आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ढोकाहरु

ढोकाहरु


  • जाना स्लोनिवस्का
  • पुष २ २०७९, शनिबार

मनखुशी ढोका खोल्नु र बन्द गर्नुमा पनि चरम आनन्द थियो, शक्तिशाली छु भन्ने मीठो भ्रम पनि । जबजब म ढोका खोल्थें, भ¥याङछेउको झ्यालको प्रतिबिम्ब नजिकैको ऐनामा देखिन्थ्यो ।

हरेक साँझ जिजुआमाले अगाडिको ढोकामा ताल्चा लगाउँथिन्। यो उनको आफ्नै लम्बेतान संस्कार थियो । लाग्थ्यो, उनी अपरिचित पाहुनाबाट हामीलाई जोगाउँथिन् । त्यस्तै पाहुना त थिए जो सन् १९३७ मा उनको घरभित्र पसेका थिए र उनका पतिलाई सधैंका लागि अपहरण गरी लगेका थिए । जति कोशिश गरे पनि हजुरआमाले त्यो घटना कहिल्यै भुल्न सकिनन् र भनिरहन्थिन्‘त्यो साँझ तिनीहरूले ढोकाको घण्टी बजाए । गल्ती भयो होला कसैको, बाबाले भन्नुभयो । तुरुन्तै ढोकाछेउबाट फर्किनुभयो । मेरो गालामा विदाईको चुम्बन गर्नुभयो । अनि ती अपरिचितसँगै बाहिरिनुभयो । त्यसपछि फेरि कहिल्यै देखिन बाबालाई ।’

यो घटना लेनिनग्राडमा घटेको थियो । युद्धअघि हजुरआमा र जिजुआमा त्यहीं बस्दैथिए । सानैदेखि अप्रत्यासित रुपमा ढोकाको घण्टी बजेको भावले भयभीत हुनथालें म पनि । त्यसैले जिजुआमाले नै सधैं बाहिरपट्टिको ढोका राम्ररी बन्द गरे, नगरेको निरीक्षण गर्थिन् । कालो रङ पोतिएको थियो त्यो ढोकामा । उनी दुई पटक तालाभित्र चाबी घुसारेर मात्र चित्त बुझाउँथिन् । बलियो सिक्री झुण्ड्याउँथिन् अनि अर्को सेतो ढोका पनि बन्द गर्थिन् तर अर्कै चाबीले। यसरी ढोका बन्द गरेपछि बाहिरबाट कसैले खोल्न सक्दैनथ्यो । ढोका बन्द भएको देख्दा आमालाई भने झोक चल्थ्यो । उनी त ढिलो गरी घर फर्कन मन पराउँथिन् । ढिलो फर्किँदा आमाले सबैको निद्रा बिथोल्थिन् नभए उनी नफर्केसम्म जिजुआमा जाग्राम रहन बाध्य हुन्थिन् ।

हामी सबैसँग आ–आफ्नै चाबी हुन्थ्यो । लामो पातलो चाबीले ठुलो आवाज निकाल्थ्यो, कालो ढोका खोल्थ्यो त्यसले । छोटो चाबीले चाहिं मसिनो आवाज निकाल्थ्यो । तलको गेट खुल्थ्यो त्यसबाट । आयाताकार आधुनिक चाबी थियो पत्र मञ्जुषामा लगाइएको । त्यसबाट कुनै आवाज निस्कँदैनथ्यो । सेतो ढोकाको चाबी जिजुआमासँग मात्र हुन्थ्यो । दिउँसोको समयमा उनले चाबी कता लुकाउँथिन्, कसैले पत्तो पाउँदैनथ्यो ।

ढोका देख्दै एकदम रिस उठ्थ्यो मलाई । चाबीले दुई पटक घुमाएर बन्द गरेको, सिक्रीले बाँधेको अनि आग्लो समेत लगाइएकोले उकुसमुकुस हुन्थें म । यस्तो लाग्थ्यो म चौतर्फी घेराबन्दीमा परेको कुनै सैन्यशिविरमा छु । मानौं एक पटक मात्र चाबीले बन्द गर्नु भनेको खतरा निम्त्याउनु हो अनि बाह्य आक्रमणसामु निरीह सावित हुनु हो ।

