आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘हाम्रो राष्ट्रवाद मनभित्रै स्वखलित भएको छ ’

‘हाम्रो राष्ट्रवाद मनभित्रै स्वखलित भएको छ ’


  • तीर्थ श्रेष्ठ
  • भाद्र २ २०७९, बिहिबार

हामीले देवीदेवतालाई पनि विभिन्न मन्त्रालय छुट्टयाएका छौँ । धनकी देवी लक्ष्मी,अर्थमन्त्रालयको जिम्मा लक्ष्मीलाई दिइएको छ । रक्षा मन्त्रालयको जिम्मा दुर्गालाई दिइएको छ भने शिक्षा मन्त्रालयको जिम्मा सरस्वतीलाई दिइएको छ । संचार मन्त्रालयको जिम्मेवारी नारद ऋषिलाई दिइएको छ । नारदमुनिले एकातिरबाट अर्कातिर खबर पु¥याउँदै त्यो सूचना संचारको युगको आरम्भ गरेका थिए भनेर मान्न सक्छौँ । महाभारतमा कृष्णकै कारणले सम्पूर्ण महाभारतको युद्ध र त्यसको पटाक्षेप सम्भव भएको भन्ने एउटा मान्यता छ ।

सम्पूर्ण पाण्डवहरुले आ–आफ्नो बखान गनि राखेको बेलामा भगवान् कृष्णले सबै पाण्डबलाई बार्वरिकको टाउको झुण्ड्याएको ठाउँमा लगे । बार्वरिकसँग कृष्णजीले सोधे, ‘यो महाभारतको युद्धमा तिमीले के देख्यौ ? उनले ‘जताजतै हजुरको सुदर्शनचक्र प्रताप देखेँ’ भन्ने उत्तर दिए ।

सम्भवत् : दुर्योधनको जाँघमा गधा प्रहार गर्नका निम्नि उक्साउने कुरा कृष्णलाई त्यो सूचना प्राप्त नभएको भए सम्भव थिएन । भिमसेनलाई दुर्योधनको जाँघमाथि प्रहार गर्न गर्न निम्ति उक्साउने सामथ्र्य सूचनाले दिलाएको थियो । कृष्णसँग सूचना थियो । उता कुन्तिलाई लगाएर कर्णलाई विचलित बनाउने काम पनि कृष्णले सूचनाकै माध्यमबाट गरेको हामी पाउँछौँ । सम्पूर्ण महाभारतमा कृष्णको भूमिका सूचनाको माध्यमबाट युद्धलाई आफ्नो पक्षमा वा आफ्नो पक्षधरताका लाई विजयी गराउनका निम्ति कोशिस गरेको हामी देख्छौँ । सूचना भनेको के त ? हामी सूचना अहिले सबैभन्दा प्रदुषित भएको तत्वमा पाउँछौ । पहिलापहिला युद्धमा गलत सूचना प्रवाह गरेर युद्ध जितेको पनि हामी पाउँछौँ ।

कतिपय चुनावमा उम्मेदवार भएका मानिसहरुले गलत सूचना प्रवाहका माध्यमबाट आफूलाई चुनावमा विजयी बनाउने काम पनि गरेका छन् । हामीले इतिहासमा त्यो पनि पाउन सक्छौँ । सूचनासँग जोडिएको विषय भनेको सत्य हो, सत्यको अन्वेषण सहज छैन् । सत्यलाई पनि हामी अनुकूलतामा हेर्छौ । सूचनामा सत्यको खोजी हुनुपर्छ । हामीकहाँ कठिनाइ के भएको हुनसक्छ जस्तो मलाई लाग्छभन्दा सूचनाको क्षेत्रमा एउटा त यसका विषमा राज्य गम्भीर छैन ।

हामीले २००७ सालदेखि अझ चार सालदेखि, अन्तरिम संविधानदेखि यहाँसम्म आइपुग्दा प्रत्येक एकएक दशकमा एउटा–एउटा संविधान परिवर्तन गर्नसक्ने बहादुर संसारका कुनै बहादुर नागरिक छन् भने त्यो चाहिँ हामी भएका छौँ । प्रत्येक दशकमा शासन व्यवस्था परिवर्तन गर्न सक्ने हैसियत भएका हामीसँग के चाहिँ हैसियत भएन ? हामीलाई सधैँ के लाग्यो भन्दा व्यवस्था गलत भएको हुनाले यो भएको हो । व्यवस्था परिवर्तन गर्नप¥यो, संविधानका अक्षरहरु पालन भएनन् । हामीले सोचेजस्तो संविधान बनाउन सकेनौँ भन्यौँ । याद गरौँ त, २०४७ सालको संविधान पनि आलोचनात्मक सम्पर्णसहित स्वीकृत भएको थियो ।

