आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कथा : असान्दर्भिक

कथा : असान्दर्भिक


  • भागवत खनाल
  • मंसिर २४ २०७९, शनिबार

आधा रात बितिसक्यो । मानबहादुर आज पनि निदाउन सकेन । अनिद्रा र अतीतको सम्झना पाको उमेरका मानिसका अभिन्न मित्र हुन् । मानबहादुरलाई रात्रिको नीरवतामा अतीतको यात्रा गर्न बडो रमाइलो लाग्छ । पुराना कुराको सम्झनाको आरम्भ सधैँ आमाबाट हुन्छ ।

उसलाई अहिले पनि याद छ, झल्झली । उसको घरको नजिकमा एउटा जमिनदारको घर थियो । मानबहादुरहरू जमिनदार र उसका छोराहरूलाई काजी भनेर चिन्थे । त्यहाँ थुप्रै महिला, पुरुष र केटाकेटीहरू थिए ।

सबैजना सफा, सुन्दर र सुकिला । एक दिन उसले जमिनदारको घरका एकसे एक सुकुमारी महिला र आफ्नी आमाबीच तुलना गरेको थियो । आमाका हातखुट्टा पटपटी फुटेका थिए । गालाको छाला खस्रो थियो ।

आमाको गुनियाँ मुस्किलले घुँडामुनिसम्म पुग्दथ्यो । उनी बेलाबेलामा मजेत्रोले बग्दो नाक पुछिरहन्थिन् । मैलो पछ्यौरामा भुटेको मकै पोको पारेर चपाउँदै हिँड्थिन् । आमालाई बसेर खाने फुर्सद थिएन ।

मानबहादुरको बालमन आमाको अवस्था देखेर अत्यन्तै उद्विग्न हुन्थ्यो । सानै उमेरमा अनेक तर्कना गर्ने बानी पर्यो उसलाई । बाबुसँग प्रश्न गर्ने हिम्मत थिएन । आमालाई तरहतरहका प्रश्न गरेर हैरान पार्थ्यो ऊ ।

आफ्ना आमाबाबु पनि जमिनदारजस्तै ठूलो घरमा नबसेको देखेर उसलाई औधी रिस उठ्दथ्यो । ऊ सोच्दथ्यो– आमा पनि अरूजस्तै सफा र सुकुमारी भइदिए के बिग्रिन्थ्यो ।

बाबु टोपबहादुर जमिनदारको अगाडि पर्यो कि ‘प्रभु प्रभु’ भन्दै झुक्ने गर्दथे । उता, जमिनदारका बुढादेखि बालकसम्म सबैले ‘टोपे’ भनेर हप्काउने । कहिलेकाहीँ त मानबहादुरलाई आफ्ना मातापिताप्रति नै घृणा लाग्दथ्यो ।

एक दिनको कुरा हो । नौ वर्ष उमेर पूरा गरेर हालसालै खुलेको प्राथमिक पाठशालामा कक्षा एकमा भर्ना भएको मानबहादुरले आमालाई सोधेको थियो, ‘हाम्रो घर किन सानो ? मेरो बा काजीहरूसँग किन डराएको ? प्रभु भनेको के हो ?’

आमा- ‘प्रभु भनेको मालिक हो । हामी गरिब छौँ । गरिब भएपछि धनीसँग झुक्नुपर्छ । उनीहरूको इज्जत ठूलो छ ।’

ऊ पाँच कक्षामा पढ्दै थियो । राजा वीरेन्द्रले जनमतसंग्रहको घोषणा गरेको हुँदा वातावरण केही खुकुलो थियो । चियापसल, चौतारी र खुला चौरमा मानिसहरू जम्मा भएर गफ गर्थे ।

चौध वर्षको किशोर मानबहादुर जिज्ञासु थियो । ऊ छेउमा उभिएर मानिसहरूका कुरा सुन्थ्यो । उसले धनी, गरिब, इज्जतदार, साहु, असामी, सुख र दुःखजस्ता कुराको अर्थ क्रमशः बुझ्दै गयो ।

