विद्यार्थीकालमा गुरुकुलमा हुँदाखेरी रंगकर्मी राजन खतिवडाले अभिनय गरेको नाटक थियो ‘बाघ भैरव’ । संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको यो नाटकमा उनले अभियन गरे । सोही अभिनयका कारण लेखक जोशीको नजरमा उनी परे । मुख्य कलाकारका रुपमा अभिनय गरेका उनलाई लेखक जोशीले ‘मेरो हिरो’ भनेर सम्बोधन गर्थे । त्यसपछि लेखक जोशीले अर्को नाटक दिन्छु भनेर वाचा गरे । पछि मण्डला थिएटर सुरु हुने तय भयो । खतिवडाले हामीले नाटकघर सुरु गर्न लाग्यौ एउटा नाटक दिनु हामी तपाइकै नाटकबाट नाटकघरको सुरुवात गर्छौ भनेर जोशीसँग भने । मेरो नाटक केही अधुरो छ पख्नुहोस् भनेर उनले जवाफ फर्काए । केही समयमा लेखेर दिए । नाटक लामो थियो । जस्ताको तस्तै नाटक तयार पार्न सम्भव नहुने देखियो । छोट्याउनु पर्ने भयो । खतिवडाले सोमनाथ खनाल समेतको साथबाट पुर्नलेखन गरेर लेखक जोशीलाई देखाए । जोशीले हेरेर ठिक छ भने । पछि नाटक समेत देखाए ।
त्यतिबेला यो नाटक मण्डला नाटकघरको उद्घाटनमा मात्र मञ्चन भएन । नाटकको पहिलो प्रिमियर नै सन् २०१२ मा बंगलादेशमा भएको रंगो हर्षे, बिंगो वर्षे नाटक महोत्सव’ मा भएको थियो । सोही वर्ष नेपालमा आयोजना भएको ‘काठमाण्डौ अन्तराष्ट्रिय नाटक महोत्सव’ साथै भारतमा भएको ‘देशविदेशेर नाट्य मेला’ मा पनि यो नाटक मञ्चन भयो । सन् २०१७ मा प्रतिष्ठित ‘भारत रंग महोत्सव’ मा समेत देखाइयो । मण्डला नाटकघरमा मात्रै तीन पटकसम्म गरेर ७० औं पटक यो नाटकको मञ्चन भयो । सम्रगमा यो नाटकले नाट्यप्रेमीको माया पायो ।
अहिले काम गर्दै गर्दा अर्को जेनेरेसनलाई हस्तान्तरण गर्ने नाटकको खाँचो भएको महशुस निर्देशक खतिवडालाई भयो । कक्षामा पढाउँदा, अभ्यास गराउँदा नयाँ पुस्तामा ताल तथा कल्चरका कुराहरु थाहा नभएको भान भयो । ताल र कल्चरका कुरा थाहा नहुँदा नाटक पर्फमेन्स सुन्दर नदेखिएको आभाष उनले गरे । सोही कारण नयाँ पुस्तामा ताल र कल्चर लगायतको सिप हस्तान्तरण गर्नुपर्ने सोच उनमा आयो । यसरी अर्को पुस्तालाई हस्तान्तरण गर्न सुनकेशरी राम्रो नाटक हो भन्ने भयो । काम सुरु भयो । त्यतिबेला मण्डलामा मात्र नाटक मञ्चन गर्ने योजना बनेको थियो । काम हुँदै जाँदा पोखराको लागि समेत योजना बन्यो । र, नाटक पोखरा आइपुग्यो । अहिले पोखरामा मञ्चन भइरहेको नाटकले दर्शकको साथ पाइरहेको छ ।
हुनत यसलाई तयार पार्न ठुलो चुनौती थियो । सिमित स्रोत साधनमा नाटक तयार भएको छ । सेट तथा लाइटलाई कर्म खर्चमानै सुन्दर बनाउन खोजिएको छ । ‘प्रब्स’बाटै सेटको इमेजहरु क्रियट गरेर काम गरिएको छ । कलाकारको अभिनयबाटै कति कुरा भनिएको छ ।
