा लिप्त भएको देखिन्छ । कोही व्यावसायिक चलचित्र निर्माण गर्न तर्फ लागिरहेका छन् भने कोही समाजको यथार्थपरक कथालाई प्रस्तुत गर्न खोजिरहेका छन् ।

चलचित्र समाजको ऐना हो । समाजमा भएका गतिविधिलाई नै चलचित्रमा समावेश गरिएको हुन्छ । हामीले उठाएका कथावस्तुले हाम्रो समाजको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक अवस्थालाई चित्रण गरेको हुन्छ । हाम्रो मौलिकताको परिचय दिलाउनेमाध्यम समेत चलचित्र नै हो । विश्वबजारमा चलचित्रको व्यापक विस्तार हुँदा नेपालमा भने सीमितता पाइन्छ ।

यति भनिरहँदा नेपाली चलचित्र क्षेत्रमा लगानीको वृद्धि नभएको भने होइन । नेपाली चलचित्रलाई समेत विश्वबजारमा पु¥याउने प्रयत्न भएका छन् । पहिले नेपालका हलहरुमा मात्र सीमित रहने चलचित्र च्यारेटीका आधारमा नेपाल बाहिरका हलहरुमा समेत प्रदर्शन हुन थालेका छन् । जसले निर्माता, निर्देशक र कलाकारहरुमा आशा पलाएको देखिन्छ ।

व्यावसायिक दृष्टिकोणबाट बनाइएको चलचित्रले नेपालमा राम्रै सफलता प्राप्त गरेको छ । तर, यथार्थप्रदक चलचित्रहरु खासै चलेको देखिँदैन । सीमित दर्शककाबीच हलमा प्रदर्शन गर्न बाध्य छन् निर्माता, निर्देशक । चलचित्र ‘प्रकाश’ पनि समाजको यथार्थपरक कथा हो । जुम्लाको कथालाई प्रकाशमा प्रस्तुत गर्न खोजिएको छ । जसमा मुख्य भूमिकामा छन् नायक प्रदीप खड्का ।

प्रेमिल कथामा रुचाइएको प्रदीपको अभिनयलाई ‘प्रकाश’ मार्फत् दर्शकले कति रुचाउने हुन् त्यो हेर्न बाँकी नै छ । भदौ १० पश्चात नै रिजल्ट आउला । तर खड्का भने ‘प्रकाश’ लाई लिएर आशावादी छन् । उनले ‘प्रकाश’ चलचित्रले आफुलाई हिरोबाट एक कलाकार बनाउने दिशामा उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आएका छन् । ‘प्रकाश’ का लागि प्रदीपको मिहिनत पनि चर्को छ । आफूले गर्दै आएका चलचित्रभन्दा फरकधारको चलचित्रमा काम गर्न पाउँदा उनमा ‘प्रकाश’ लाई लिएर हुटुहुटीसमेत नभएको होइन ।

‘प्रकाश’ जुम्लाको कथा हो । जुम्लाको कथा भएता पनि यसले समाजका व्यवधानहरुलाई प्रष्टसँग झल्काएको अभिव्यक्ति लेखक विकास सुवेदीले दिँदै आएका छन् । पत्रकारिता क्षेत्रबाट चलचित्रमा आएका सुवेदीले जुम्लाको एक गरीब परिवारमा हुर्केको युवाको सपनालाई कथामा प्रस्तुत गरेका छन् । ‘प्रकाश’ अन्धकाररुपी जीवनशैलीबाट उज्यालोतर्फ डोराउने कथा भएको भनाइ उनको छ । पत्रकारिता गरिरहँदा समाजमा आफूले देखेका समस्यालाई चलचित्रमार्फत् प्रस्तुत गर्न खोजिएको तर्क सुवेदीको छ । ‘प्रकाश’ लाई लिएर उनी आशावादी देखिन्छन् ।

रिलिज मिति नजिकिदै गर्दा ‘प्रकाश’ ले प्रचारप्रसारको शैलीलाई समेत परिवर्तन गरेको पाइन्छ । प्रकाश टीम यतिबेला देश दौडाहामा छ । सामाजिक संजाललाई समेत प्रभावकारी बनाइएको छ । यसअघिका चलचित्रहरुले गर्ने प्रचारशैलीभन्दा प्रकाशको प्रचारशैलीमा केही नयाँपन छ ।

