शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

४७ वर्षको पर्खाइपछि उडान भर्न तयार छ पोखरा

४७ वर्षको पर्खाइपछि उडान भर्न तयार छ पोखरा

बुद्ध र यतिको डेमो उडान ।


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७९, शुक्रबार

पोखरा/ नीजि वायुसेवा प्रदायक कम्पनी बुद्ध र यति एयरलाइन्सले बिहिबार नियमितझैँ पोखरा विमानस्थलबाट उडान भरे । तर, उडान काठमाण्डौका लागि थिएन, न अरु कुनै सहरहरुमा थियो । पोखरा विमानस्थलबाट उडेपछि पोखरा आसपासकै क्षेत्र तालमाथि उडान भरेपछि सात मिनेटमा विमान अवतरण भयो । तर, अवतरण भने पोखरा विमानस्थलमा भएन, भयो त ४७ वर्षसम्म पोखरेलीले प्रतिक्षा गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ।

एरो थाई कम्पनीले क्यालिब्रेसन फ्लाइट गरेर विमानस्थल उडानको लागि योग्य छ भन्ने प्रतिवेदन बुझाएको सातादिनमा नै यी दुई कम्पनीले ‘डेमो उडान’ भरेका हुन । डेमो पश्चात पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पोखराका मेयर धनराज आचार्यले भने, ‘यसमा सबै खुसी हुनुपर्छ, लामो समयपछिको सपना पूरा भएको छ,’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकेर चिनियाँ कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेतापनि त्यसको सञ्चालन हुने नहुनेबारे द्विविधा थियो । कारण, विमानस्थल नजिकै ल्याण्डफिल साइट थियो र त्यसको अर्को व्यवस्थापन नहुँदासम्म विमानस्थल बनेतापनि सञ्चालनमा कठिनाइ थियो । अनि, फोहोरमा आउने पंक्षीहरु विमानस्थल माथिकै आकाशमा उडिरहन्थे, त्यसले विमानस्थलको सुरक्षा जोखिम पनि बढाएको थियो । त्यसकारण व्यवस्थापन अन्यत्र गर्न पोखरा महानगरपालिकालाई निकै दबाब थियो । राष्ट्रिय गौरवको आयोजनालाई निर्वाध सञ्चालनको लागि फोहोर व्यवस्थापन टाउको दुखाई बनेपछि स्थानीय सरकार भएको नाताले पोखराका मेयर आचार्य पनि उत्तिकै दबाब र तनावमा थिए । महानगरले पुष ३ गतेदेखि विमानस्थल रहेको वडा पोखरा १४ स्थित बच्छुबडुवामा फोहोर फाल्न रोक लगाएको छ भने विमानस्थल सञ्चालनका लागि कटान गरिएको रिठेपानी डाँडाको माटो लगेर पुर्ने काम भइरहेको छ ।

अल्पकालीन रुपमा फोहोर व्यवस्थापन कहाँ गर्ने भन्ने बारेमा भोलि (शुक्रबार) पत्रकार सम्मेलन गरेर जानकारी दिने मेयर आचार्यले बताए । उनले नै पोखरा विमानस्थलको लागि फोहोर व्यवस्थापनको चुनौती सकिएको दाबी गरे । अनि, विमानस्थलबाट निरन्तर उडानको लागि महानगरले गर्नुपर्ने कार्य प्रतिबद्ध भएर गर्ने जनाए ।

यही विमानस्थलबाट पौष १७ अर्थात अंग्रेजी नयाँवर्षदेखि उडान सुरु हुँदैछ । पोखराबाट काठमाण्डौ सहित देशका विभिन्न सहरहरुमा हुने उडान अब यही विमानस्थलबाट हुनेछ । यो त्यही विमानस्थल हो, जसका लागि पोखरेलीले आन्दोलन गरे, रिले अनसन गरे, संघर्षका कार्यक्रम नै गरे । अन्तत, ४७ वर्षपछि त्यो संघर्षले सार्थकता पाएको छ ।

वि.सं. २०३२ सालमा तीन हजार १०० रोपनी जग्गा अधिग्रहण गरेर त्यतिबेला परिकल्पना गरिएको विमानस्थल अहिले आएर उडान भर्न तयार छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा औपचारिक रुपमा १७ गतेदेखि यो विमानस्थल प्रयोगमा आउनेछ ।जनवरी १ देखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तयारी छ । विमानको डेमो उडान पश्चात बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले अन्तर्राष्ट्रिय उडान पनि भर्ने जानकारी दिए ।

‘अहिले हामीले डेमेस्टिक एयरपोर्टबाट पाँच मिनेटको उडान भरेका हौं । अब अन्तर्राष्ट्रिय टेकअफ पनि गराउँछौ’, उनले भने । बुद्धले पहिलो उडान भारतको बनारसबाट गर्ने तयारी समेत गरेको छ । जनवरी १ मा भारतको बनारसबाट उडान भर्ने योजना रहेको उनले सुनाए । नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएतापनि भारतले भने स्विकृती दिइसकेको छैन ।
उनले भने,‘हामीले अन्तर्राष्ट्रिय उडान भारतको बनारसबाट गर्ने तयारी गरेका छौं । नेपालबाट स्विकृत पाइसकेका छौं तर भारतबाट अहिले सम्म केहि जानकारी पाएका छैनौं, दिल्लीमा हामीले निवेदन समेत दिएका छौं । हामीलाई रुटको समस्या हो भारतबाट स्विकृती पाएमा उडान सुरु गर्छौँ ।’

उनका अनुसार भारतको दिल्ली, बनारस, देरादुन लगायत सहरबाट उडान भरिनेछ । अनुमति पाएको खण्डमा जनवरी १ मा पोखरा बनारस डेमो उडान भर्ने र मार्च देखि नियमित उडान गर्ने योजना रहेको उनले जानकारी दिए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आफुहरुले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा पक्षण उडान भरेको जानकारी दिए । पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमले यो विमानस्थल विभिन्न देशहरुसँग सिधा सम्पर्कमा जोडिँदा यहाँको पर्यटन देखि अर्थतन्त्रमा टेवा पुग्ने बताए । पोखराको मार्केटको बारेमा टार्गेट गु्रपहरुलाई डाटा दिइएको उनले बताए ।

‘एयरपोर्टको टार्गेट ग्रुप भनेको टुरिष्टहरु नै हुन । टुरिष्ट दुई खालका छन, जंगल टुरिष्ट, जो प्रकृतिसँग असाध्यै सानिध्यतामा रमाउन चाहन्छन, यो पोखराको परिचय पनि हो’, उनले भने,‘अर्को चाहिँ धार्मिक टुरिष्ट हुन, मुक्तिनाथको कुरा छन, गलेश्वधामका कुराहरु छन, यी सबै कुराहरु एक्सप्लोर गर्नुप¥यो ।’पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स, फ्लाई दुबईलगायतले उडानमा चासो राखेको उनले जानकारी दिए ।

विमानस्थलको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गत शिलान्यास गरेका थिए । गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसीईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो । कोरोनाको अप्ठेरोका बाबजुद पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेस्रो साता नेपाललाई हस्तान्तरण गरेको थियो ।
विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन ।

यी जहाज २ सय सिट भन्दा कम यात्रु क्षमताका हुन । यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सक्छ । विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाइ ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ । विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ । १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको आयोजनाले बताएको छ । विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->