कालो रङको बाहिरी ढोका हल्का खालको थियो । मनका भडास निकाल्न ढोकामा बेस्सरी हिर्काउन पाउँथे म । हजुरआमा भन्ने गर्थिन्,‘घरबाट बाहिर निस्कनुअघि न्यानो कपडा लगाएर जानू ।’ उनीदेखि म साह्रै रिसाउँथे । चियाउन मिल्ने गोलो एउटा प्वाल थियो ढोकामा, सादा सिसाको । भित्रबाट फाटेको कपडाले छोपिएको थियो । जिजुआमा त यसमा पनि खतरा नै देख्थिन् । पहिलो खतरा–सानो पर्दा माथि सार्नेबित्तिकै पारिपट्टिको मान्छेले चाल पाउँथ्यो–खोल्नासाथ उसमाथि निगरानी भइराछ अथवा घरभित्र कोही त पक्कै छ । अर्को खतरा त्यही प्वालबाट उसले आक्रमण गर्ने सम्भावना रहन्थ्यो ।
‘अपरिचित मान्छे हो कि आफ्नै मान्छे हो, यो थाहा पाउन पहिले सानो प्वालबाट चियाएर हेर्नू’, उनले मलाई सिकाइन्,‘अपरिचित मान्छेले सिसाबाट धातु छिराउन सक्छ अनि तिम्रो आँखाको ज्योति गुम्नसक्छ ।’
यसरी आउने अपरिचित सधैं पुरुष नै हुन्थ्यो ।

कसैले घण्टी बजायो भने हामी बार्दलीमा उक्लिन्थ्यौं र मूल ढोकामा को छ हेथ्र्यौं । कुनै अपरिचित भएमा चिच्याउँथ्यौं, ‘कसलाई खोजेको ?’ त्यो हाम्रो तर्साउने तरिका थियो । आवाज कहाँबाट आइरहेछ, तल सडकमा उभिएको मान्छेले तुरुन्तै भेउ पाउँथेन । हडबडमा अन्धो मान्छेझैं प्रश्नकर्तालाई खोज्न थाल्थ्यो । ऊभन्दा माथि अग्लो ठाउँमा रहेकोले हामीलाई फाइदा थियो । ‘त्यस्तो नाम गरेको यहाँ कोही पनि छैन’ भनेर सजिलै तर्किन सक्थ्यौं हामी ।

घरीघरी गडबड भइराख्थ्यो । हजुरआमा र जिजुआमालाई ज्यादै तनाव हुन्थ्यो । मानिलिनुस् पाभेल इभानोभिच पेत्रोभ नाम गरेको मान्छेको खोजीमा कोही आयो । असामान्य परिस्थिति सिर्जना हुन्थ्यो एकाएक। हजुरआमा र जिजुआमाको आवाजमा तनाव झल्किन्थ्यो । धेरै दिनसम्म उनीहरू सोचिबस्थे– ‘अपरिचित त्यो मान्छे को थियो र यो केको संकेत हो ? पक्कै नराम्रो केही घट्नेछ ।’

शहरको केन्द्रमै थियो हाम्रो बसाइ । रातको समयमा कसै न कसैले ढोका ढक्ढकाइरहेको हुन्थ्यो । हामी त ओछ्यानमा पल्टिसकेका हुन्थ्यौं । हठात् निकै ठुलो आवाजमा घण्टी बजिरहन्थ्यो। मानौं यमदूत नै ढोकाबाहिर उभिएको छ, विगुल बजाउँदै । मानौं हाम्रो स्वाभाविक दैनिकीलाई चक्कुजस्तै भयानक वर्तमानले क्षतविक्षत पार्न खोज्दैछ कोही । सर्वसाधारणमाथि शासकहरूकै पूर्ण नियन्त्रण थियो । आफूखुशी जे गर्न पनि उनीहरूलाई छुट थियो– अपहरण, हत्या या यातना जे मन लाग्यो त्यही ।