एक दिन उसले कम्युनिस्ट विचारका मानिसहरूको आपसी बहस सुन्यो । उनीहरू भन्दै थिए, ‘वामपन्थको अन्तिम गन्तव्य साम्यवाद हो । यो जनमतसंग्रहले धनी र गरिबबीचको विभेद मेटाएर साम्यवाद ल्याउनमा कुनै सहयोग नगर्ने हुँदा हामीले जनमतसंग्रह बहिष्कार गर्ने निर्णय गरेका हौँ ।’

धनी र गरिबको विभेद मेटाएर सबैलाई बराबर बनाउन सकिन्छ ? ऊ रोमाञ्चित भयो । साम्यवादीरूको कुरा सुनेर मानबहादुर स्तब्ध भएको थियो ।

एक दिन उसले हिम्मत गरेर बाबुलाई सोधेको थियो, ‘बा, कम्युनिस्ट भनेको के हो ?’

बाबु- ‘के बोल्छ यो ? अहिले लान्छ च्याप्प समातेर, अनि दुइटा हातले खालास् ।’

मानबहादुरमा झन् जिज्ञासा जागेर आयो । उसले फेरि सोधेको थियो, ‘कम्युनिस्टले धनी र गरिबलाई बराबर बनाउँछ रे, हो बा ?’

बाबुले छोरालाई अविरल हेरिरहे । उनले मनमनै सोचे— मूर्ख भनेको छोरो त मैले उत्तर दिन नसक्ने प्रश्न गर्न जान्ने पो भएछ । उनी भित्रभित्रै खुसी भए । तर, प्रकटमा भनेका थिए, ‘आइन्दा यस्ता कुरा नगर्नू है माने । जिम्दार साबका घरकाले सुने भने खतरा हुन्छ ।’

मानबहादुर— ‘यस्ता कुरा गर्दा किन खतरा हुन्छ बा ? कसले समातेर कहाँ लैजान्छ ?’

बाबु—-‘सरकारको पुलिसले समातेर लैजान्छ र झेलखानमा थुन्छ ।’

मानबहादुर- ‘सरकार भनेको को हो ?’

बाबु- ‘राजा हो राजा ।’

मानबहादुरको कलिलो बुद्धिले बुझ्यो, यो देशको सबैभन्दा बदमास मान्छे त राजा पो रहेछ ।

अनिद्रामै उज्यालो भयो । शरीरै गहु्रँगो महसुस भयो । मानबहादुरलाई बिछ्यौना छाड्नै मन लागेन । ऊ आज सन्ताउन्न पुगेर अन्ठाउन्न लागेको दिन । समय कहाँबाट कहाँ पुगिसक्यो, ऊ भने जहाँको त्यहीँ र जस्ताको त्यस्तै छ ।

फरक खाली तीन कुरामा छ । ऊ बिहाबारी भएपछि बसाइँँ सरेर पल्लो गाउँमा पुग्यो । दश कक्षाभन्दा माथिको औपचारिक शिक्षा हासिल नगरे तापनि उसले देशदेशावरको इतिहास र राजनीतिबारे बृहत्तर अध्ययन र अनुशीलन गरेको छ । मानिसहरू उसलाई ‘माने’ होइन, ‘कमरेड मानबहादुर’ भनेर सम्बोधन गर्छन् ।

अहिले लोकतान्त्रिक गणतन्त्र नेपालमा आम निर्वाचनको बेला छ । जीवनको यो मुकाममा उसलाई एकपटक संसद्मा पुग्ने इच्छा छ । उसलाई थाहा छ, पार्टीले टिकट दियो भने जितिन्छ । तर, बागी भएर उठ्ने हो भने हार निश्चित छ । उसैले प्रशिक्षण दिएर तिखारेका कार्यकर्ताले विद्रोहलाई सहयोग गर्ने छैनन् । यस्तै तर्कना गर्दागर्दै ऊ निदाएछ ।

मानबहादुरले सपना देख्यो । एउटा साधुजस्तो मानिस आएर उसलाई भनेको थियो, ‘तँ व्यावहारिक हुन सकिनस् माने ! तँ विशुद्ध कम्युनिस्ट हुन खोज्दा चारो खान नपाएको तित्रो बन्न पुगिस् । बास्न जान्ने तर समयको पदचाप ठम्याउन नसक्ने ।

