अहँ
मलाई कहिल्यै लागेन
माक्र्स मरे, कहिल्यै लागेन ।
…..
गान्धी, विपी
बुद्ध या किसुनजी
लागेन कि तिनीहरू मरे ।
……
आस्था, इमान्दारिता
दर्शन, चिन्तन, र सदाचार
लाग्दैन, कि कहिल्यै मर्छ ।
……
यो समाज
जहाँ ती सब मृतप्रायः छन्
बाँचेकै पो कहिले थिए र ?
…..
विचारको त्यही घरमा बसेर
आफ्नैहरूका विरुद्ध खबरदारी
खै, अब कस्ले गर्छ ?
…..
समयलाई
सञ्चो भयो होला
यौटा प्रश्नवाचक
बिदा भयो
सदाका लागि ।
…..
केही मान्छेहरू
अस्तिनै देखि
श्रद्धाञ्जली लेखिरहेथे
कति हतार हुन्छ है
मृत्यु खबर लेख्न मान्छेहरूलाई
जो सँधै अमर छ विचारले
उस्को मृत्यु हुँदैन ।
…..
बस्,
विदा भयो यौटा प्रश्नवाचक
अनन्त प्रश्नहरू
अनुत्तरित नै छाडेर
समयलाई
सञ्चो भयो होला ।
समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै कवि इश्वरमणि अधिकारीले सामाजिक सञ्जालमा राखेका कविता । गिरिको आइतबार अन्त्येष्टि गरिएको छ ।