रात्रिकालीन सेतो ढोका पीडादायी थियो, उदासी बढाउने खालकोे । यो ढोका यताउता सार्दा यसको कब्जामा भार पर्थ्यो, पट्ट्यारलाग्दो आवाज निस्कन्थ्यो। यसमा चियाउने प्वाल थिएन। लामो चाबी तालाभित्र घुसारेर घुमाउन सजिलो थिएन । मध्यरातमा ब्यूँझिएको बेला सेतो ढोका बन्द भएको देख्दा निराशा र उकुसमुकुसभावले घेथ्र्र्यो मलाई । एकनासको यो ढोकाको पल्लाले बाँझो जमीनको याद दिलाउँथ्यो जसलाई रुसी भाषामा ‘ग्लुखोमान’ भनिन्छ । विशाल अनि टाढाको साइवेरियाको प्रतिनिधित्व गथ्र्याे यो ढोकाले । आरोपीहरूलाई लामो यात्रापछि पु¥याइने ठाउँ, अन्तहीन हिउँले ढाकिएको भू िम। अनि हतकडीको आवाजको अनुगुञ्जन पनि थियो यो ढोकामा ।

मनखुशी ढोका खोल्नु र बन्द गर्नुमा पनि चरम आनन्द थियो, शक्तिशाली छु भन्ने मीठो भ्रम पनि । जबजब म ढोका खोल्थें, भ¥याङछेउको झ्यालको प्रतिबिम्ब नजिकैको ऐनामा देखिन्थ्यो ।

पहिले नै भनिसकें मैले, कालो र सेतो ढोकाको बीचमा एउटा सिक्रीले बाँधिएको थियो । यसबाट दिउँसोको अल्छिलाग्दो समयमा झ्यालबिनाको भान्साकोठामा थोरै भए पनि उज्यालो छिर्थ्यो, केही हावा चल्थ्यो । त्यही सिक्रीको बीचका प्वालबाट हावासँगै हल्ला पनि भित्रिन्थ्यो तर मान्छे पस्न सक्दैनथ्यो । अनिश्चितताको सही झल्को थियो त्यो । अवरुद्ध समयको चिन्ताग्रस्त भाव पनि । यस्तो अनिश्चिततालाई चिर्ने अवसरको खोजीमा रहन्थें म । त्यसैले ढोका पूरै खोलिदिन्थें । यसबाट भान्सामा मजाले हावा छिथ्र्यो ।

अनि चिसो भयो भन्दै कहिले ढोका ड्यामडुम थुनिदिन्थे । अनि त उसिनी राखेको गाँजर होइन, जङ्गलको गन्ध फैलिन्थ्यो भान्साभरी। तुरुन्तै म ढोका बन्द गर्थेँ । निमेषभरमै मनभित्र ‘घरभित्र हामी सुरक्षित छौं’ भन्ने बाल्यकालको विश्वास पलाउँथ्यो ।जिजुआमालाई भने त्यो सिक्रीमा विश्वासै थिएन । ढोका र बाहिरी संसारबिचको सिक्री जबजब तन्किन्थ्यो उनकै करबलमा बाहिरको आवाजतिर कान थाप्थ्यौँ । कोही आएर तार काट्ने औजारले यसलाई दुई टुक्रा पार्ने हो कि भन्ने डर थियो उनलाई ।

कहिलेकाहीं त भ¥याङमा कसैले छिटोछिटो पाइला चालेको आवाज आउँथ्यो । अर्कोपट्टि कुनै आकृति पनि चलमलाउँथ्यो। एकपट प्वालभित्र दुईओटा नरम औंला सिक्रीको बन्द भागको खोजीमा हरसम्भव उपाय गर्दै चलायमान थिए । यसको मुख पहिल्याउन खोज्दा जो कसैको पसिना छुट्थ्यो। हात बढाएर भित्रबाट सहयोग गर्नुको सट्टा अलिअलि साथ दिएझैं गरें मैले । बाहिरी हातहरू अरू संघर्षरत थिए अनि सिक्री खोल्न प्रयासरत । म भने आनन्द मान्दै नाचिरहेको थिएँ । सिक्रीको गाँठो फुस्क्यो अनि ढोकामा तुर्लुंग झुण्डियो । ढोका ह्वात्तै खुल्यो एउटी देवी प्रकट भइन् त्यहाँ– उत्साही, हल्लाबाज अनि जीवन्त। उनी मेरी आमा थिइन् ।

