शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

युवाहरुमा छटपटी, चुनौती चिर्न सक्षम भएको दावी

युवाहरुमा छटपटी, चुनौती चिर्न सक्षम भएको दावी

भर्भराउँदा युवाहरु क्षमता परीक्षणविनै निवृत्त हुने खतरा पनि उस्तै ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७९, बुधबार

पोखरा – एमालेका युवा नेता रस्मी आचार्यले दुई वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा एउटा समाचार सेयर गरे । समाचारको शीर्षक थियो–‘चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता बारिक विजयी ।’ उनले सो समाचारसँगै प्रश्न गरे, ‘हाम्रोतिर यस्तो समय कहिले आउला ?’ चिलीको अर्थतन्त्र खराब अवस्थाबाट गुज्रेको बेला ३५ वर्षीय ग्रेवियल बोरिकलाई जनताले पत्याएका थिए ।

अहिले पनि उनी त्यहाँको राष्ट्रपति नै छन् । रस्मी एमालेको भातृ संगठन अनेरास्ववियूबाट उदाएका नेता हुन् । रस्मीले प्रश्न गरेको अर्को वर्ष उनकै पार्टीको १० औं महाधिवेशन भयो । महाधिवेशनले ७० वर्षीय केपी ओलीलाई पुनः पार्टी अध्यक्ष बनायो । ७१ वर्षीय ओली अहिले एमाले अध्यक्ष र संसदीय दलका नेता हुन् । आसन्न संघीय निर्वाचनमा ओली पुनः उम्मेदवार बन्दैछन् । उनी उम्मेदवार बन्नुको अर्थ हुन्छ–पुनः एमालेले बहुमत ल्याए ओली नै प्रधानमन्त्री हुनेछन् ।

नेपालको समकालीन राजनीतिमा नेतृत्वको चाहना गर्ने युवाहरुको संख्या र क्षमता बढेको छ । तर, पुरानो पुस्ता नेतृत्व हस्तान्तरणको लागि तयार नहुँदा बितेका ४५ वर्षयता राजनीतिक दलको नेतृत्वमा उही र उस्तै अनुहार दोहारिँदै आएका छन् । जसले गर्दा रस्मीजस्ताको प्रश्न हावामै बिलाउँदै गएको छ ।

नेतृत्व हस्तान्तरणमा एमाले अपवाद हैन । देशका प्रमुख राजनीतिक दलहरु सबैमा यो रोग देखिएको छ । नेपाली कांग्रेसका शेरबहादुर देउवा,माओवादी केन्द्रका पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका माधव नेपाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा मसालका मोहनविक्रम सिँह, नेपाल मजुदर किसान पार्टीका नारायणमान विजुक्छे,राप्रपा नेपालका कमल थापासहित मधेशवादी दलहरुमा उही प्रवृत्ति हावी छ ।

कांग्रेस सभापति देउवा (७६),माओवादी अध्यक्ष प्रचण्ड(६८),एकीकृत समाजवादी अध्यक्ष नेपाल (७०) कै वरपर नेपालको राजनीति घुमिरहेको छ । राष्ट्रिय जनमोर्चामा २०४४ सालदेखि चित्रबहादुर केसी र मजदुर किसान पार्टीमा २०३१ सालदेखि नारायणमान विजुक्छे नेतृत्वमा छन् । उमेरले डाँडो काटे पनि उनीहरु नेतृत्व छाड्न तयार देखिएका छैनन् । उता, महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन अध्यक्ष कमल थापाले पार्टीमात्रै छाडेनन्, राप्रपा नेपाल ब्यूँताएर अध्यक्ष बने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिमपटक प्रधानमन्त्री बन्ने चाहना सार्वजनिक गरिसकेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ५ वर्ष सक्रिय राजनीति गर्ने उद्घोष गरेका छन् । नेतृत्वको लागि नयाँ पुस्ता तयार नभएर हैन कि सत्तामोह अझै बाँकी रहेकाले नेताहरुको त्यस्तो अभिव्यक्ति आएको हो ।