अहिलेको संविधान पनि सायद संशोधन गर्नुपर्ने मार्गमा होला । त्यसका लागि नेताहरु वा कुनै दल अघिसरेको हामी पाउँदैनौँ । एकपटक लेखिएको अक्षर फेरि समयानुकुल बनाउनुपर्छ आवश्यक छ कि छैन भन्ने चेत पनि नभएको अवस्थामा म आफै परिवर्तन हुन पर्छ कि पर्दैन भन्ने कसरी थाहा हुन्छ ? संविधान त परिवर्तन गर्ने तर, तपाईँ परिवर्तन हुन आवश्यक छ कि छैन ? राणाकाल आयो, पञ्चायतकाल आयो पञ्चायतमा केही परिवर्तन देखिएन् । कांग्रेसहरु आए, कांग्रेसहरु र पञ्चायतका बीचमा खासै अन्तर देखिएन । कांग्रेसका विकल्पमा एमालेका मित्रहरु आउनुभयो ।

एमाले र कांग्रेसका बीचमा खासै परिवर्तन आएन । भयानक ठूलो क्रान्ति सशस्त्रका साथ आउनुभएका माओवादीका साथीहरु फेरि एमाले र कांग्रेस भन्दा भिन्न देखिनुभएन । भनेका,े परिवर्तन त हामी के मा खोजिरहेका छौँ ? आफैमा खोजेका छौँ कि के मा खोजिरहेका छौ ? जबसम्म हामी आफै परिवर्तन हुदैँनौ त्यतिबेलासम्म तपाईँले कुनैपनि योगदान पु¥यान सक्नुहुँदैन । हामी अहिले चारैतिर विकृति देखिरहेका छौँ । म साहित्यमा कहिलेकाहिँ कलम चलाउने मान्छे, त्यहाँ पनि विकृति देखिरहेको छु । अलिअलि मठमन्दिरसँग जोडिएको मान्छे, त्यहाँ पनि विकृति देखिरहेको छु ।

तपार्इंले सफा तलाउको पानी निकाल्न चाहनुभयो भने बल्ल सफा पानी आउने हुन्छ । हामी बसेको तलाउ नै यति फोहोर छ कि तलाउबाट पानी निकालेर यो चम्चाको पानी यो डाडुको पानी अथवा अम्खोराको पानी, यो बाल्टीको पानी सफा छ भन्ने अवस्थामा छैनौँ भन्ने मलाइ लाग्छ । यो रोगबाट, यो प्रदुषणबाट मिडिया पनि प्रदुषण भएको छ । कहिलेकाहिँ लाग्छ– कोही मान्छेले पैसा कमाएको देख्यो भने हामीलाई झनक्क रिस उठ्छ । गतिलो तरिकाले पैसा कमाएको होइन कि भन्ने लाग्छ । मानौं कि सत्य र समृद्धि एकसाथ उभिन सक्दैन भन्ने मान्यता हामीले विकसित गरेका छौ ।

हामीले समृद्धि, सत्य, समाजमा प्रतिष्ठा र सामाजिक मान्यता सत्यको बाटोबाट हिँडेर पनि कमाउन सकिन्छ भन्ने विश्वास गुमाउँदै गएका छौँ । त्यो प्रकारको अवस्था सिर्जना भए पनि मुलक अघि बढ्न सक्दैन् । अहिले अन्तर्राष्ट्रिय समाजमा हाम्रो भूमिका के ? हामी कहाँ परेका छौँ भन्ने पनि होला । अहिले छिमेकी राष्ट्रहरुमा देखिएको आर्थिक विचलन अथवा आर्थिक संकटले हामीकहाँ कतिबेला पैताला टेक्ने हो भन्ने चिन्ता पनि हामीसँग छ । राष्ट्रियताको मुद्दा उठाएका छौँ देशभक्तिका मुद्दा धेरै उठाएका छौँ र साँच्चै हामीले घरघरमा हे¥यौँ भने हाम्रो राष्ट्रियता सिमानामा भन्दा बढी मनमा स्खलित भएको छ कि छैन भनेर सोध्नपर्ने परिस्थिति छ । हामीलाई आफ्नो सन्तान्तले अष्ट्रेलियामा पीआर पाउँदा खुसी लाग्छ ।

