शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

वृद्धाको धनमाल चोर्ने महिला पक्राउ

वृद्धाको धनमाल चोर्ने महिला पक्राउ

पहिला सम्बन्ध बनाउने परिवारका सदस्य नभएको मौका छोपी चोरी गर्ने ।


  • विजय नेपाली
  • पुष २ २०७९, शनिबार

पोखरा/ पोखरा महानगरपालिका ४ गैह्रापाटनकी ७९ वर्षीया लक्ष्मी कोइराला जेठ १८ गते घरमा एक्लै थिइन् । बिहानको करिब दश बजेको समय थियो । बुहारी माइत अनि छोरा क्याम्पस गएका थिए । घरको आगनमा बसेर जाउलो खाँदैगर्दा एक अपरिचित महिला आइपुगिन् । ती महिलाले छोरा–बुहारीबारे सोधिन् छोराबुहारी बाहिर गएको भनेपछि भलाकुसारी गर्न थालिन् ।

छोरा बुहारीसँग भेट्नुपर्ने भन्दै ७९ वर्षीया वृद्धाको घाँटी मर्सान थालिन् । घाँटी मर्सादै गर्दा कोइरालाले पर्दैन भनिन् । केही समय मुसारेपछि छाडिन् । वृद्धापनि उठ्ने क्रममा सिक्री खस्यो । त्यसपछि सिक्री लिएर महिला भागिन् । कोइराला सुनाउँछिन्, ‘म जाउलो खान लागेको थिएँ । आएर बोली अनि पानी ल्याऊ भनी । पानी खाइ । छोरा बुहारीलाई भेट्नुपर्ने थियो मेरो साथी हो भनेपछि मैले भने बुहारी माइत गइछ, छोरो कलेज गछ भेट्न पर्ने भए भोली आइज भनेँ’ त्यसैमा थपिन्, ‘मेरो घाटी मुसारिराख्न पर्दैन । मेरो छोरा बुहारीलाई पनि मैले मुर्सान दिएको छैन् । तैंले पनि न छो भनेँ । बटारिएको रहेछ भन्दै सिक्री मिलाएजस्तो गरी । मेरो सिक्रि फुकालेर नक्कली लगाइदिइ त्यो जोडेको पनि थिइन् ।

उठ्ने बेलामा त सिक्री खस्यो अनि म पछिपछि दगुरे त्यसपछि दगुरी..। ’ पछिल्लो समय पोखरामा यस्ते प्रकृतिका धेरै घटना घटेका छन् । सिक्री चोरेर भागे लगत्तै कोइरालाका नाती र छोरीलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगिन् । कोइरालाको घरदेखि करिब ५० मिटरको दूरीमा पछर्, कास्की प्रहरी कार्यालय । घटनामा सिक्री लुटेर भागेकी महिलाको हुलिया सिसिटिभी फुटेजमा स्पष्ट देखिएको थियो । विगत जेठ यता कास्की प्रहरीलाई सुन चोरीको घटना टाउको दुःखाइको विषय बनेको थियो । कोइरालाको दुई तोलाको सिक्री चोरी भएको थियो ।

वृद्धा महिलाहरुबाट घरमा परिवारको अन्य सदस्यहरु नभएको मौका पारी ललाई फकाई गर्दै गफमा भुलाई घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको सुनका गहना तथा नगद चोरी गरेको भन्ने आधा दर्जनबढी घटना कास्की प्रहरीमा दर्ता भएको थियो । सबै घटनाको प्रकृति एकै थियो । तिनै घटनामा संलग्न रहेकी पर्वत मोदी गाउँपालिका ६ घर भइ हाल पोखरा महानगरपालिका ४ गणेशटोली बस्ने ३४ वर्षिया महिला टीका श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