नेताहरुको सत्तामोहप्रति जनतामा चरम निराशा छ । अभियन्ता विश्व सिग्देलको विचारमा पुराना पुस्ताका नेताप्रति जताको रत्ति विश्वास छैन ।पाका नेताहरुको सत्तामोह र पुन : उम्मेदवार बन्ने चाहनामाथि व्यङ्ग्य गर्दै भन्छन्,‘ अब तपाईं सातौंपटक टिकट लिँदै हुनुहुन्छ । तपाईं जीवनको डिलमा हुनुहुन्छ । तपाईंसंगै देशको लागि रगत पसिना बगाएका साथी कति ढलि सके होलान् । बाँकी रहेछन भने पनि तपाईंले सातौं कार्यकाल पूरा गर्दानगर्दै ढलिसक्ने होलान् । तपाईं चिरञ्जीवी हुनोस् भगवानसँग प्राथना छ ।’

आम जनतामा सिग्देलको जस्तै गुनासो र असन्तुष्टि छ । असन्तुष्टिकै बीच केही नयाँ राजनीतिक दलको उदय पनि भएको छ । ती राजनीतिक दलको यात्रा कहाँसम्म पुग्छ भन्न सकिँदैन । मुख्य राजनीतिक दलहरुको कमाण्ड भने तत्काल युवामा सर्ने सम्भावना अत्यन्त कम देखिएको छ । कांग्रेसका महामन्त्री गगन थापालाई छाड्ने हो भने अन्य पार्टीमा रहेका युवाहरुले नेतृत्वको चाहना पनि देखाएका छैनन् । त्यो प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनै विश्व लेख्छन्,‘‘कथित युवा नेताहरु झर्ला र खाम्ला भन्दै बहरको पछि लाग्दालाग्दै डाँडा पारीका घाम भए ।

भूपि शेरचनको कविताका ‘ बर्सनै नपाइ डाँडा काटेका बादल’ जस्ता भए । देशले क्षमताको परीक्षण गर्न नपाउंदै लगभग निवृत्त भए, हुनुपर्ने बेला आयो । त्यसपछिका देश थाम्न सक्लानजस्ता भर्भराउँदा युवाहरु अभिभावकविहीन भएर अल्मलिएका छन् ।’

राष्ट्रिय जनमोर्चा गण्डकीकी संसदीय दलकी नेता पियारी थापा युवाहरुलाई नेतृत्व दिन हिच्किचाउने प्रवृत्ति सबै दलमा भएको स्वीकार्छिन् । पार्टीको नेतृत्व लिन्छु भन्ने पुस्ताले क्षमता बढाउनुपर्नेमा पनि उनको जोड छ । ‘सबै पार्टीमा समस्या छ, युवाहरुलाई विश्वास नगर्ने प्रवृत्ति छ । पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्न नखोज्ने र नयाँले लिन्छु भन्न पनि नसक्ने अवस्था हो’,उनले भनिन्,‘ अधिकार र नेतृत्व कृपाले दिने कुरा हैन, पार्टीभित्र लड्नुपर्छ । मिडियामा बोल्ने तर पार्टीभित्र अवसरबाट बञ्चित हुन्छु कि भनेर नबोल्ने प्रवृत्ति पनि उस्तै छ ।’

जनमोर्चामा लामो समयसम्म एउटै नेतृत्व किन त भन्ने प्रश्नको जवाफमा भने उनी सन्तुलित बन्न खोजिन् । जनमोर्चामा राजनीति गर्न अप्ठेरो भएको जिकिर गर्दै उनले भनिन्,‘पार्टीले विश्वास गरेर युवाहरुलाई अवसर त दिएको छ तर उनीहरुबाटै धोका भएको छ, जसले गर्दा समस्या आएको हो ।’ गण्डकीको संसदमा ४० वरका पियारी, धनमाया तामाङ,दीपा रोका र विनोद केसीमात्रै रहेका छन् । ५८ जना सदस्य रहेको संसदमा कहिलेकाहिँ आफूहरुलाई आलोकाँचो भनेर हेप्ने गरेको अनुभव पनि उनले सुनाइन् ।