ढोका बन्द गर्ने संस्कार उसैगरी दोहोरिरहेको थियो, कुनै परिवर्तन थिएन त्यसमा । सोभियत संघको जग जति हल्लिंदै गयो, उति जिजुआमाले जिउज्यान लगाउँथिन् ढोकामा । प्रष्टसँग नभने पनि मलाई लाग्छ उनी सोभियत सत्ताको समर्थक कहिल्यै भइनन्, न त यो सत्तालाई हटाउन लागिपरेकाकै अन्धभक्त । सत्ताको विशेष प्रवृत्तिलाई बुझ्ने मान्छेमध्येकी थिइन् उनी भन्ठान्छु म ।

मानिस त्यो सत्ताको निगरानीमा बस्न बाध्य पारिन्छन् जुन सत्ताले उनीहरूको घरको झ्यालबाट चियाउन थाल्छ । सन् १९३७ मा जे घट्यो, त्यसले जीवनभर गहिरो चोट दियो जिजुआमालाई। जबजब ल्वोभका सडकमा स्वतन्त्रताका पक्षधरहरू ओइरिन्थे, जबजब साउतीको स्वर चर्को नारामा वदलिन्थे, रातको समयमा अझ सुरक्षित किसिमले ढोका बन्द गराउन तल्लिन हुन्थिन् जिजुआमा ।

संसार छाड्नु एक वर्ष अघिदेखि अकस्मात् रुसी भाषा छोडेर युक्रेनी बोल्न थालिन् हाम्री जिजुआमा । ताला मार्ने संस्कारमा पनि नयाँ आयाम थपियो, अझ मजबुत बन्यो त्यो उपक्रम । हजुरआमाले ताला लगाउने नियमित प्रक्रिया सम्पन्न गर्नासाथ जिजुआमाले मैला कपडाले भरिएको डोको ढोकामा ढेसाउँथिन् । यो क्रम निरन्तर चलिरह्यो, यसको प्रभाव पनि राम्रै देखियो । युक्रेनी राष्ट्रवादीलाई उनी ‘वान्डेराका मान्छे’ भनी सम्बोधन गर्थिन् ।

उनीहरूबारे गफिदै गर्दा पनि ताला मार्ने यही उपक्रम दोहोरियो। उनी र म मात्र भएको बेला मलाई सुनाउँथिन्, सन् १९४४ मा तिनै राष्ट्रवादीहरू चढेको रेलमा उनी पनि ल्भोभतिर जाँदैथिइन् । जिजुआमा निकै डराएकी थिइन् उनीहरूदेखि, जर्मनहरूसँग जत्तिकै । अहिले पनि उसरी नै सोच्छिन् उनी। उनी चढेको रेलको डिब्बामा घुस्न खोज्दैथिए ती राष्ट्रवादी। झ्यालबाट बाहिर हेर्दा उनकी नातिनी अर्थात् मेरी आमाले तिनीहरूको अगुवाई गरिरहेको देखिन् । मेरी आमासँग जिजुआमा नबोलेको वर्षौं भइसकेको थियो । गायिका बन्ने इच्छा थियो आमाको, जिजुआमाले भनेको टेर्थिनन् उनी। अनि स्वतन्त्र युक्रेनको पक्षमा जिजुआमाको आदर्श विपरीत अघि बढिरहेकी थिइन् मेरी आमा । मैला कपडाको डोको खासमा वर्षौंदेखि जिजुआमा र आमाले एक अर्काविरुद्व ठड्याएको अवरोधको प्रतिक बनेको थियो । त्यतिबेलादेखि नै हो जिजुआमाले भाषाको माध्यमबाट मलाई तर्साउने अभ्यास गर्न थालेको । उनी हाम्रो सभा कक्षमा पर्खिबस्थिन्, आफ्नो शरीरले मेरो बाटो रोक्थिन् ।
‘रुसी भाषामा चर्को स्वरले नबोल त’, उनी मलाई धम्क्याउँथिन्,‘तैले चाल पाउनुअघि नै तँलाई घिसार्दै एकान्त आँगनमा पु¥याउनेछन् अनि यातना दिनेछन् ।’ बेलुकापख नीलो÷पहेंलो झण्डामा बेरेर मेरी आमाको मृत शरीर घर ल्याइयो । जिजुआमाले सधैंझैं अगाडिको ढोका बन्द गर्ने उपक्रममा ध्यान दिइनन् त्यो साँझ। ढोका राम्ररी बन्द गरिएको थिएन। आत्मसमर्पणको अभिव्यक्ति थियो त्यो उनको । जिजुआमाले सक्दो कोशिश गरेकी थिइन् तर पनि उनीहरू आए र उनको संसारलाई ध्वस्त पारिछाडे ।

