पोखरा/ पोखरा महानगरपालिका–१३ मा नहरले बगाएर एक्कासी एकजना महिलाले ज्यान गुमाएकी छन् ।
पोखरा–१३ दुईकुलाको मुहानमा रहेको टास्क हाइड्रोपावरले प्रयोग गर्दै आइरहेको सिंचाइको नहर एक्कासी खोलिदिँदा पानी निकाल्दै गरेकी कञ्चनटोलकी ४५ वर्षीया मिनाकुमारी केसीको बगेर मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले टास्क हाइड्रोपावर नजिकै केसीको शव फेला परेको जानकारी दिए । आइतबार करिब साढे पाँच बजेको समयमा विजयपुर खोलाको बगरमा शव भेटिएको हो । वडा प्रहरी कार्यालय रामबजाबाट प्रहरी निरीक्षक किरण राउतको कमाण्डमा खटिएको टोलीले शव निकाली पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्तपाल) लगिएको हो ।
आइतबार अपराह्न बारीमा पानी हाल्नका लागि डोरीको सहायताले पानी निकाल्दै गर्दा एक्कासी नहर आएपछि बगाउँदा उनको मृत्यु भएको स्थानीयले बताए । उनी प्याजमा पानी हाल्न गएकी थिइन् । नहर सुकेको र भाडोमा डोरी बाँधी पानी भर्दै बारीमा हाल्दा एक्कासी नहर खोलिदिएपछि उनलाई पनि बगाएको उनका देवर शिवा केसीले जानकारी दिए ।
यस्तै सिंचाइका एक कर्मचारीले हाइड्रो पावरलाई बारम्बार दुर्घटनाका बारेमा जानकारी गराएपछि वेवास्ता गर्दै आएको बताए । ‘मान्छे मरेको यो पहिलो घटना हो तर त्यहाँ पशु–चौपाय कति मरेमरे । यो बारेमा हामीले पटकपटक सचेत गरायौं जोखिमबारे पनि भन्यौँ, जहिले हुन्छ भन्छ तर काम गरिदिन्न’, उनले भने ।
सिंचाइ विभाग जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीकी सूचना अधिकारी इन्जिनियर गीताञ्जली आचार्यले घटनाबारे आफूहरु अनविज्ञ रहेको बताइन् । उनले सिंचाईका लागि रहेको नहर बन्द र खुल्ने समयको सिमा नहुने बताइन् । उक्त दिन सिंचाइले गेट बन्द नै राखेको तर हाइड्रोपावरको कारण दुर्घटना भएको बताइन् । यो विषयको बारेमा बुझेर समस्या समाधानका लागि अघि बढ्ने उनले बताइन् । ‘हामी त निश्चित समयका लागि आउने कर्मचारी हौँं । हिजोको घटनाको बारेमा तपाईँहरुले भनेपछि मात्रै थाहा भयो ।
घटनाबारे हामी बुझेर पछि कुरा गर्नेछौं’ उनले भनिन्, ‘समस्याको समाधानका लागि के कसरी जान सकिन्छ सुझावसहित हामी अघि बढ्ने छौं ।’घटनाको अनुसन्धानको लागि कास्की निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालको कमाण्डमा ७ जनाको टोली खटिएको र अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
हाइड्रोपावरको मनलाग्दी छ : जनप्रतिनिधि

पोखरा महानगरपालिका १३ का वडाअध्यक्ष किरण बरालले हाइड्रो पावरको लापरवाहीका कारण घटना घटेको बताए । उनले पटक पटक हाइड्रो पावरसँग कुराकानी गरे पनि उनीहरुले समस्या समाधान कहिल्यै नगरेको सुनाए । उक्त स्थानमा यसअघि मानवीय क्षति नभएपनि पशुचौपायाहरुको मृत्यु भएराखेको बताए । ‘हामीले त्यो जोखिमपूर्ण छ भन्दै हाइड्रो पावरसँग पटकपटक कुराकानी गरेका छौं । निर्वाचित भएर आइसकेपछि पनि स्थानीयको समस्या तथा गुनासाहरु लिएर २–३ पटक हामी छलफलमा गएका छौं । तर, त्यसलाई उहाँहरुले व्यवास्ता गर्दै आउनुभएको छ’ उनले भने,‘ यो सरासर मनलाग्दी हो । सिंचाइ र उहाँहरु (हाइड्रो पावर) को चरम लापरवाही छ । बर्खाको समयमा पनि नहरले निकै दुःख दिन्छ । हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । छिटोभन्दा छिटो कारवाही गर्नुपर्छ ।’