अहिले मात्र नभएर पहिला मञ्चन गर्दा समेत यस्तै अवस्था बनेको थियो । त्यतिबेला खतिवडाले भाग्यवश कर्णालीका दुईचार जना साथीहरु भेट्टाएका थिए । जसका कारण नाटकलाई परिपक्क बनाउन मात्र सघाएन नाटकमा प्रयोग गरिएका गीतमा तहाँको अपनत्व गराउन सहज भयो ।
भाषागत हिसाबले काठमाण्डौ बस्नेले न्याय गर्न सक्दैनौ भनेर त्यो समयमा हुड्केलाई मात्र कर्णालीको भाषा बोल्न लगाइएको थियो । हुड्के क्यारेक्टर पहिला पुरुष थियो । अहिले भने नयाँ प्रयोग गर्नको लागि महिलालाई हुड्केको अभिनय गराइएको छ । हुड्के बनेकी प्रीतिसा अधिकारीले प्रस्तुतीलाई सुन्दर बनाउन भरमजदुर प्रयास गरेकी छन् । नाटकमा दर्शकलाई कौतुहलता जगाउन उनको उपस्थिति सफल भएको छ ।
सम्रगमा ‘सुनकेशरी’ कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । ‘सुनकेशरी’ ले आफ्नो सुन्दरताका कारण भोग्नुपरेको सर्घष तथा अनुभव नाटक मार्फत आर्कषक ढंगले देखाइएको छ । कर्णालीको सांस्कारिक माललगन गाउन सिपालु उनी आफ्नो रुप र केशका कारण समेत चर्चामा छिन् । सोही कारण उनलाई विवाह गर्न चाहने धेरै छन् ।
‘सुनकेशरी’ का फुपुको छोरा प्रजापति पनि उनलाई मनपराउछन् । संस्कारकै कारण ‘सुनकेशरी’ आफूलाई हक लाग्ने उसको ठहर छ । ‘सुनकेशरी’ भने उसलाई मन पराउन्नन् । सुन्दर सुनकेशरीलाई आफ्नो बनाउन खोज्नेमा राजाहरु समेत हुन्छन् । छिनासिंहका राजा र रास्कोटका राजा मामाचेला हुन् । उनीहरु पनि ‘सुनकेशरी’ प्रति आर्कषित हुन्छन् । सुनकेशरीले दुई मध्ये दाजुलाई रोज्छे । र दरवार जान्छे । यता उनका फुपुका छोरा प्रजापति भने तड्पिन्छ । सुनकेशरीलाई फर्काएर ल्याउने प्रण गर्दै प्रजापति पनि दरबार तर्फ जान्छ । नाटकमा प्रयोग गरिएको द्धन्द्धले नाटक हेर्ने दर्शकको ध्यान खिचिरहन्छ । यसको लागि प्रजापतिले गरेको मेहनत नाटकको महत्वपूर्ण खुराक हो । प्रजापतिको भुमिका निभाएका खगेन्द्र साउदले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत ध्यान खिच्न सफल भएका छन् । उनले आफ्नो पात्रलाई जिवन्तता प्रदान गर्न केही जोखिम मोलेका छन् ।
नाटकमा प्रत्यक्ष संगीतको प्रयोग गरिएको छ । जुन संगीतले दर्शकलाई रमाइलो अनुभुती गराउँदछ । समग्रमा एक युवतिले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवहरुको कथालाई नाटकमा बुनिएको छ ।
कथाको मुख्य पात्र सुनकेशरी बनेकी परिक्षा लिम्बु, विक्रम शाही बनेका सञ्जिब जंग लिम्बु, साइमल शाही बनेका आर्य सुमन खड्का, हुड्केको पोई बनेका कृष्ण चौधरी, झम्पन को भुमिकामा देखिएका रोशन लोहोरुङ राई, सुनिल राई, नौमतिको भुमिका निभाएकी रिता सैंजु, लालुको भुमिकामा अभिनय गरेका मिलन कार्कीले आफ्नो जिम्मेवारीलाई न्याय गरेका छन् ।
