शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

निजी विद्यालयलाई गाभ्दै जागेको महेन्द्र आधारभूत : जसले मनाउँदै छ हीरक जयन्ती

निजी विद्यालयलाई गाभ्दै जागेको महेन्द्र आधारभूत : जसले मनाउँदै छ हीरक जयन्ती


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७९, सोमबार

पोखरा/ अहिले सरकारी विद्यालयप्रति अभिभावकको चासो छैन् । शैक्षिक गुणस्तरको कमीका कारण अधिकांश सरकारी विद्यालयमा विधार्थी नै हुँदैनन् । विद्यार्थी नभएकै कारण कति विद्यालयले एक अर्कासँग गाभिनु प¥यो । जुन पीडाबाट कास्की पनि अछुतो रहेन् । कास्कीका केही सामुदायिक विद्यालयबाहेक अन्य विद्यालयले शैक्षिक गुणस्तर दिन सकिरहेको छैन् । अभिभावकले उज्वल भविष्यका लागि निजी विद्यालयलाई नै रोज्ने गरेका छन् । गुणस्तर खस्किदो हुँदा सरकारी विधालयले विद्यार्थी नै पाउँदैनन् । यही समस्यामा गुज्रिएको विद्यालय हो– महेन्द्र आधारमूत विद्यालय । कास्कीको अन्नपूर्ण गाउँपालिका १ नागडाँडा स्थित विद्यालय सात वर्षअघि झण्डै सकिएको थियो ।

कक्षा पाँचसम्म पढाइ हुने विधालयमा दुई दरबन्दी शिक्षक तथा ८ जनामात्रै विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालय कास्कीले मर्ज गर्नका लागि पत्राचार ग¥यो । २०७२ सालमा विद्यालयको साख घटेपछि विद्यार्थी पनि रित्तिए । २०१६ सालमा स्थापना भएको स्कूलका विद्यार्थीमध्ये एक पूर्वप्रधानमन्त्री प्रचण्ड समेत हुन् । प्रचण्डले शिशु र एक कक्षा सोही विद्यालयमा पढेका थिए । विद्यालय नै नरहने अवस्था आएपछि प्रधानाध्यापक ढकराव सुवेदीले विद्यार्थी आकर्षित गराउन अनेक उपाय सोचे । उनले विधार्थीलाई निःशुल्क पोशाक, स्टेसनरी तथा खाजाको व्यवस्थापन गराउने गरी विभिन्न सहयोग खोजे र ल्याए । त्यसको एक वर्षमै विद्यालयले नयाँ रुप लियो ।

८ जनाबाट बढेर एक्कासी ७० जना विद्यार्थी भए । त्यतिमात्रै होइन,निजी विद्यालयको चुरीफुरी चल्दै गर्दा उल्टै निजी विद्यालयलाई नै सरकारीमा मर्ज गराइयो । विद्यार्थीको आकर्षण बढेपछि सोही स्थानमा रहेको सनराइज एकेडेमी महेन्द्रमा मर्ज हुन पुग्यो । एक वर्षमै विद्यालयमा परिवर्तन ल्याएको महेन्द्रले अहिले हीरक जयन्ति मनाएको छ ।

विद्यालय ६३ औं वर्षमा प्रवेश गर्दैगर्दा सप्ताहव्यापी कार्यक्रमसहित हीरक जयन्ती मनाउन लागेको हो । आइतबार विद्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानाध्यापक सुवेदीले हीरक जयन्ति मनाउन लागेको जानकारी दिएका छन् । विद्यालयले पालिकास्तरीय प्रा.वि हाजिरी जवाफ प्रतियोगिता, अन्तर माविस्तरीय वक्तृत्वकला, निमावि तरीय निबन्ध, नृत्य र गायन प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ, ब्याडमिन्टन, दौड प्रतियोगिताका साथै अभिभावक शिक्षा, नेपाली अंग्रेजी पढाइ प्रतियोगिता, प्रभातफेरी, रत्यौली, भजन प्रतियोगिता गर्दै महोत्वस मनाउँदैछ ।

हीरक जयन्ति मनाउनुको उदेश्य विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थी संख्यामा थप वृद्धि गर्ने रहेको जानकारी प्रधानाध्यानक सुवेदीले दिए । उनका अनुसार उक्त कार्यक्रमबाट एक करोड आम्दानी हुने अनुमान छ । आम्दानी भएको रकम मध्ये ७० लाख अक्षय कोषमा राख्ने र ३० लाख विधालयको भौतिक विकासमा खर्च गरिने योजना रहेको उनले बताए । हाल विधालयमा ९ कर्मचारी तथा एक सय २७ जना विद्यार्थी रहेका छन् । मंसिर २२ गतेदेखि सुरु भएको सप्ताहव्यापी हीरक जयन्ती २८ गतेसम्म चल्नेछ । जहाँ विद्यालयका पूर्वविद्यार्थी एवं पूर्वप्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->