आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘प्रकाश’ रमाइलोको लागि हेर्ने फिल्म होइन !

‘प्रकाश’ रमाइलोको लागि हेर्ने फिल्म होइन !

वर्गीय र जातीय विभेदमात्र नभएर राजनीतिक बेइमानीका कुरा समावेश ।


  • राजाराम पौडेल
  • भाद्र १४ २०७९, मंगलबार

पोखरा/देशमा आमुल परिवर्तन ल्याउनका लागि विभिन्न आन्दोलन भए । ती आन्दोलन सफल पार्न जनताले ठूलो सहयोग गरे । आन्दोलनमा होमिँदा कतिले आफ्नो ज्यानको आहूति दिए । कति घाइते भए । बेपत्ता हुनेको संख्या पनि लामै छ । आन्दोलनको वलमा व्यवस्था त परिवर्तन भयो । तर, जनताको अवस्था परिवर्तन हुन सकेको छैन । अवस्था परिवर्तन केवल नेताको भइरहेको छ । उनीहरु छेपारोलेझैँ रंग फेर्दे आफ्नो दुनो सोझ्याउनमा नै मस्त छन् । जनता भने उस्तै पीडामा छन् । यस्तै पीडामा परेका जनताले भोगेको वास्तविकतालाई कथामार्फत् बुनेर तयार भएको फिल्म हो ‘प्रकाश’ । यसका लेखक विकास सुवेदीले कथामार्फत् देशको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । सोही कारण प्रकाश आम नेपालीको कथाजस्तो लाग्छ । लेखक सुवेदीले कथामार्फत् उठाएको विषयवस्तले दर्शकको मन–मुटु छुन्छ । पटकथामा समेत उनले मेहनत गरेका छन् ।

यो फिल्मको मुख्य पात्र प्रकाश कर्णालीको युवा हो । जसको भूमिका प्रदीप खड्काले निभाएका छन् । जुम्लाको विकट गाउँको निम्न वर्गीय परिवारमा जन्मेको प्रकाशको सपना शिक्षक बन्नु रहेको छ । व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका उसको बाबु बेपत्ता छन् । आमाले दुःख गर्दै हुकाइन्, बढाइन् र पढाइन् । आमा रोगी पनि छन् । शिक्षक बन्नको लागि उसले गरेको संर्घषसहितको जीवन भोगाइ नै फिल्मको विषयवस्तु हो । शिक्षक बन्नको लागि न्यूनतम शैक्षिक योग्यता पूरा गरेर मात्र हुँदैन । लाइसेन्स परीक्षा उत्तीर्ण हुनुपर्छ । प्रकाश पहिलो खुड्किलो पार गर्न सफल हुन्छ । लाइसेन्स परीक्षा पास भएपछि शिक्षक सेवा आयोगको तयारीमा जुट्छ । गोठालो जाँदा पनि पढ्छ, काम गर्दा पनि पढ्छ । मिहिनेति प्रकाशमा सफल हुन्छु भन्ने आत्मविश्वास देखिन्छ । ‘खुला’ तर्फ लिखितमा नाम निस्कन्छ । त्यसपछि अन्तर्वार्तामा सहभागी हुनुपर्छ ।

अन्तर्वार्तामा पास हुन पैसाको आवश्यकता पर्ने कुरा भनिन्छ । पैसाकै लागि बेपत्ता बुबाको किरिया गर्र्न बाध्य हुन्छ । साँच्चिकै प्रकाशको शिक्षक बन्ने सपना पूरा हुन्छ कि हुँदैन भन्नेबारे थाहा पाउन भने एकपटक फिल्म हेर्नुपर्छ ।

यो फिल्मले नेपालको शिक्षा क्षेत्रमा हुने राजनीति तथा भ्रष्टाचारलाई उजागर गरेको छ । वर्गीय र जातीय विभेदमात्र नभएर राजनीतिक बेइमानीका कुरा फिल्ममा हेर्न पाइन्छ ।

हाम्रो देशको वास्तविक अवस्थालाई चित्रण गरिएको छ । विश्वास गरेका नेताले गर्ने राजनीतिक बेइमानीप्रति फिल्मले झापड हानेको छ । आफ्नो फाइदाको लागि पार्टी फेर्ने प्रवृत्तिलाई समेत देखाइएको छ । यसका अलावा समाजमा जरा गाडेर बसेको जातीय विभेदमात्र नभएर वर्गीय विभेदका कारण परेको समस्या फिल्ममार्फत् देखाइएको छ । सरकारी स्कुलका शिक्षक तथा विद्यार्थीलाई राजनीतिक दलले कसरी प्रयोग गर्छन् भन्नेसमेत देखाइएको छ । जुम्लाको विगट गाउँको आभाष गराउन फिल्मको सुरुवात पृष्ठभूमिमा बजेको देउडा गीत, खोला, पुल र पुलमाथि रहेका काठका मूर्तिले सघाउँछ । अनि सोही पेरिफेरीमा फिल्म सकिन्छ ।