यहाँ चियर्स गर्न मन लाग्छ । जापानमा आफ्नो सन्तानले स्थायी बसोबासको अनुमति पाउँदा हामी भित्र हर्षका सगरमाथा चुलिन्छ । अमेरिकाको डिभी चिठ्ठा प¥यो भने वल्लो घरको छिमेकी त्यसैको लहैलहैमा म पनि जाउँला भनेर आशावादी हुन्छ । हामीभित्र हाम्रो राष्ट्रवाद कहाँसम्म स्खलित भएको छ ? यत्रो ३ करोड जनसंख्यामा झण्डैझण्डै १ करोड जनसंख्या विदेशमा छन् । त्यो एक करोडमा पनि कतिले रेमिट्यान्स पठाउन्छन् र कतिले यहाँबाट सम्पत्ति लान्छन् । त्यो हिसाब किताब गर्नपर्ने परिस्थितिमा रहेको छ । यो सम्पूर्ण परिस्थितिको निमार्ण के कारणले गर्दा भयो भनेर मूल्याङ्कन गर्न आश्वयक छ । हामीले आफूलाई परिवर्तनको बाटोमा कहिल्यै अग्रसर नगर्दा यो स्थिति खडा भएको हो ।

सधैँ दोष अर्काको थाप्लोमा पारिदिएपछि हामी उम्कियौँ । मिडियाका साथिहरुले मिडियामा के कमिकमजोरी भएको छ ? राजनितिका साथीहरुले राजनितिमा के कमिकम्जोरी भएको छ, उद्योग व्यापारका साथिहरुले उद्योग व्यापारमा के कमि कमजोरी भएको छ भन्ने हेरेका छैनौँ । उद्योगीलाई सोध्नुभयो भने मुलुकमा नियम कानुनमा स्थायित्व छैन् त्यही कारणले उद्योगमा विचलित भन्छन् । हामीलाई सधैँ लागेको राजनीतिक दल र तिनका नेताहरुप्रति आश्रित र निहित भएका छौँ । मुखसम्म कण्ठसम्म आएको वाणि पनि हाम्रो स्वार्थले छेक्छ । कुनै नेताको अगाडि मैले केही कुरा भनँे भोलि पाउनसक्ने लाभबाट म निमुख हुनेपर्ने परिस्थिति खडा हुन्छ त्यसकारण म बोल्दिन् भन्ने भएको छ ।

तपाईं हामी प्रत्येक मान्छेले जुन दिन साहस ग¥यौँ र त्यो हृदयबाट आएको सत्यलाई कण्ठबाट शालीन ढंगले प्रस्तुत गर्ने साहस गर्दैनौँ, तबसम्म यो देश कमजोर हुन्छ, लड्खराउँछ ।
हामीले देखेका छौँ, सबै राजनितिक दलका नेताहरुलाई एउटा–एउटा पत्रकारको झुण्ड चाहिएको छ । कतिपय पत्रकारहरुलाई नेताहरुको ठल्लाको खेलको पनि चाहिएको छ । एउटै ढंगले विनिमय गर्दा दुईजना मान्छेसँगै हुन प¥यो नि , एक्लो मान्छेको आधारमा विनिमय सम्भव छैन् । विनिमय हुन दुई तत्वको आवश्यकता हुन्छ । त्यहाँ के भनेर उम्किन पाइन्न त्यसले गर्दा म पनि विग्रियो । मैलेगर्दा ऊ पनि बिग्रियो र उसले गर्दा म पनि बिग्रिएँ र हामीले गर्दा देश बिग्रियो भन्ने चेत जहिलेसम्म हाम्रो समाजमा आउँदैन तबसम्म आफैले गर्व गर्न सक्ने परिस्थितिको निमार्ण हुँदैन ।

सूचनाको कुरा गर्दा एकचोटी कान्तिपुरका पत्रकार धेरै अघि म कहाँ आउनुभएको थियो । भरखरै पोखरामा खटिनुभएको थियो र मलाई सोध्नुभएको थियो, दाई, न्यूज कस्तो लेख्ने होला ? मैले पनि जिन्दगीको ७ वर्र्षदेखि पत्रकारिता गरेको थिएँ । पञ्चायतको कालो शासनमा हामीले पनि मिसन पत्रकारिता गथ्र्यौं । अब पत्रकारितमा धेरै प्रकारको प्रगति भएका छन् । जे जति भएका छन्, मिसनबाट कमिशन पत्रकारिता पनि भएका छन् । अनि मैले उहाँलाई भनेँ, कस्तो खाल्को समाचार लेख्न खोज्नुभएको तपाईँले ? हाम्रो मन्त्री आउँछन्, कार्यक्रम हुन्छ, त्यहाँ गोष्ठी हुन्छ र उद्घाटनमा मन्त्रीले बोलेको प्रमुख समाचारको रुपमा हामी सम्प्रेषण गर्छौँ । एउटा गाउँमा आमाहरुले आफ्नो पेटमा पटुकी बाँधेर त्यो गाउँको सबैभन्दा अग्लो डाँडामा बाटो पु¥याएको चाहिँ हामीमा समाचार बन्दैन । बन्नुपर्ने थियो त्यो समाचार । पोखराको फेवा बाँधले जुन क्षमतामा पानी थाम्नुपर्ने हो त्यो थामेको छैन् ।