मानिसहरूले केकेविधि गरिसके यहाँ, तँ भने साम्यवादको तिलस्मी महल खडा गर्नमै निमग्न छस् । साम्यवाद मिठो कल्पना हो बाबै । एउटा लोमहर्षक अग्लो उडान । एउटा असान्दर्भिक सुन्दर सपना, जो युगानुयुगसम्म सपना नै रहनेछ ।’

सपनाबीच नै उसलाई कसैले हल्लायो । श्रीमती अभिलाषा ठिंग उभिएर उसैलाई हेरिरहेकी । अभिलाषाको अनुहार गम्भीर थियो ।

‘के भयो ? किन गम्भीर भएकी कामरेड अभिलाषा ?,’ उसले सोधेको थियो ।

‘भाँडमा गयो तपाईंको कामरेडी लफ्फाजी । भीरबाट लडेर खुट्टो भाँचिएकी बुढी गाई समान भएकी छ तपाईंकी यो अभिलाषा । तपाईंको जीवनभरिको कमाइ ‘कामरेड’, ‘मुक्ति’ र तीनबारको जेलयात्राबाहेक के छ ?’

कम्युनिस्टले रुनु हुँदैन, जस्तोसुकै विपत्तिमा पनि मनलाई कठोर र मजबुत राख्नुपर्छ भनेर अरूलाई समेत सम्झाउँदै आएकी कामरेड अभिलाषाका आँखा रसाइरहेका थिए आज ।

उनले आफूलाई संयत र शान्त पार्ने प्रयत्न गर्दै भनेकी थिइन्, ‘बाहिर कामेश्वर काजी तपाईंलाई भेट्न आएको छ ।’

मानबहादुरलाई उठ्नै मन लागेन । ऊ फेरि अतीतमा पुग्यो । दश कक्षामा पढ्दासम्म ऊ उद्भट वामपन्थी भइसकेको थियो । पञ्चायती व्यवस्थाको समय थियो । दाह्रीजुँगा पालेको ऊ जुरेली चरीजस्तै ख्याउटे ज्यान लिएर रनबन घुम्थ्यो । काँधमा थोत्रो झोला र हातमा लौरो थिए, उसका सहयात्री ।

कुन शक्ति र प्रेरणाले त्यो शरीरमा त्यत्रो शक्ति आउँथ्यो ? अहिलेसम्म उत्तर खोज्दै छ ऊ । मानबहादुर लेनिनको त्यागमय जीवनी पढेर अत्यन्तै प्रभावित भएको थियो । धनीमानी परिवारको छोरो भएर पनि लेनिनले सांसारिक सुख र सुविधाको पूर्ण परित्याग गरेका थिए ।

लेनिनको जीवनी पढ्दा मानबहादुर पुलकित र रोमाञ्चित हुन्थ्यो । उसले अध्ययन गर्ने वामपन्थी साहित्यमा बोल्सेविकको अँध्यारो पक्षबारे कुनै उल्लेख थिएन ।

मानबहादुर कहिले कसैको झोपडीमा त कहिले वनको ओडारमा भोकभोकै आश्रय लिन्थ्यो । कहिले कसैको घरमा बन्चरो चलाउने, कहिले स–साना नानी भुलाइदिने र कहिले भकारो सोहोरिदिने ।

कहिले गरिब सुकुम्बासीको भत्केको भित्तो मर्मत गरिदिने त कहिले हलो जोतिदिने । मुखमा सुर्ती च्यापेर थोत्रा चप्पल लतार्दै पागलझैँ भौँतारिन्थ्यो ऊ । कोही भन्थे, ‘सच्चा कम्युनिस्ट भनेको यस्तो हुन्छ । मिठो खानु र राम्रो लाउनु कम्युनिस्टको धर्म होइन । कम्युनिस्टको परम कर्तव्य आत्मत्याग हो । जनताको मुक्तिका खातिर महान् उत्सर्ग नै कम्युनिस्टको शोभा हो । कम्युनिस्टहरू भगवान् त मान्दैनन्, तर आफैँ भगवान्समान हुन्छन् ।’

कोही मानबहादुरलाई एकछाक खान दिन पाउँदा खुसीले धन्य हुन्थे । परन्तु, कोही भने कम्युनिस्ट शब्द सुन्नेबित्तिकै डरले थुरथुर र घृणाले दूरदूर हुन्थे ।