‘हामीलाई आलाकाँचा भनेर हेरिन्छ, पदमा जाने व्यक्ति कपाल फुलेकै हुनुपर्छ भन्ने मानशिकता संसदमा पनि देखिएको छ’,उनले भनिन्,‘तपाईंजस्तो आलाकाँचा हो र ? भन्ने ओठे जवाफ पनि आइहाल्छ ।’ उनले युवाहरु राजनीतिमा आउँदा समाजमा सकारात्मक परिवर्तन आउनेमा भने सहमति जनाइन् ।

समाजशास्त्री डा. विश्वकल्याण पराजुली युवाहरुको हस्तक्षेपकारी धक्काले मात्रै पाका पुस्तालाई विस्थापित गर्न सकिने बताउँछन् । २०४६ सालदेखि उही अनुहार सत्ता र शक्तिमा हुँदा सोचेजस्तो परिवर्तन नभएको बताउँदै उनले भने,‘अब नयाँ पुस्ताले पार्टी नेतृत्वसँग प्रश्न गर्नुपर्छ,आफ्नो लागि अवसर चाहियो भन्नुपर्छ,त्यही नेताको दौराको फेर समातेर लाभको पद लिन्छु भन्ने मनोदशा त्याग्नुपर्छ ।’ केही राजनीतिक दलका युवा नेताहरुले त्यो प्रक्रिया सुरु गरिसकेको बताउँदै उनले थपे,‘युवाहरुले भूमिका खोजेका छन् तर अझै जोडदार धक्का चाहिन्छ भन्ने देखिएको छ । ’

गण्डकी : नेतृत्वमा सधैँ पछाडि

जन्मको आधारमा प्रचण्डलाई कास्कीको मान्ने हो भने छुट्टै कुरा, नत्र चित्रबहादुर केसीबाहेक गण्डकीबाट मुख्य राजनीतिक दलको नेतृत्वमा पुगेका नेता नै छैनन् । २०४४ सालदेखि राष्ट्रिय जनमोर्चाको नेतृत्वमा रहेका केसीको गण्डकीबाटै उत्तराधिकारी तयार हुने अवस्था पनि देखिएको छैन ।

यता, २०७२ साल असोज ३ गते संविधान जारी भएकै दिन माओवादी विचारधारा नै त्यागेका डा. बाबुराम भट्टराईले २०४८ सालमा संयुक्त जनमोर्चाको नेतृत्व गर्ने अवसर पाए । माओवादीसँगको एकतापछिको कालखण्डमा उनी दोस्रो वरियतासम्मको नेता बने । उनै बाबुरामले २०७३ सालमा नयाँशक्ति नेपाल नामक पार्टी खोले । बीचमा संघीय समाजवादी पार्टीसँग एकता गरेका उनी सो पार्टीको नेतृत्वमा रहेनन् ।जनता समाजवादीसम्मको यात्रामा पनि उनी नेतृत्वबाट विमुख नै रहे ।

केपी ओली तत्कालीन मालेको सदस्य बन्नुअगावै गण्डकीमा पुष्पकमल सुवेदी,मोदनाथ रेग्मी, दामोदर रेग्मी,रामचन्द्र अधिकारी,सोमनाथ अधिकारी,टेकनाथ बराललगायतले नेपाल कम्युनिष्ट पार्टी ( माक्र्सवादी–लेनिनवादी ) गण्डकी धौलागिरी स्थापना गरेका थिए । पछि सो पार्टी मालेमा रुपान्तरित भयो । संस्थापक सोमनाथ अधिकारी प्यासीले राष्ट्रिय राजनीतिमा हैसियत बनाए पनि उनी पार्टीको शीर्ष नेतृत्वमा पुग्न असफल रहे ।