जुनबेला पनि जान सक्छ । त्यो धरासायी छ । त्यो समाचार हो कि होइन ? एउटा स्कुल शत्वार्षिकी मनाउँदै थियो र विद्यार्थी १५ जना थिए, यो समाचार हो कि होइन ? समाचार सधैँ घटनामा आधारित मात्रै हुँदैन । समाचार आम जनतामाझ जोडिनु पनि आवश्यक छ । नेताले भनिदिएका ठूला कुरा र त्यही नेताको छेउमा बसेका सानो मान्छेले बोलेको कुरा सानो हुने हाम्रो पत्रकारितामा परिवर्तनका आवश्यकता छ । समाचार राम्रो बन्ने हो कि, समाचार सबैकानिम्ति शिक्षापरक बन्ने कि नबन्ने ? सत्ताको ताबेदार जस्तो बनेर सत्ताको शिखरमा बसेका मानिसले भनेको लेख्ने र सडकमा बसेकाहरुको आवाज सुनुवाइ नै नभए समाचारले यथोचित रुपले राष्ट्रको समृद्धिमा योगदान गर्न सक्दैन् ।

हामीले देखेका छौँ, मेरै मित्रहरु, अनुजहरु पत्रकारिता गर्नका निम्ति पोखरा आउने क्रममा उही नेताहरुलाई भनेजस्तो चप्पल लाएर पडकाएका थिए । आएका थिए अब त गाडीमा, अझ ठूला गाडीमा, ३–४ वटा घर बनाएर बसे भनेर जसरी नेताहरुलाई भनिन्छ, पत्रकारितामा पनि त्यो ठूलो संख्यामा छैन् सानो संख्यामा त्यो देखिएको छ ।

देशमा कांग्रेस कहाँ छन्, माओवादी कहाँ छन्, जनता खोज्यो भने त न्यून छन् । जनताले कहिलेकाहिँ बालेनका नाममा, हर्क सामपाङका नाममा स्वरुप देखाए पनि जनता स्वयम् प्रस्तुत भएको अवस्था छैन् । एमालेभित्र देख्यो भने एमाले कहाँ छ भन्दा एमालेभित्र पनि गुटबन्दीका नाममा विभाजित भएको छ । कांग्रेसमा सोध्यो भने देउवाका मान्छे होलान्, रामचन्द्र पौडेलका मान्छे होलान्, शेखर कोइरालाका मान्छे होलान् कांग्रेसीहरु अल्पसंख्यक होलान् । त्यसैगरी नेपालमा जनता अल्पसंख्यक छन् । र नेपालमा नेपालीहरु बहुसंख्यक हुने परिस्थिति निमार्णमा मिडियाले राम्रो भूमिका निर्वाह गर्न सक्छ । धेरै साथीहरुलाई चिन्ता होला अहिले विभिन्न मोबाइलमा न्यूज आएका छन् ।

विचारको सम्प्रेषण छापा माध्ययमबाट जुन ढंगले गर्न सकिन्छ त्यो अनलाइन समाचारबाट सकिन्न । समाचार त दिन सकिन्छ र समाचारसँग आउने विचार, समाचारसँग आउने संवेदना र त्यसको स्पर्श सामाथ्र्य अन्य माध्ययबाट हुन सक्दैन् । त्यस्तो हुने भए त किताब मान्छेले पढ्न छोडी सक्नुपर्ने । किताबको युगै समाप्त भइसकेको घोषणा गर्नुपर्ने थियो । किताबको युग समाप्त भएको छैन । अझै नेपालमा प्रकाशन गर्नेहरु बढिरहेका छन् त्यो भएको हुनाले छापा माध्ययमको युगको अन्त्य भएको घोषणा गर्नु भनेको हतार हुन्छ । छापा युग सञ्चार माध्यममले आफुलाई बलियो ढंगले प्रस्तुत गर्न चुनौती चाहिँ देखा परेको छ । त्यो चुनौतीलाई कसरी अवसरमा अनुवाद गर्ने त्यो कोसिसलाई आत्मसात गर्न आवश्यक छ भन्नेमलाइ लाग्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->