यसैगरी पार्वती भुमिकामा सुजिता सिवाकोटी, सबिना गिरी, सेनापति बनेृका नोर्देन ख्युङ्वा लामा, राज पुरोहित बनेका रोशन
अधिकारी,सैनिक बनेका किसम विर विक्रम, बाज बनेका बलबहादुर राई, कोरसमा रक्षा पाण्ेडे, अनुजा रेग्मी र अभिषेक राईले अभिनय मार्फत दर्शकलाई सन्तुष्ट पार्न निकै मेहनत गरेका छन् । उनीहरु सबै मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरु हुन् । यो कथा लेखक जोशीले २०२७ सालमा कर्णालीमा सम्पन्न भएको लोक संस्कृति सर्वेक्षणको क्रममा कथा वस्तुको संकलन गरेका हुन् । जनजिब्रोमा जीवन्त भइरहेको कथालाई जोशीले नाटकीय रुप दिएका थिए ।
नाटकका निर्देशक खतिवडाको सुनकेशरी नाटक पहिलो निर्देशन त होइन । उनले थुप्रै नाटकमा काम गरे । तर मन खाएको कारण यो नाटकलाई उनी पहिलो र अन्तिम नाटक भन्छन् । नाटक हेरेपछि उनको कामको प्रशंसा नगरिकन बस्न सकिदैन । कलाकारको लिमिटेसन पनि थियो प्ले बुझ्नलाई, लोक संस्कृतिको चिज बुझ्नलाई । ड्रामाटिक कसरी हुन्छ । एक्टरले के ग¥यो भने ड्रामाटिक हुन्छ के गरे हुँदैन । के गरे आर्ट हो के गरे होइन भनेर बुझाउन उनले खोजे । क्यारेक्टरको युनिक चिज कसरी देखिन्छ भनेर खोजी गरे । जुन कुरा नाटक हेर्दा अनुभुती हुन्छ ।
त्यसोत दर्शकको चाहनालाई ध्यान दिँदै आज भन्दा १० वर्ष अगाडि मञ्चन गर्दाको नाटक र अहिलेको नाटकमा केही परिवर्तन गरिएको छ । केही गीत तथा कोरसका मुभमेन्ट थपियो । अहिले पहिला भन्दा केही चुनौती थपिएको थियो । किनकी केही समय अगाडि नेपाली फिल्ममा कस्टुम लगाउँदा समस्या आएको कारण निर्देशक सचेत बने । फलस्वरुप भेष बदलेको सेटमा केही दृश्य घटाइएको छ । श्रोत साधनको कमीले केही सिमामा नाटकलाई बाध्नु भने परेको आभाष नाटक हेर्दा गर्न सकिन्छ । १ घण्टा २५ मिनेट अवधिको यो नाटक जे सुविधा छ त्यसलाई भरपुर प्रयोग गरेर काम गरिएको छ । जुन तारिफयोग्य छ । नाटक भन्दा फिल्म हेर्न रुचाउने दर्शकको लागि समेत यो नाटकले सन्तुष्टि दिन्छ ।
यतिहुँदाहुँदै पनि नाटकमा केही कमजोरीहरु पनि भेटिन्छन् । ती कमजोरीलाई सुर्धान सके यो नाटकको ओज अझ बढ्नेछ । कतै–कतै काम चलाउ भएको जस्तो देखिएपनि सो गर्दै जाँदा विकास हुँदै थप परिपक्क हुने विश्वास गर्न सकिन्छ । दर्शकलाई केही ठाउँमा प्रयोग गरिएको भाषा बुझ्न गाह्रो हुनसक्छ । नाटकमा प्रयोग गरिएको लाइट तथा प्रब्स कतै–कतै अपुग देखिन्छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन हुने नाटक हेरेर साच्चिकै नाटक कस्तो बनेको छ थाहा पाउन सक्नुहुनेछ ।
यो नाटक आगामी कार्तिक १८ गतेदेखि मंसिर ४ गतेसम्म मण्डला नाटकघर काठमाण्डौमा समेत मञ्चन हुनेछ ।