अहिलेको एमालेमा गण्डकीबाट पृथ्वीसुब्बा गुरुङ सबैभन्दा उच्च अर्थात् उपमहासचिव पदमा छन् । तर, एमालेको विधान अनुसार ७० वर्ष कटेपछि पार्र्टी अध्यक्ष हुन मिल्दैन । सोही प्रावधानका कारण गुरुङ पार्टी अध्यक्षमा पुग्ने सम्भावना कम देखिएको छ । रवीन्द्र अधिकारीको निधनपछि तत्काल यो क्षेत्रबाट एमालेको नेतृत्वमा पुग्ने क्षमतावान नेता नै देखिएका छैनन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका केशवलाल श्रेष्ठले पनि पार्टी कमाण्ड सम्हाल्ने हो भने मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपाली कांग्रेसको अवस्था पनि उस्तै छ । नेपाली कांग्रेसको राजनीतिमा उच्च तहमा पुग्ने गण्डकीका पहिलो नेता हुन्–श्रीभद्र शर्मा । १९८३ सालमा तनहुँको सिम्पानीमा जन्मेका श्रीभद्रहरुले २००४ सालमा चलाएको जयतु संस्कृतम आन्दोलन कालान्तरमा कांग्रेसको परिचय बन्यो । उनी राणा विरोधी आन्दोलना गर्ने संस्थाको पहिलो अध्यक्षमात्रै भएनन् ,त्यसैको वलमा राजनीति नेपाली कांग्रेसको संस्थापक सदस्य भए । श्रीभद्रले राणाविरुद्धको आन्दोलनमा तत्कालीन पश्चिम नेपालको कमाण्ड गरे । २०१२ सालमा उनी कांग्रेस केन्द्रीय सदस्य भए ।

२०१७ सालमा बीपी सभापति हुँदा श्रीभद्र महामन्त्री बनेका थिए । महामन्त्री भइसकेका श्रीभद्र २०३१ सालमा पञ्चायत पसे । पछि राष्ट्रिय जनता परिषद पार्टी गठन गरे । कांग्रेसको २०४६ सालको आन्दोलनपछि राष्ट्रिय जनता परिषद्लाई कांग्रेमै विलय गराए पनि उनको राजनीति यात्राले गति लिएन । नेपाली कांग्रेसको राजनीतिमा गण्डकीबाट उपसभापति र वरिष्ठ नेताको दर्जाभन्दा मािथ पुगेको इतिहास छैन । २०५३ मा गिरिजाप्रसाद कोइराला सभापति हुँदाका महामन्त्री तारानाथ रानाभाटले कांग्रेस नेतृत्वको दौड छाडिसकेका छन् । दशौं महाधिवेशनबाट सहमहामन्त्री बनेका तनहुँका गोविन्दराज जोशी अहिले कांग्रेसको कारवाही भोग्दैछन् ।

२०५९ मा उपसभापति बनेका गोरखाका चिरञ्जीवी वाग्ले, २०६२ का रामचन्द्र पौडेल,२०५९ मा नेपाली कांग्रेस प्रजातान्त्रिकबाट उपसभापति पद पाएका स्याङ्जाका गोपालमान श्रेष्ठहरु अब पार्टी कमाण्ड हाँक्ने अवस्थामा छैनन् । १४ औं महाधिवेशनबाट उपसभापति बनेका स्याङ्जाका धनराज गुरुङको अघिल्लो यात्रा पनि त्यति सजिलो छैन ।

सम्भावना बोकेका प्रदीप पौडेल र दलिततर्फको सहमहामन्त्री जीवन परियार राजनीतिको मैदानमा त छन् तर खारिनुपर्ने आवश्यकता देखिएको छ ।

मनाङका देव गुरुङ, बागलुङका देवेन्द्र पौडेलले माओवादी केन्द्रको नेतृत्वको यात्रा जारी राखेका छन् तर सो पार्टीको पहिलो नेता हुन त्यति सजिलो छैन । पछिल्लो पुस्तामा केही युवाहरु उदाएका छन् । उनीहरुसँग सम्भावना र दृष्टिकोण पनि छ तर पार्टीके शीर्ष नेतृत्वमा पुग्ने बाटो भने झन कठीन बनेको छ । यो अप्ठेरो कायम रहिरहे केही वर्षपछि पनि रस्मीले उही प्रश्न गर्नुपर्नेछ– ‘हाम्रोतिर यस्तो समय कहिले आउला ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->