यसभन्दा अगाडिका फिल्मभन्दा प्रकाशमा प्रदीपको क्यारेक्टर फरक थियो । क्यारेक्टरभित्र छिर्न उनले निकै मेहनत गरेको फिल्ममा देख्न सकिन्छ । फिल्ममा उनको एकनासको अभिनय छ । विगतका फिल्ममाभन्दा सुधारिएको छ । यसमा गरेको मेहनतलाई कायम राखे भने प्रदीप अभिनय क्षमता अब्बल भएको कलाकारको रुपमा दह्रिनेछन् । जसको छनक फिल्ममा देखिन्छ । हुन त, उनले यो फिल्मको लागि भनेर कास्टिङ डाइरेक्टर अनुप बरालसँग अभिनय सिकेका थिए ।

सीता क्यारेक्टरले दिया मास्केलाई थप सशक्त कलाकारको रुपमा उभ्याउन सफल भएको छ । अभिनय, पहिरन, आवाजमा उनले खोट लगाउने ठाउँ दिएकी छैनन् । श्रीमान बेपत्ता भएपनि छोराको सपना पूरा गर्न उनले गरेको दुःखले दर्शकलाई चसक्क छुन्छ । छोराले लिखितमा नाम निकाल्दाको दिनमा उनको भान्सामा भात पाक्छ । अरुदिनमा उनको भान्सामा ढिँडो र रोटी पाक्छ । छोराका सपना पूरा गर्न उनले धेरै दुःख गरेकी छन् । सीताले आफ्ना पीडा गाईसगँ भनेको दृश्य साह्रै मार्मिक छ ।

कलाकार प्रकाश घिमिरेले आफ्नो अभिनय क्षमतालाई कायमै राखेको देखिन्छ । अर्का कलाकार राजन खतिवडालेसमेत आफ्नो भूमिकालाई न्याय नै गरेका छन् । रेनु योगीले दर्शकलाई निरास बनाउन्नन् । पवित्रा खड्का, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनयले फिल्मलाई थप परिपक्क बनाएको छ ।

यसैगरी उत्तम न्यौपानेले साउन्डका लागि गरेको मेहनतले फिल्मलाई थप मजबुत बनाएका छ । यो फिल्ममा ‘सिन्क साउन्ड’को प्रयोग गरिएको छ । हुनत कतिपय अवस्थामा दर्शकले साउन्डमा सुनेको कुरा दृश्यमा देख्न पाउँदैनन् । अनुमान गर्नुपर्ने हुन्छ । सिनेमेट्रोग्राफर राजेश श्रेष्ठले गरेको परिश्रमले दृश्यलाई आर्कषक बनाउन सघाएको छ । क्यामराको एंगल र लाइटमा कमजोरी हुन दिइएको छैन ।

फिल्मका निर्देशक दीनेश रावतले कथालाई जीवन्तता दिनका लागि निकै मेहनत गरेका छन् । प्रसादबाट वाहीवाही कमाएका रावतले आफ्नो क्रेजलाई कायम राख्न सफल भएका छन् । केही कमजोरी फिल्ममा छन्,नभएका भने होइनन् । फिल्मको सबैभन्दा कमजोर क्लाइमेक्समा देखिन्छ । दर्शकले क्लाइमेक्स होला भन्ने सोच्दासोच्दै फिल्म नै सकिन्छ । केही ठाउँमा दर्शकलाई भाषा बुझ्न गाह्रो पर्दछ । लामा संवादमा कलाकारको लवज बिग्रिएकोजस्तो सुनिन्छ । केही शब्द दर्शकले बुझ्न सक्दैनन् । प्रकाश र राधाको क्यारेक्टरलाई थोरै रोचक बनाउन सकिने थियो । त्यसका खासै ध्यान दिएको देखिएन । मध्यान्तर अगाडि फिल्म अलि ‘स्लो’ लाग्छ । केही ठाउँका दृश्य अनावश्यक लम्ब्याइएको आभाष पनि हुन्छ । सुधार्न सकिने ठाउँ फिल्ममा भेटिन्छ ।

हुनत फिल्म प्रकाश रमाइलोको लागि हेर्ने फिल्म भने पक्कै होइन । किनकि रमाइलो मान्ने ठाउँ फिल्ममा छैन । फिल्म भित्र पीडा, दुःख नै व्याप्त छ । त्यसैले प्रकाश नाम जस्तो उज्यालो भने छैन ।

जे होस् २ घण्टा ७ मिनेट अवधिको यो फिल्म हाम्रो समाजको ऐना हो । फिल्मले देशमा वर्गीय विभेद कायमै छ, लडाइँ सकिएको छैन अझै विद्रोह बाँकी छ भन्ने देखाएको छ । फिल्म हेर्दा दर्शकले आफ्नो अपनत्व भेट्नेछन् । प्रकाशले कसरी मौलिक कथालाई टपक्क टिपेको छ ? फिल्म भित्रका थप रहस्य के–के छन् ? थाहा पाउन भने हलमा पुगेर फिल्म हेर्नुपर्छ । हलमा पुगेर फिल्म हेर्दा पछुताउन पक्कै पर्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->