‘कम्युनिस्टले धर्मको नाश गर्छ रे । भगवान्को मूर्ति फोर्छ रे । कम्युनिस्टमा दया, माया, ममता र करुणा हुन्न रे,’ कोही उसको सामुन्नेमै भन्दथे, ‘कम्युनिस्ट भनेको जिउँदो भूत हो । निशाचर हो । अर्काले खाए लाएको देख्न नसक्ने डाहाडे हो । कम्युनिस्टले गरिखानेलाई सामन्त भनेर लघार्छ । अल्छी र आरिसेहरूलाई मित्र बनाउँछ । हान्नु, मार्नु, घिसार्नु, यातना दिनु, लुट्नु र सोझासाझाको बुद्धि भुट्नु नै कम्युनिस्टको सदाचार हो ।’

मानबहादुर नसुनेझैँ गरेर अघि बढिरहन्थ्यो । माया पाउँदा मात्तिने र निन्दा पाउँदा आत्तिने सुविधा उसलाई थिएन । ऊ मनमनै सोच्दथ्यो— मानिसहरूमा चेतनाको कमी भएर यस्तो भएको हो ।

आजभन्दा एक हप्ताअघिको कुरा त हो । मानबहादुर काठमाडौं गएको थियो । ऊ पार्टीको मूलपुरुष धनेश्वरको घरमा पुगेको थियो । भेट्न जानेहरूको अपार भीडका बीचमा उसलाई कुनै घनघोर वनमा बाटो बिराएर हराएजस्तो महसुस भयो ।

मूल्यवान् गाडी चढेर आउने सुकिला र सुट बुटधारी मानिसहरूको माझमा उसले आफूलाई अत्यन्तै होचो र निमुखा महसुस गरयो । निकै बेर कुरेपछि उसलाई भित्र जाने आदेश भयो ।

मूलपुरुष धनेश्वर बडो गर्वसाथ उच्चासनमा विराजमान थियो । मानबहादुरलाई धनेश्वरको छेवैमा उभिएको बडेबडे पाखुरा भएको युवकले बस्ने इसारा गरयो । मानबहादुर लुसुक्क परेर सोफामा बस्यो ।

उसले यसो आँखा घुमाएर हेर्यो । कमरेड नेउलीनाथ मोटाएर कुप्पा भएछ । कमरेड समुद्रमन्थन दुई–तीनजनासँग कानेखुसी गर्दै थियो । कमरेड माण्डवी त झन् रानीजस्ती देखिएकी ।

फेरि, अचानक उसका आँखा एउटा अकल्पनीय व्यक्तिमा पुगे । सपना पो हो कि भनेर उसले आफैँलाई चिमट्यो । अनायास उसका र काजी कामेश्वरका आँखा जुधे ।

काजी मन्दमन्द मुस्कुराइरहेको थियो । काजीले मानबहादुरलाई सोध्यो, ‘कहिले आइपुग्नुभयो ?’ मानबहादुरले रुञ्चे स्वरमा भनेको थियो, ‘हिजो आएँ ।’

मूलपुरुष धनेश्वरका आँखा मानबहादुरमा पुगेर अडिए । मूलपुरुष स्वर्गका देवताहरूको बीचमा इन्द्रझैँ शोभायमान देखिन्थ्यो । समय कति बलवान् ! भाग्य कति बलशाली !

मानबहादुर अझै पनि मत्र्यलोकलाई साम्यवादमय स्वर्ग बनाउने धुनमा मग्न छ । उता, पुरानो साथी धनेश्वर भने इन्द्रासनमा चढिसक्यो । कहाँ ती पचक्क धसिएका इनारे गाला, कहाँ यी कमलका फूलझैँ फक्रेका कपोलहरू । कहाँ ती भोको शरीर लतार्ने झिना तिघ्राहरू, कहाँ यी सुकोमल र स्निग्ध वरद पादपंकजहरू ।

कहाँ त्यो कसैले दया गरेर जडाउरी दिएको मटमैलो स्वीटरले छोपिएको जीर्ण शरीर, कहाँ यो राजसी ठाटले देदीप्यमान पश्चिमा शैलीको सुटमा सजिएको दिव्य र चहकिलो काया । कहाँ त्यो मागेको ठुटो चुरोट, कहाँ यी अनुपम र अमूल्य उपहारहरू ।