अर्को पटक मलाई सोधिन्,‘कालजयी युक्रेनी कविता ‘टेस्टामेन्ट’ कण्ठै छ नि ? महिला र बालबच्चालाई उनीहरू पक्रेर घिसार्दै सुनसान ठाउँमा पु¥याउँछन् अनि त्यही कविता आफैं सम्झेर सस्वर वाचन गर्न लगाउँछन् । अलिकति पनि गल्ती भयो भने तँलाई बलात्कार गर्छन् र यातना दिन्छन् ।’

उनको भनाइले म डराउँदैनथे तर साहित्यको सहारा लिएर सडकमाझ उपदेश दिइबसेको कल्पना समेत गर्न सक्दिनथेँ। कविता हिंसाको अंश हुनेछ भन्नेमा मलाई रत्तिभर विश्वास थिएन ।त्यही दिनको बेलुकापख नीलो÷पहेंलो झण्डामा बेरेर मेरी आमाको मृत शरीर घर ल्याइयो। जिजुआमाले सधैंझैं अगाडिको ढोका बन्द गर्ने उपक्रममा ध्यान दिइनन् त्यो साँझ । ढोका राम्ररी बन्द गरिएको थिएन । आत्मसमर्पणको अभिव्यक्ति थियो त्यो उनको। जिजुआमाले सक्दो कोशिश गरेकी थिइन् तर पनि उनीहरू आए र उनको संसारलाई ध्वस्त पारिछाडे ।
बीचको कोठामा टेबलमाथि आमालाई सुताइएको थियो र उनको दायाँबायाँ लामा मैनबत्ती बालिएका थिए । काठे भुँइमा पग्लेका मैनबत्तीका खाटा थिए । धेरैपछि मैले थाहा पाएँ, आमाको शवपरीक्षा गर्नबाट रोक्न र लासलाई शवगृहमा लैजानबाट रोक्न हजुरआमाले सम्बन्धित अधिकारीलाई रकम दिएरै मिलाउनुप¥यो । कुनै समय उनी आफैं नामी चिकित्सक थिइन् । चिकित्सा क्षेत्रका मान्छेसँगको उनको चिनजानका कारण मात्र यो सम्भव भएको थियो ।

यति हुँदाहुँदै पनि, केजिबीको हस्तक्षेप किन कम भयो ? यो विषयले उनी आश्चर्यचकित थिइन् । आफू दोषी रहेको यो मृत्युको प्रसंग भुलाउन, गलत साबित गर्न वा गुपचुप राख्न लागि परेका हुनसक्छन् उनीहरू । त्यो गोली प्रहार हरेक कोणबाट हास्यास्पद देखिन्थ्यो । गोलीले निशाना लगाउन त चुकेकै थियो। अनिर्णित ल्भोभवासीलाई सडकमा निस्कन बाध्य पार्ने कर्कश नगरा थियो सायद त्यो गोलीको आवाज। आमाको अरू कुनै ठुलो इच्छा आकांक्षा थिएन– न हजुरआमाकै, न जिजुआमाकै, न मेरै केही थियो ।
गोली प्रहारका शुरुका केही दिन आमाको मृत्युका कारणबारे धेरैले चासो देखाए । ल्भोभको हाइड पार्क मानिने क्लुम्बा वरपर आयोजित अवैध जुलुसबारे सबैले चर्चा गरिबस्थे । स्वतन्त्र चुनावको माग गर्दै विरोध प्रदर्शन गरिएको पार्क, छिमेकी घरको छतमा लुकेर बसेको गोली हान्ने मान्छे, अनि युद्ध अगाडिको भियनास्थित भव्य क्याफे स्थल उनीहरूका मुख्य विषय हुन्थे ।

