पोखरा/दसैंको छेकोमा हल पाउने फिल्महरु भाग्यमानी मानिन्छन् । फिल्म चल्छ भन्ने आशाले अधिकांश निर्माताहरु प्रदर्शनको लागि त्यही रोज्छन् । भारतमा पनि यही चलन छ । भारतमा तिहार,नयाँवर्ष र इदमा फिल्म रिलिज गर्नेहरु सफल पनि भएका छन् ।
चलचित्र ‘बाबरी’ले पनि त्यही बाटो पच्छ्याएको छ । यही असोज २४ गते शुक्रबार ‘बाबरी’ हलमा लाग्दैछ । सो फिल्मले ऋतिक रोशन र सैफअली खान अभिनित ‘विक्रम वेदा’सँग भने प्रतिस्पर्धा गर्नुपर्नेछ । दसैंलाई नै लक्षित गरि प्रदर्शनमा आएको ‘प्रेमगीत–३’ ले अहिले बक्सअफिसमा कब्जा जमाएको छ । त्यो फिल्म हलबाट नहट्दासम्म बाबरीलाई असजिलो नै हुनेछ भने असोज २१ गते दयाहाङ राई र सौगात मल्ल अभिनित ‘दुई नम्बरी’ प्रदर्शनमा आउँदैछ ।
दसैंको छेकोमा प्रदर्शनमा आउन लागेको ‘बाबरी’को निर्माता टिम भने उत्साहित छ । फिल्मको शीर्षगीत ‘बाबरी’ ले पनि दर्शकलाई हलसम्म तान्ने निर्माण पक्षको दाबी छ । कालीप्रसाद बास्कोटा,सुजन चापागाईं अनमोल गुरुङको संगीत उम्दा नै देखिएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नटकरसँगै बादल भट्ट,कमलमणि नेपाल, उर्मिला बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।
अदिति भारतमा मोडलिङ गरेका कारण चर्चामा छन् भने हाँस्यकलाकार कमलमणिले पनि दर्शकलाई हलसम्म तान्ने क्षमता राख्छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बाबरीका कलाकारहरुले फिल्मको कथा र आफ्नो अभिनय दुबै अब्बल रहेको दाबीमात्रै गरेनन्,सिनेमाले दर्शकलाई निराश नबनाउने बताए । अदितिले भनिन्,‘ बाबरी मेरालागि दोस्रो चलचित्र हो । यसबाट धेरै अपेक्षा गरेको छु । गीत र ट्रेलर दर्शकले जसरी मन पराउनुभएको छ ।आशा छ, फिल्मलाई पनि मन पराउनुहुनेछ ।’ नेपाली सिनेमामा नारी पात्रलाई अक्सर प्रेमिकाकै रुपमा प्रस्तुत गरिन्छ ।अदितिले त्यो कुरा स्वीकारिन् । उनले थपिन्,‘मेरो भूमिका प्रेमिल तर निडर खालको छ ।’
‘इन्टुमिन्टु लण्डन’बाट नेपाली फिल्ममा डेब्यू गरेका धिरज मगरले पनि ‘बाबरी’मा आफूले निभाएको सानोकाजीको भूमिका अब्बल रहेको जिकिर गरे । बाबरीमार्फत् नै डेब्यू गरेका कलाकार धिरज नटकरले फिल्मको कथा नै उत्कृष्ट भएको सुनाए । पोखराको मार्केटिङ सम्हालेका बाबरी प्रोडक्सन टीमका सुरविन वान्तवा राईका अनुसार ‘बाबरी’ हङकङ, जापान,कोरिया,युके लगायतका देशहरुमा समेत प्रदर्शन गरिने बताए ।