‘के छ त मानबहादुर खबरखाबर ?’ मानबहादुरको ‘कमरेड’ पनि हरायो र ‘जी’ पनि तिरोहित भयो । आज एउटा राजा द्रुपद अहंकारको मचानमाथि आरूढ छ भने अर्को ख्याउटे मानव द्रोण बनेर व्यतीत मित्रताको नवीकरण गर्ने असफल प्रयत्न गर्दै छ ।

द्रोणसँग त धनुर्विद्याको हतियार थियो, जो मौकामा काम लाग्यो । मानबहादुरसँग भएको हतियार भनेको बोल्सेविक क्रान्ति, चिनियाँ जनक्रान्ति र साम्यवादसम्बन्धी ज्ञानको भन्डार हो । त्यो भुत्ते खुकुरीजस्तो असान्दर्भिक ज्ञान सिक्न अब कोही आउनेवाला छैन । अब वामपन्थको सैद्धान्तिक र दार्शनिक आयाम केवल काल्पनिक आदर्शवादमा सीमित भएको छ ।

आज उसलाई आफूले व्यतीत गरेको जवानी स्वप्नलोकको तिलस्मी उडानमा रम्दै बित्थामा खेर गएको महसुस भयो । मूलपुरुष धनेश्वरले मानबहादुरतिर मुखातिब हुँदै भनेको थियो, ‘ल सुन मानबहादुर, हाम्रो पार्टीप्रति आकर्षित भएर धेरै महानुभावहरू आउँदै हुनुहुन्छ । उहाँहरू सबैलाई भव्य तवरले स्वागत गरिनेछ । पार्टीले गरेको निर्णयप्रति विमति राख्नेहरू छाडेर गए हुन्छ । अनुशासनहीनता सह्य हुने छैन ।’

पत्नी अभिलाषा फेरि आइन् । ‘बाहिर कामेश्वर काजी पर्खेर बसिरहेको छ । तपाईं आफ्नो आदर्शवादको धङधङी बोकेर बसिरहनुहोस् । उता तपाईंका भाइ कामरेडहरू काजीको पछि लागिसके । आफूलाई निकै भौतिकवादी मान्नुहुन्छ होइन ? अब हेर्नुहोस्, भौतिक सुविधा र सुखका लागि व्यावहारिक बनेका तपाईंका कामरेडहरूको रमिता । आज काजी हाम्रो पार्टीमा प्रवेश गर्दै छ ।’

मानबहादुर बेहोसझैँ बाहिर निस्क्यो । काजी दलानको खाटमा बसिरहेको । अरू कमरेडहरू भने तल गुन्द्रीमा टसाकटुसुक बसेका । उसलाई देख्नेबित्तिकै काजी मुसुक्क हाँस्यो । ‘अभिवादन कमरेड मानबहादुर !’

मानबहादुर अलमलमा पर्यो । अनायासको ‘अभिवादन’ र ‘कामरेड’ को सम्बोधन ! त्यो पनि नामुद भूतपूर्व मण्डले र प्रकाण्ड गुन्डाबाट, जसलाई कुनै समयमा उसको पार्टीले जनताको दुस्मन घोषणा गरेको थियो । कामेश्वरले लामो हात दिँदै भनेको थियो, ‘ल हात मिलाऔँ कामरेड !’

मानबहादुरको हात यन्त्रवत् कामेश्वरको हाततर्फ बढ्यो । अहो, कामेश्वरको त्यो बलिष्ठ हात ! बरा मानबहादुर एकक्षण त कक्रक्कै भयो । कामेश्वरले एउटा कागज निकालेर मानबहादुरको हातमा राखिदियो । मूलपुरुष धनेश्वरको चिठी रहेछ । लेखिएको थियो, ‘आज कामेश्वरजी काजी हाम्रो पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । कार्यक्रममा काजीको न्यानो स्वागत गर्नू ।’

कामेश्वर ‘लौ त दिउँसो भेटम्ला’ भन्दै बिदा भएर गयो । उसको हाउभाउ र शारीरिक छटाले मानबहादुरभित्रको ‘सच्चा वामपन्थ’को मजाक उडाइरहेको थियो । लाग्दथ्यो, हृदयको प्रत्येक स्पन्दनले उसको मनोबल र अस्मितामाथि निष्ठुर कुठार हानिरहेको छ ।

