नेपाली पर्यटनको राजधानी पोखरा नजिकैको एउटा सुन्दर पहाडी गाउँ–ताङतिङ । पोखराबाट २१ किमि उत्तरमा मादी गाउँपालिका–२ कास्कीको गुरुङ बस्ती । अन्नपूर्ण र लमजुङ हिमालको काखमा बसेको गाउँ जहाँ हिमाली सौन्दर्यको स्पर्श आँखा, मन र मुटुले गर्न पाउँछन् । अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले जुगौंदेखि एकटकले ताङतिङसँग आँखा जुधाइरहेका छन् । मानौं पवित्र प्रेमको पोखरीमा डुबुल्की मार्दैछन् ती ।
गाउँपारि सिक्लेस र पार्चे गाउँहरू कैलाशको काखमा रमाएका छन् । हाम्रो ताङतिङ गाउँको आसपासमा घट्टे खोला, तेउरी खोलाको छमछम अनि हिमनदी (मादी) सुसाइरहेका छन् । गाउँ नजिकैका काउँचोडाँडा, हुडाँडा, पलेची प्रो, फोलोप्रो डाँडामा मृग र चराचुरुङ्गीले गीत गाउँछन् ।
साँझ छिप्पिँदै जाँदा घाटुनीको नाचसँगै मादलुको घिन्ताङघिन्ताङ सुनिन्छ । पाहुनाहरू पनि कम्मर मर्काईमर्काई ‘ताङतिङको मेलामा सिधै नजर जुधाउने को होला भेट भएको बेलामा…’ भन्ने गीतमा नाच्छन् । उनीहरू ठेटर गीत गाउँछन् । अबेरसम्म नाचगान गरेका पर्यटक सखारै हिउँ खेल्न क्रबुडाँडातिर लाग्छन् । हिउँदमा हिउँले सेताम्मे बन्छन् डाँडा ।
सुन्दा चिनियाँ र कोरियाली नामजस्तै लाग्ने ‘ताङतिङ’ शब्द तमु भाषाको ‘तोनी नासा’बाट अपभ्रंस भएर बनेको हो । गुरुङ भाषामा ‘तोनी’ भनेको रमाइलो र ‘नासा’ भनेको गाउँ ।
त्यसो त तमु भाषामा तोनी वा ‘तो’ भनेको बँदेल र ‘नी’ भनेको लड्ने पनि हो । परापूर्वकालमा हालको ताङतिङ गाउँ रहेको ठाउँमा घना जंगल थियो रे ! जंगलमा बँदेल खूब लड्थे रे । त्यही तोनीबाट अपभ्रंश भएर गाउँको नाम रहन गएको भन्ने जनश्रुति पनि छ ।
अन्नपूर्ण क्षेत्रमा रहेको ताङतिङ आफैंमा प्राकृतिक, सामाजिक र सांस्कृतिक रूपले अति सुन्दर गाउँ हो । गाउँ (१,१६५ मिटर)मा ढुंगा र टिनले छाएका २ सय घर गुचुमुच्च छन् । झन्डै एक हजार जनसंख्या रहेकामा ९० प्रतिशत गुरुङ र बाँकी १० प्रतिशत दलित र अन्य मिलेर बसेका छौं ।
ग्रामीण पर्यटन, एकीकृत खेतीपाती र पशुपालनको सम्भावना बोकेको नमूना गाउँ हो ताङतिङ । हाम्रो गाउँ प्राकृतिक रूपले सुन्दर छँदैछ । आँखैअघि देखिने हिमाल, डाँडाकाँडा र हरियालीले पनि लोभ्याउँछ ।
गाउँ वरपर प्राकृतिक सौन्दर्यको भण्डारै छ । ताङतिङ गुरुङ संस्कृतिको खुला संग्रहालय नै हो । अतिथिले गाउँको शिरदेखि पुछारसम्म ढुंगे गोरेटा, घरआँगनमा आमा तथा दिदीबहिनीले राडीपाखी बुनिरहेका, बुबा तथा दाजुभाइहरू भकारी, डोको र नाम्लो बुनिरहेका देख्न पाउँछन् ।
नेपालको पहाडी भेगमा बसोबास गर्ने गुरुङहरूको धर्म, संस्कृति, रहनसहन, उनीहरूको जीवन निर्वाह गर्ने तरीका र सामाजिक सदभाव सबैले अनुभव गर्न पाउँछन् ।
पण्डित टोलमा रहेको नौचु पैगी लामा महायानी बौद्ध गुम्बा, गाउँको शिरानमा रहेको ताङतिङ कोइवा धिँ, ताङ्तिङ सभा आँगन, प्लोवमै युम थेवा प्राकृतिक दृश्यावलोकन गर्ने ठाउँ गुरुङ संस्कृति अध्ययन गर्ने खुला पाठशाला मानिन्छन् ।
यस्तै गाउँबाट २० मिनेटमा पुग्न सकिने उत्तरपश्चिमको पुलुकोडाँडा (सेल्फीडाँडा) बाटामा रहेको तुरुक्यू खोला, गाउँदेखि पश्चिमको छत्रे खोला झरना झियाँडाँडा र आसपासका क्षेत्र प्रकृतिमा विचरण गर्नलायक छन् ।
ताङतिङ गाउँदेखि माथि दक्षिणमा रहेको नौचुडाँडा (२,०४७ मिटर) पुग्न १ घण्टा जति लाग्छ । यहाँबाट अन्नपूर्ण, लमजुङ, माछापुच्छे«े हिमशृङ्खला, पोखरा र आसपासका धेरै गाउँ देखिन्छन् । यो ठाउँ योग तथा ध्यान गर्न ज्यादै