कलाकार दिया मास्केले समेत ‘प्रकाश’ मार्फत् आफ्नो कलाकारिता क्षेत्रमा थप टेवा पुग्ने विश्वास लिएकी छिन् । फरक शैलीको कथामा अभिनय गर्न रुचाउने कलाकारमध्ये पर्छिन्, उनी । कलाकारिता मार्फत सामाजिक परिवर्तनमा केही हदसम्म भए पनि सहयोग पुग्नुपर्छ भन्ने मान्यता भएकी कलाकार हुन् मास्के । ‘प्रकाश’ मा आफू प्रदीप खड्काको आमाको भूमिकामा रहेको जानकारी उनले गराएकी छिन् । पुरुषको सपनालाई सफल बनाउन महिलाको हात हुन्छ भन्ने सामाजिक भनाइलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

४० देखि ४५ दिनसम्म ‘प्रकाश’ टीमले जुम्लाको स्थानीयसँगै घुलमिल गरेको थियो । स्थानीयको मनोभावनालाई बुझ्दै उनीहरुको सपना बाड्ने माध्यमका रुपमा चलचित्र ‘प्रकाश’ प्रस्तुत भएको छ । सामाजिक कथाव्यथालाई आफ्नो निर्देशकीय क्षमतामार्फत् चलचित्रमा ढाल्न सक्ने खुबी भएका निर्देशक दिनेश राउत पनि ‘प्रसाद’ पछिको ‘प्रकाश’ बाट अपेक्षित देखिन्छन् ।

प्रकाश जुम्लाको कथा भएता पनि सामाजिक व्यथा हो । हिमाल, पहाड, तराईका सबै नागरिकको मनोभावनालाई ‘प्रकाश’ ले समेट्न खोजेको छ । टे«लर हेर्दा दुर्गम ठाउँको अवस्थालाई समेत चलचित्रमा समेट्न खोजिएको देखिन्छ । नेपालमा व्यवस्था परिवर्तन भएता पनि नागरिक अझै अवस्थाको लडाइँ लड्नुपरेको चरितार्थ ‘प्रकाश’ मा देखाउन खोजिएको तर्क निर्माण पक्षको छ ।

‘प्रकाश’ ले गरीबको कथालाई प्रस्तुत गरेको छ । ‘प्रदीप’ त एक पात्रका रुपमा मात्र देखिँदैछन् । ग्रामीण भेगको सामाजिक अवस्थालाई चलचित्र मार्फत् प्रस्तुत गर्न खोज्नु यो नौलो होइन । तर प्रस्तुतिमा फरकपन के छ भन्ने नै सबैभन्दा महत्वपूर्ण विषय हो । उसो त ‘प्रकाश’ मार्फत् देखाउन खोजिएका विषयवस्तु यसअघि पनि नआएका होइनन् । त,र यथार्थवादी चलचित्रलाई व्यवसायमा ढाल्न निर्माण पक्षले प्रदीप खडकालाई मुख्य भूमिकामा प्रस्तुत गरेको देखिन्छ ।

चलचित्र ‘प्रकाश’ जुम्लाको नागरिकको अवस्था परिवर्तनका लागि उत्प्रेरक एवं सरकारी निकायहरुलाई झक्झक्याउने माध्यम बन्न सक्छ । सिनेमामार्फत्रुपान्तरण सम्भव छ भन्ने नौलो अभ्यासको सिर्जना हुन सक्छ । तर निर्माण पक्षले अहिले नै बढी अपेक्षा गर्नु उचित हुँदैन । ठाउँ र परिवेश अनुसारको पटकथामा फितलो पन देखियो भने ‘प्रकाश’ को अवस्था पनि यसअघिका यथार्थवादी कथामा बनेका चलचित्रको जस्तो हुन्छ । ‘प्रकाश’ टीमले उठान गरेको विषय सकरात्मक छ । यस्ता चलचित्रलाई व्यवसायमा ढाल्न सके निर्माताको आकर्षण यथार्थवादी कथामा देखिन्थ्यो । चलचित्रलाई सफलताको शुभकामना ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->