आज मानबहादुरलाई खाना खान मन लागेन । अभिलाषाले सम्झाइबुझाइ गरेर खान बसालिन् । मानबहादुर एकोहोरो मान्छे । साम्यवादको जादुले उसको मन गहिराइसम्म लट्ठ भएको थियो । एउटा यस्तो वामपन्थी, जसले हिंसाको समर्थन कहिल्यै गरेन ।

उसको विचारमा एउटा संक्षिप्त हिंसा तब मात्र सह्य र स्वीकार्य हुन्छ, जब क्रान्ति आमूल परिवर्तनको चरणमा प्रवेश गरोस् । उसलाई अकार्थको हिंसामा कहिल्यै रुचि भएन । ऊ ‘बुर्जुवा शिक्षा बहिष्कार अभियान’ को सक्रिय अनुयायी थियो ।

मानबहादुर सधैँ साम्यवादरूपी रुमानी कल्पनामा रमाउने मान्छे । जसरी वासुदेव कृष्णको अनन्य भक्तले कुनै तर्क र बहसबिना उनैमा तन र मन समर्पण गर्दछ, त्यस्तै समर्पण मानबहादुरको साम्यवादप्रति थियो ।

त्यस्तो आस्था र अटल निष्ठा, जहाँ खण्डन र प्रश्नको कुनै प्रयोजन थिएन । एउटा त्यस्तो समाजको कल्पना, जहाँ योग्यताअनुसारको काम र आवश्यकताअनुसारको माम प्राप्त हुनेछ । एउटा त्यस्तो समाज, जहाँ सरकार हुने छैन । एउटा त्यस्तो सामुदायिक प्रवाह, जहाँ प्रत्येक व्यक्तिले हरेक व्यक्तिको हितको ख्याल गर्नेछ ।

एउटा त्यस्तो जनमानस, जहाँ पुलिस, सेना, अदालत र वकिलको अस्तित्व हुने छैन । एउटा त्यस्तो मानवीय प्रेरणा, जसले सबैलाई स्वस्फूर्त रूपमा कर्मशील, सदाचारी र नैतिकवान् बनाउनेछ । एउटा त्यस्तो प्रगाढ मानवता, जहाँ प्रत्येक व्यक्ति श्रमको सम्मान गर्न उत्प्रेरित हुनेछ ।

मानबहादुरले पत्नीतर्फ हेर्दै भन्यो, ‘जीवन कति विसंगत र धोकेबाज हगि अभिलाषा ! म बाइस वर्षको थिएँ । कहिलेकाहीँ मात्र घर आउने हुँदा प्रायः छिमेकीहरूसँग भेट हुँदैनथ्यो । आमा भन्ने गर्नुहुन्थ्यो–‘यो के महाभारत गर्न थालिस् छोरा ! काजीहरूले तँलाई भेट्टाए भने बाँकी राख्ने छैनन् ।’

मैले भन्ने गर्दथेँ, ‘हेर्नुस् आमा, कुनै दिन यस्तो पनि आउनेछ, जब काजीहरू पनि ठेगान लाग्नेछन् ।’ आमाले भन्नुभयो, ‘त्यो कुनै दिन भनेको के हो, म बुझ्दिनँ । तेरो दिन त के आउला, तर काजीहरूका दिन सधैँ आइरहनेछन् । उनीहरू बाठा छन् । सायद तैँले भनेको ‘कुनै दिन’ पनि काजीहरूकै सुदिन हुनेछ ।’

आमाको अनुमान सही निस्क्यो । पिता कामदेवको निर्देशनमा काजी कामेश्वर र काजी कामध्वज मिलेर मानबहादुरलाई निर्घात कुटे । ‘तेरिमा पाजी कम्युनिस्ट ! सबैलाई बराबर बनाउने भन्दै भुक्दै हिँड्छस् हैन ? काजीहरूलाई ठेगान लाउने विचार छ ? लौ लगा ठेगान ।’

