आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

इन्द्रबहादुरका तीन पुस्तक विमोचन

इन्द्रबहादुरका तीन पुस्तक विमोचन


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७९, शनिबार

पोखरा/ गुरुङ भाषा र संस्कृतिका अध्येता इन्द्रबहादुर गुरुङका तीन पुस्तक एकसाथ विमोचन गरिएको छ । उनले लेखेका गुरुङ पर्यावरणीय गीत, शिव धर्म र प्रेरणा विमोचन गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको गुरुङ पर्यावरणीय गीतमा गुरुङ समुदायले गाउने परम्परागत गीतहरु समावेश छन् । यस्तै, शिव धर्म र प्रेरणा पुस्तक भने उनले देखेका र भोगेका विषयहरुमा आधारित रहेका छन् ।

पुस्तक विमोचनमा बोल्दै लेखक गुरुङले भाषा र संस्कृति जोगाउन विद्यालयमा स्थानीय भाषामा पढाई हुनुपर्ने बताए । आफूले लेखेका पुस्तकहरुमा गुरुङ जातिका भाषा, संस्कृति र संस्कार उल्लेख गरेको उनले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सभा सदस्यसमेत रहेका इन्द्रबहादुर गुरुङ समुदायका पुरोहित हुन् । पञ्चायतकालमा तत्कालीन जिल्ला विकास समिति लमजुङका उपसभापतिसमेत रहेका गुरुङ गाउँ फर्क राष्ट्रिय अभियान लमजुङका अध्यक्षसमेत रहेका थिए । २०५३ सालदेखि अध्ययन र लेखनमा लागेका गुरुङका एक दर्जन पुस्तक प्रकाशित छन् । भुगोलविद् डाक्टर हर्क गुरुङले भाषा, संस्कार र संस्कृतिका विषयमा अध्यन अनुसन्धानमा लाग्न उनलाई प्रेरणा दिएका थिए ।

पुस्तक विमोचनमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले आफुले जानेबुझेका कुरा लेख्ने बानी बसाउनुपर्ने बताए ।
यस्तै, संविधानसभा सदस्य जमिन्द्रमान घलेले गुरुङ समुदाय अध्यन र अनुसन्धानमा पछाडी परेको बताए । ‘हामी न लेख्छौं, न पढ्छौं,’ उनले भने, ‘त्यही भएर हामी पछि परेका छौं ।’ नयाँ पुस्तालाई अध्यन र अनुसन्धानमा लाग्न प्रेरणा दिनुपर्ने उनको जोड छ ।

पुस्तक विमोचनमा बोल्दै कोलासोंथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम घलेले गुरुङ समुदायका भाषा र संस्कृति लोप हुन लागेको भन्दै चिन्ता जनाए । गुरुङ पर्यावरणीय गीत पुस्तकमाथि टिप्पणी गर्दै लेखक गौरी गुरुङले आफ्नो समुदायभित्र रहेका भाषा, संस्कृति र साहित्य उजागर गर्न आवश्यक रहेको बताइन् । यस्तै, शिव धर्म र प्रेरणा पुस्तकका बारेमा पत्रकार बद्रिविनोद प्रतिकले टिप्पणी गरेका थिए ।
गिलुङ समाज पोखराका अध्यक्ष आशिष गुरुङले लमजुङको दुर्गम गाउँ गिलुङमा जन्मिएर गुरुङ भाषा, संस्कार र संस्कृतिका विषयमा गुरुङले अथक मेहनत गरेर पुस्तक लेखेको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->