हतियारधारी त्यो मान्छेलाई चोर्नोभिल नाम गरेको विद्रोहीलाई मार्न खटाइएको लख काट्थे ल्भोभवासीहरू । त्यतिखेर मारियाना अर्थात् मेरी आमा विद्रोहीलाई जोगाउन समर्पित थिइन्, ट्रकभित्र उसको ढाल बनेर छेउमा बसेकी थिइन्। आवाज नआउने हतियार प्रयोग गरिएको थियो, त्यसैले गोली चलेको कसैले सुनेन। तर आमाको फिक्का रङको पहिरन रगतले लतपत थियो । अनि उनीछेऊ घुँडा टेकेर बसेका थिए केही मान्छे। चोर्नोभिल चाहिँ मृत्युको समेत परवाह नगरिकन जुलुसको नेतृत्व गरिरहेकै थियो । वर्षौंदेखिको तालिमका कारण उसमा अदम्य साहस पैदा भएको थियो । सँगै जेल परेका पूर्व साथीहरू उसको यो जोदाहापनलाई मानसिक रोग ठान्थे । भीडबाट एकजना डाक्टर निस्केर अगाडि आए। आमाको उपचारका लागि चोर्नोभिलले विश्वास गरेको थियो उनलाई । त्यसपछि चोर्नोभिल जुलुसलाई नेतृत्व गर्न पुग्यो। उसलाई जोगाउन अरू सहकर्मी लागे । कोही उसलाई ट्रकबाट बलजफ्ती उतार्न खोज्दै थिए। त्यसपछि त्यहाँ थप गोली चलेन। किन त्यसो भयो, आजसम्म कसैलाई थाहा छैन । घटनालाई जसरी बुझ्दा पनि भयो । आमाकै कारण चोर्नोभिलले अरू एघार वर्षको जीवन उपहारको रुपमा पायो । म विश्वस्त छु– वारिस्पिल राजमार्गमा सन् १९९९ मा ऊ चढेको कारलाई ट्रकले धक्का दिंदा उसले यो कुरा पक्कै सम्झेको हुनुपर्छ ।

अरूले पनि सम्झे तर केही वर्ष मात्र । शुरुका केही दिन, मान्छेहरू हामीसँग कुरा गर्थे, भावविह्वल बन्थे । हामीलाई बोलाउँथे, अनि भेट्न समेत आउँथे। मलाई भने यो घटनाले धेरै गम्भीर बनायो। आक्रोश र असहायपनाले म कठोर बन्दै गएँ। भुँइमा मैनका टुक्राहरू खसेको देख्दा विगतका घटनाहरू सम्झन पुग्थेँ ।

तीनदिनपछि मृत शरीर गाड्ने परम्परा हो हाम्रो तर भोलिपल्टै उनको अन्त्येष्टिको चाँजोपाँजो मिलाइयो । ल्भोभको पुरानो चिहानघर थियो लिचाकोभ, त्यहीँ ठाउँ मिलाइन् हजुरआमाले । कसैले विरोध गरेन । सन् १९८० तिर लास गाड्न प्रतिबन्ध थिएन तर केही विशेष अनुमति भने लिनुपथ्र्यो । हजुरआमाले निमेषभरमै अनुमति पनि लिइन् । यो सत्य हो– त्यो अन्त्येष्टि नै विरोध जुलुसमा परिणत भयो र बल प्रयोग गरी तितरवितर पारियो । आमाको मृत्युपछि उनी संलग्न ओपेराका निर्देशकसामु एकपछि अर्को प्रश्न तेर्साइएको प्रदर्शनकारीहरूले देखेका थिए । केही महीनापछि आमाको चिहानस्थलमा सजाइएका कृत्रिम फूलहरूको चाङ हटाइएको देखियो । फूलको चाङ हटाइएकोमा म खुशी थिएँ । कृत्रिम फूलको खात देखेर मलाई दिक्क लाग्थ्यो, आमाबाट अझ टाढिएको महसूस हुन्थ्यो । पछिपछि त ती कृत्रिम फूलहरू छेउमा अलग्गै झुण्ड्याएको देखियो । शरद ऋतुको आगमनसँगै त्यो क्षेत्र बाक्लो झारले पुरिँदै गयो ।