उनीहरूले मानबहादुरलाई रातभरि उल्टो झुन्ड्याएर पिटिरहे । कामेश्वरले तातो चुरोटले डामेको खत मानबहादुरको निधारमा अझै जीवन्त छ । काजीहरूको कहरकै कारण ऊ अर्को गाउँमा बसाइँँ सर्न विवश भएको थियो ।

‘तपाईंले यो चुनावमा पनि टिकट पाउनु हुन्न,’ अभिलाषाका शब्दहरू तीक्ष्ण वाण बनेर निधारको त्यही खत पार गर्दै मथिंगलभित्र छिरे । उसले फेरि टाउको उठाएर पत्नीतर्फ हेर्यो ।

‘कसले पाउँछ त ? सबै साथीहरूले तिम्रो पालो भनेर विश्वास दिलाएका छन्,’ पत्नीले सुदृढ शब्दमा भनिन्, ‘यो चुनावको टिकट काजी कामेश्वरले पाउँछ ।’

मानबहादुरलाई ठूलो पहाडको चुलीबाट तल खसेजस्तो महसुस भयो । उसले मूलपुरुष धनेश्वरको चिठी सम्झ्यो । सायद कामेश्वरको पार्टी प्रवेशको अर्थ बृहत् छ । सायद एक हप्ताअघि मूलपुरुष धनेश्वरको घरमा काजी भेटिनुको रहस्य पार्टी प्रवेशमा मात्र सीमित छैन ।

अभिलाषाले फेरि भनिन्, ‘तपाईंले पार्टीको टिकट पाउनुभयो भने जित्नुहुन्छ । तर, पाउनु हुन्न । यदि, तपाईं बागी भएर उठ्नुभयो भने काजी पनि हार्छ र तपाईं पनि हार्नुहुन्छ । तपाईंले राजनीतिशास्त्र बुझ्नुभयो, तर राजनीति बुझ्न सक्नु भएन । धेरैजनासँग परिचय गर्नुभयो, तर कसैलाई पनि चिन्न सक्नु भएन । आज तपाईं आफैँले निर्माण गरेको अजेय किल्लामा एक्लो र असान्दर्भिक हुनुभयो ।’

मानबहादुरले आज आफंँलाई एक्लो र लाचार महसुस गर्यो । अब के गर्ने ? मनको असीम ताप र वेदना कहाँ पोख्ने ? कम्युनिस्ट बनेपछि कठोर हुन पनि जान्नुपर्छ भनेर दुनियाँलाई दीक्षित गर्ने उसको अवस्था ताप्केको माछोजस्तो भएको छ आज ।

ताप्केबाट भागे पनि खस्ने त आगोमै हो । उसका लागि जितेको काजीभन्दा हारेको काजी ज्यादा खतरापूर्ण हुनेछ । जीवनले आज मानबहादुरलाई एउटा निष्ठुर मुकाममा ल्याएर पछारेको छ ।

कमसेकम ती रुमानी कल्पनाका दिनहरूमा आत्मसम्मान र गरिमा त थियो । मरे पनि देश र जनताका खातिर मरेको मान्छेमा गणना त हुन्थ्यो । अब त मरे पनि ‘निकम्मा कम्युनिस्ट’ मर्यो भन्नेछन् । बाँचे पनि फेरि काजीकै धाक र रवाफको  भुमरीमा परिने निश्चित छ । मानबहादुरको हात अनायास निधारको खतमा पुग्यो ।

मानबहादुर काजी कामेश्वरको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन गयो । नयाँ कमरेड काजी कामेश्वरलाई पार्टीका तमाम कार्यकर्ताले माला लगाएर स्वागत गरे । राजनीतिमा पाखुरा, पैसा र गुन्डागर्दीको ठूलो महत्त्व हुँदो रहेछ ।

कामेश्वरजस्तो हिम्मती र उद्धत चरित्रको मानिस प्रवेश गर्नु भनेको पार्टीको साख बढ्नु हो भन्ने भाष्य प्रख्यात भयो । विचार मिल्नेहरूबीच एकताको सान्दर्भिकताबारे निकै गहन व्याख्यान दिइए ।

व्यावहारिक सत्तावादको यस दौरानमा मानबहादुरको सैद्धान्तिक आदर्शवाद मूल्यहीन हुँदै गएको उसले आज बल्ल चाल पायो । पत्नी अभिलाषाले बरु समयको गति बुझिन्, तर मानबहादुरले बुझ्न सकेन ।