उपयोगी छ । नौचुडाँडाको ऐतिहासिक महत्व पनि छ । हामी ताङतिङेको आस्थाको धरोहर भएकाले हामी बर्सेनि यहाँ पितृपूजा गर्छौं । क्होंलसोंथरबाट बसाइँ सर्दै हाम्रा पुर्खा केही समय यहाँ बसेका रहेछन् ।
अर्काे पर्यटकीय ठाउँ ताङतिङबाट ३ घण्टा ३० मिनेट जतिको पदयात्रामा पुग्न सकिने क्रबुडाँडा (३,०८५ मिटर) पनि एक हो । डाँडासम्मै सडक खुलेको छ, गाडीबाट जाँदा १ घण्टा मात्र लाग्छ । प्रकृतिसँग रमाउन र हिउँ खेल्न राम्रो ठाउँ हो । यहाँबाट, अन्नपूर्ण, लमजुङ, माछापुच्छ«े, मनास्लु, हिउँचुली लगायत १० वटाभन्दा बढी हिमालको लर्कन देखिन्छ । पोखरा उपत्यका, लमजुङ र कास्कीका गाउँ पनि देखिन्छन् ।
ताङतिङ, नौचुडाँडा, क्रबुडाँडा, चोरोडाँडा, सिन्कु खोला हुँदै खोला क्लि ताङतिङ ४ दिनको पदयात्रा गर्न सकिन्छ । पहाडी उकालो, लालीगुराँस र लेकाली जङ्गलको झाडी क्रबुदेखि चोराें अनि ताङतिङसम्म प्रकृतिको रसास्वादन गर्न पाइन्छ । जंगली पशुपन्छीको अवलोकन गर्न यो राम्रो पदमार्ग हो ।
यस्तै प्रकारले ताङतिङबाट साढे १ दिनमा तमुहरूको आदिम थलो क्होंलसोंथर पुगिन्छ । ताङतिङ हुँदै लमजुङ, मनाङ, पदयात्रा पनि मिल्छ । पोखरा, ताङतिङ सिक्लेस घलेखर्क भुर्जुङ खोला पदयात्रा र ताङतिङ क्रबुडाँडा याङ्जाकोट पदयात्रा पनि गर्न सकिन्छ ।
रमाइलो ताङतिङको विशेषता भनेको गाउँबाट हिउँ पहिरो हेर्ने, आत्मीयता बाँड्ने र पाहुनाको न्यानो सत्कार अनुभव गर्ने हो । गुरुङको परम्परा, रीतिरिवाज, जीवनशैली आकर्षक छ ।
पर्यटनलाई गाउँको आर्थिक, सामाजिक र सामुदायिक विकाससँग फ्युजन गर्दै जनप्रतिनिधि, आमा समूह, युवा, बुद्धिजीवी र गाउँले एकजुट भएर लागेका छौं । यसमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मादी गाउँपालिका, नेपाल पर्यटन बोर्डको विशेष सहयोग छ । सिएफपी ग्रिन विल्डिङ नेदरल्याण्डले गाउँका १४ वटा होमस्टे र ६ वटा होटललाई फर्निचर सहयोग, गाउँको पर्यटन विकासमा सहयोग, वृत्तचित्र निर्माण, पर्यटकीय नक्शा निर्माण, ब्रोसर र वेवसाइट प्रकाशनमा सहयोग गरिरहेको छ ।
अन्य सङ्घसंस्था र पत्रकारको उल्लेख्य सहयोगले ताङतिङ ग्रामीण पर्यटन गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।
गाउँका होमस्टे र होटलले पाहुनालाई आत्मीय वातावरणमा गाउँमै उपलब्ध खाना, तरकारी, ढिंडो खुवाउँछन् । उनीहरूलाई गुरुङ संस्कृतिअनुसार फूलमाला लगाएर स्वागत गरिन्छ ।
संघीय राजधानी काठमाडौंबाट २२१ किमि दूरीमा पर्छ हाम्रो ताङतिङ गाउँ । काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै २०० किमि दूरीमा तालैतालको शहर पोखरा पुगेर त्यहाँबाट अमरसिंह चोक हुँदै काहुँखोला पुगिन्छ । काहुँखोलाबाट २१ किमि दूरीमा छ ताङतिङ । काहुँ खोलाबाट जीप र बस चल्छन् । बसमा २ घण्टा र जीपमा १ घण्टा ३० मिनेट लाग्छ ।
हाम्रो गाउँमा विकासका आधारभूत पूर्वाधारको विकास भैसकेको छ । गाउँ र पोखरालाइ सडक संजालले जोडेको छ । माध्यमिक तहसम्मको शिक्षा गाउँकै विद्यालयमा हुन्छ । स्वास्थ सेवाका लागि स्वास्थ्यचौकी छ । सबै घरमा धारा, चर्पी, धुवाँरहित चुलो र बाथरुमको सुविधा छ । गाउँलाई झल्मल्ल उज्यालो दिने बिजुलीको केन्द्रीय लाइन गाउँसम्म आएको छ ।
अन्त्यमा, गुरुङ संस्कृतिमा रमाउँदै हिमालसँग आँखा जुधाउन तपाई पनि ताङतिङ आउनुस् है !
हिमालय मिलन माविका प्राचार्य ओमप्रकाश गुरुङको पुस्तक ‘ताङतिङ मेरो गाउँ’बाट साभार ।