करिब सात महिना अघिबाट सुरु भएको प्रहरीको अनुसन्धानले अन्ततः आरोपित महिलालाई प्रमाणसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले लामो समयपछि सफलता हात पारेको जानकारी दिए । उनले चोरीका घटना बढ्दै गएपछि अनुसन्धानलाई तीब्रता दिएपनि पक्राउ गर्न समय लागेको सुनाए । उनका अनुसार विगत पाँच/सात महिनादेखि पोखराको फुलबारी, रानीपौवा, रामबजार तथा नदीपुर गैह्रापाटन एरियामा दिउँसोको समयमा चोरीका घटना भएको निवेदन परेको थियो ।

‘चोरी पनि कस्तो खालको भन्दा दिउँसोको समयमा घरमा एउटा वृद्धा महिलाहरुमात्रै भएको समयमा कुनै बहाना बनाएर कुनै चिनजानको नाता लगाइ जाने, बस्ने कुरा गर्ने र नजिकको हुने र धेरैजसो ठाउँमा चाहिँ नक्कली गहना लगाइदिने र सक्कली गहना चोरी गरेर फरार भएको अवस्था थियो’ उनले भने, ‘हामीले विशेष टोली बनाएर अनुसन्धान ग¥यौ । निकै लागिपरेका थियौं तर सफलता हात लागेको थिएन् ।

अनुसन्धानको दायरालाई अmभ साघुँरो बनाउँदै गयौं । हामीसँग हुलिया थियो । विभिन्न सिसिटिभी फुटेजहरु पनि थियो । मान्छेको पहिचान गर्नेसम्म पुगेका थियौं । अहिले हामीले उसको घरमा चोरीका सामानसहित पक्राउ गर्न सफल भएका छौँ ।’

प्रहरीले बुधबार पक्राउ गरेको उनी विरुद्ध थप अनुसन्धानका लागि मंसिर २९ गते बिहिबार चोरी भएका सामान सहित उनलाई जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान अघि बढाएको छ । उनलाई पक्राउ गरेपछि मात्रै चारवटा निवेदन उनी विरुद्ध आएको छ । यसमा अझै कति थपिने हो यकिन नभएको खड्काले बताए । खड्काले अन्य कोहीको चोरी भएको भए प्रहरीमा निवेदन दिन आग्रहसमेत गरेका छन् ।

खड्काका अनुसार निवेदन दिनेमा पोखरा ११ रानीपौवाकी ७८ वर्षिया दुर्गा कुमारी पाध्यको सुनको सिक्रि १, तिलहरी १, झुम्का १ जोर, पञ्चरत्ने बाला–२, औठी–३ र टप १ जोर चोरी भएको हो । यस्तै पोखरा १३ पाटनवेशीकी ८३ वर्षीया रिखीमाया सापकोटाको सुनको सिक्री १ र औठी १ थान चोरी भएको हो ।

पोखरा १२ माटेपानीकी ७० वर्षीया तिल कुमारी थापाको सुनको बाला २ जोर चोरी भएको हो । पोखरा १२ उपकार मार्गकी ९० वर्षकी शान्तिमाया गुरुङको सुनको सिक्री १ थान चोरी भएको हो । पोखरा ४ गैह्रापाटनकी ७९ वर्षिया लक्ष्मी कोइरालाको सुनको सिक्री १ थान चोरी भएको हो ।

पोखरा ११ फुलबारीकी ८७ वर्षीया ठग कुमारी महत क्षेत्रीको सुनको सोवकी १ थान, औँठी १ थान र नगद रु. ५० हजार रुपैयाँ, पोखरा १५ गलेश्वर मार्गकी ५४ वर्षीया सीतामाया गिरीको सुनको मंगलसुत्र १ थान, पोखरा २७ की ६५ वर्षीया मधुमाया पौडेलको सुनको मंगलसुत्र १, झुम्का २, चुरी १, औठी २, चन्द्रामा १, तिलहरी १ थान र नगद रु. ३० हजार तथा पोखरा १० मिलन टोलकी ८२ वर्षीया डुमादेवी थापाको ६ तोलाको सुनको बाला १ थान चोरी भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->