‘उत्तरआधुनिक कामरेड’ कामेश्वरको भाषणमा वामपन्थी आदर्शवाद थिएन । कामरेडलाई वामपन्थी विचारबारे कुनै ज्ञान थिएन र आवश्यक पनि थिएन । उसले भनेको थियो, ‘लौ, अब कसैले मेरो पार्टीलाई टेढो नजरले मात्र हेरोस् त ! हेर्नुहोस् साथीहरू, मेरो त मुख चल्नुअघि हात चल्छ । कोही पनि नडराउनुहोला । आनन्दले आफ्नो काम गर्नुहोस् । पैसा कमाउनुहोस् । दुई दिनको जिन्दगीमा मोज गर्नुहोस् । कुनै डाम्नो निहँु खोज्न आयो भने मलाई सम्झनुहोस् ।’ कर्तल ध्वनीको पररर आवाज परपरसम्म सुनियो ।

भोलिपल्ट बिहानै मानबहादुरलाई भेट्न तीनजना साथीहरू आए । पार्टीले कामेश्वर काजीलाई टिकट दिएछ । साथीहरूको अनुहार निन्याउरो थियो । उनीहरूले मानबहादुरलाई कमसेकम काजीलाई हराउनकै लागि भए तापनि बागी उम्मेदवार बन्न प्रेरित गरिरहे ।

मानबहादुर गम्भीर भयो । अब त अतीतका कुरा याद गरेर रमाइलो मान्ने सान्दर्भिकता समेत समाप्त भएको महसुस भयो उसलाई । उसको अन्तःकरणले भनिरहेको थियो, ‘अब यो गोरखधन्दाबाट छुट्टी ले मानबहादुर ! अब पनि अवाञ्छित तत्त्वझैँ पार्टीको एउटा कुनोमा उपस्थित भएर आधुनिक व्यवहारवादको खप्की सुन्ने कि चुप लागेर आफ्नै झुपडीको कुनामा बस्ने ?’

मानबहादुरको निधारमा मात्र होइन, छातीभित्र पनि घाउ छ । हृदय व्यथित छ र अन्तश्चेतना जलिरहेको छ । आज बल्ल मानबहादुरले राजनीतिक खेलमैदानको निष्ठुर चालबाजी बुझ्यो । उसले प्रशिक्षणमा कार्यकर्तालाई भन्ने गर्थ्यो, ‘तिमीले आफ्नो नियतिको भविष्यवाणी त गर्न सक्दैनौ, किन्तु भविष्य निर्माण गर्न अवश्य सक्छौ ।’ उसले पढाएको पाठ कार्यकर्ताले बरु राम्ररी बुझेछन् ।

मानबहादुरले बागी उमेदवारी दिएन । ऊ निरपेक्ष भएर बस्यो । अबदेखि राजनीतिबाट अलग्गै बसेर एउटा परित्यक्त वाम विचारकको नाताले समाजसेवा गर्ने अठोट गर्यो उसले । मानबहादुर पूर्ण तन्मयतासाथ खेतबारी र गोठको काममा सरिक हुन थाल्यो । उसमा यस्तो परिवर्तन आयो, मानौँ उसलाई राजनीतिमा कुनै रुचि नै छैन ।

अब कसैको जय–पराजयको हिसाब–किताब राख्नुको प्रयोजन थिएन । जीवनमा एउटा ढोका बन्द हुँदैमा संसार रित्तो हुँदो रहेनछ । कर्ममा विश्वास गर्नेका लागि अनेकौँ मार्गहरू सधैँ खुला हुँदा रहेछन् । कर्मयोगी मानबहादुर आफ्ना लागि असान्दर्भिक ठहरिएको राजनीतिको खेलमैदान छाडेर खेतीपातीको सान्दर्भिक मैदानमा प्रवेश गर्यो ।

विजयी भएको कामेश्वर मानबहादुरलाई भेट्न उसको घरमै पुग्यो । काजीले मानबहादुरले मात्र सुन्ने गरी कानैमा भनेको थियो, ‘तिम्रो कम्युनिस्ट आदर्श र सिद्धान्तलाई भुटेको मकै र भटमासमा मिसाएर खानू ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->