बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एमाले पर्वत : आकांक्षी धेरै भएपछि प्रदेशमा ३७ जनाको नाम सिफारिस

एमाले पर्वत : आकांक्षी धेरै भएपछि प्रदेशमा ३७ जनाको नाम सिफारिस


  • संजय रेग्मी
  • भाद्र २२ २०७९, बुधबार

पर्वत / आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरू आ–आफ्ना उम्मेदवार छनौट प्रक्रियामा लागिरहेका छन्। नेपाली कांग्रेसले इच्छुकहरूबाट मनोनयन सङ्कलन गरेर आकांक्षीहरूको घेरालाई साँघुरो बनाउने प्रयासमा छ।

कांग्रेसले खुल्ला रूपमा मनोनयन मागिरहेको बेलामा मौन बसेको एमालेले आन्तरिक बैठक तथा छलफलहरूको आयोजना गरेर उम्मेदवार बन्न चाहेकाहरूको नामावली संकलनपछि प्रदेश कमिटीमा सिफारिस समेत पठाइसकेको छ। एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचनमा दुई ओटा क्षेत्र रहेको पर्वतमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारको संख्या तीन मात्रै हुन्छ।

आकांक्षीहरूको संख्यालाई सकेसम्म कम गर्ने प्रयास स्वरूप पार्टीभित्रको भेला र बैठकमा निकै कसरत गरेको भए पनि जिल्लाबाट ३७ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको एमालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्। एमालेभित्रका आकांक्षीहरूको नाम बाहिर ल्याउँदा चाहना राखेकाहरुबिचमा नै तीतो मैलो उत्पन्न हुन सक्ने तथा अनावश्यक टीका टिप्पणीहरू हुन सक्ने भन्दै इच्छुकहरूको नामावली संकलन गरेको कुरा एमालेले सार्वजनिक गरेको थिएन।

तर बैठकमा सहभागी ती नेताका अनुसार एमालेको जिल्ला कमिटीले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फका सम्भावित उम्मेदवारको रूपमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईँ, प्रतिनिधि सभाका सदस्य पदम गिरी र प्रदेश सभा सदस्य विकास लम्सालको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख समेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिस गरी पठाइएको छ। राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना उम्मेद्वारका लागि इच्छुक नरहेको तर संसदमा खेलेको भूमिकाको सम्मान स्वरुप नाम राखेर पठाउनुपर्ने कुरा उठेपछि नाम राखेर पठाइएको ती नेताको भनाई छ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा एमाले पर्वतका सचिव गोविन्द पहाडी सहित मेघनाथ सुवेदी, भक्तबहादुर कुँवर, प्रकाश लामिछाने, जुनादेवी नेपाली, शान्त पौडेल, यज्ञप्रसाद पौडेल, दाताराम चपाई, हरिओम शर्मा लामिछाने, प्रेम शर्मा पौडेल र विकास तिमिल्सिनाको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ प्रेम कुमार लामिछाने, मुगा कुमारी शर्मा, दुर्गा प्रसाद शर्मा, महेन्द्र कुमार जोशी, सुजन बिक., सूर्यप्रसाद शर्मा र जङ्गबहादुर पुनको नाम सिफारिस गरेको एमाले स्रोत बताउँछ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्ष उम्मेदवारका रूपमा मित्रलाल बस्याल, कमलप्रसाद भुसाल, सुन्दर भुसाल, बिन्दु अधिकारी र राजु प्रसाद पौडेलको नाम तथा समानुपातिकमा शारदा कुमारी शर्मा, कविता बि.क., झबिकला काफ्ले, पुष्पराज पौडेल, एकबहादुर हमाल, केसकुमारी दमिनी, तुलाकान्त सुनार र अनिल प्रसाद मास्केको नाम सिफारिस गरिएको छ।

जिल्ला कमिटीले नाम काँटछाँट गर्दा नेताहरुको बिचमा मनमुटाब हुने सक्ने र त्यसैका कारण गठबन्धन भारी पर्न सक्ने आँकलन गरेको एमालेले आकाङ्क्षी नेताहरूलाई रिसाउने कारण नदिनका लागि आकांक्षी सबैको नाम प्रदेश कमिटीमा आवश्यक रायसहित पेस गरेको हो। पठाइएका नामहरूलाई काँटछाँट गर्ने अधिकार प्रदेश कमिटीमा पनि रहेका कारण आवश्यक ठानेको अवस्थामा प्रदेशले पनि नाम काँटछाँट गरेर केन्द्रीय कमिटीमा सिफारिस गर्ने छ। प्रदेशले पठाएका आकांहक्षीहरुमध्येबाट केन्द्रीय कमिटीले उम्मेदवार तय गर्ने छ। भदौको अन्त्य सम्ममा उम्मेदवार टुङ्गो लगाउने भनिएको भए पनि कतिपय ठाउँमा समयमा नै टुङ्गिन सक्नेमा शंका छ। आकांक्षीहरू धेरै हुनु र उनीहरू कसैलाई पनि दुःखी नबनाई टिकट वितरण गर्नुपर्ने बाध्यतामा एमाले छ।उम्मेदवारको टिकट टुङ्गो लगाउने जिम्मा पार्टीको ‘हाइ कमान्ड’ मा रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->