हजुरआमा विगतका घटनाहरू सुनाउँथिन् मलाई । उनलाई पछिल्लो घटनाको समेत पूर्वाभास थियो रे । उनी सात वर्षकी हुँदा लेनिनग्राडमा बस्थे सपरिवार । त्यही वर्ष हो उनका बाबु मारिएका । अनि ल्भोभमा रहँदा साठी वर्षको उमेरमा फेरि छोरी मारिएको देख्नुप¥यो । आफ्ना बाबु र छोरीको हत्याका कारण सधैँ युक्रेनीहरूलाई धिक्कारी बस्थिन् । अरू खुलस्त भन्न थालिन् पहिलेका कुराहरू। सन् १९४४ मा पहिलोपटक यो शहरमा बस्न थालिन् उनी । तुरुन्तै महिला प्रतिरोध आन्दोलन थाल्ने निर्णयमा पुगिन्, एक्लै । ‘स्टालिन अपराधी हुन्’ लेखिएको पर्चा बनाइन् र घरघरका पत्रमञ्जुषामा खसालिन् । यस कदमका कारण किन उनीमाथि दमन भएन, मैले आजसम्म बुझ्न सक्या छैन । सायद देवदूतको संरक्षकत्व थियो उनलाई ।

स्टालिनको मृत्युलगत्तै जिर्झिन्सी मार्गको एउटा भवनमा पुगिन् उनी । आफ्ना बाबुको हत्याबारे सत्यतथ्य बुझ्न उनी त्यहाँ धाइरहन्थिन्। त्यसरी जाँदा उनीहरूप्रतिको घृणा लुकाउँथिन्। त्यहाँबाट केही सूचना लिने ध्येयले भित्तामा लगाइएको रङजस्तै अनुहारमा नयाँ भाव ल्याउँथिन् । एउटा सेना प्रमुख थियो त्यहाँ जसले सधैं उनलाई खिज्याउँथ्यो। उसैसँग थियो उनका बाबुसम्बन्धी कागजात । धेरै बिन्तीभाउ गर्दा पनि उसले ती कागजात फिर्ता गरेन । रहस्यपूर्ण ढङ्गले घोषणा गथ्र्यो ऊ ‘तिम्रा बाबु कुनै उत्तरी भेगमा मृत फेला परेका थिए । अब उप्रान्त जनताको शत्रुकी छोरीको कलंकबाट तिमी मुक्त भयौ । स्टालिनको सन्त्रासबाट पीडितहरू पुनस्थापित भए ।’

आजसम्म आफ्ना बाबु मारिएको तिथिमिति र ठाउँबारे बेखबर छन् उनी। अर्धमृत नातेदारका रुपमा लाचार छाया बनि बाँच्न वाध्य पारिएका थिए सबै ।

आमाको सन्दर्भमा भने बिलकुलै फरक भयो । उनको मृत्युले शून्यता थप्यो। समयको गर्तमा भासिँदै गयो यो अध्याय । यस उप्रान्त हजुरआमालाई कतै पनि डाकिएन । अकस्मात् उनीहरूका लागि महत्त्वका नयाँ विषय निस्कँदै गए सायद । आमाको हत्याको केही वर्षमै जिजुआमाले ढोका बन्द गर्ने उपक्रमबारे वास्ता गर्न छाडिन् । अतिरिक्त सुरक्षा सावधानी नगरीकनै हामी ओछ्यान पस्ने गथ्र्यौँ । यसबाट मलाई चाहिँ राहतको अनुभूति हुन थाल्यो । आखिर सबैभन्दा भयानक घटना घटिसकेको थियो। भयबाट हामी मुक्त हुन खोज्दैथियौं तर केही दिनमै फेरि फेरि उही उपक्रम दोहोरिन थाल्योः कालो ढोका, सादा ढोका अनि सिक्री । जिजुआमाले मेरो लागि नै यो सब फेरि शुरु गरेको हुनुपर्छ तर त्यो मैला कपडा राख्ने डोको चाहिँ उनले कहिल्यै ढोकाछेऊ राखिनन् । डोकोमा गोली लागेर यति धेरै प्वाल परेको थियो, त्यसलाई यता उता सार्नै सम्भव थिएन। त्यसो गर्दा त्यो धुजाधुजा भई गर्ल्यामगुर्लुम लड्ने निश्चित थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->