पोखरा/ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफूले कमजोरलाई हराउने गरेको बताएका छन् । पोखरामा जारी नेपाल साहित्य सम्मेलनको क्रममा कुन खेलमा विज्ञता छ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले भने,‘विज्ञता केलाई भन्ने ? फुटबल, भलिबल, टिटी, क्यारेमबोर्ड खेल्छु ।
नजान्ने पाएँ भने हराउँछु । ’ प्रसंग राजनीतिक थिएन । यद्यपि, राजनीतिमा पनि कमजोरलाई हराउने गरिन्छ ।
ओलीले आफू ४ घण्टाभन्दा बढी नसुत्ने र जति समय भन्यो त्यति नै समयको लागि सुत्ने गरेको खुलासा गरेका छन् । उनले रातकै समयमा पढ्ने गरेको पनि बताए । बिहान भने आफूसँग समय नै नहुने उनले खुलासा गरे । उनी पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा अराजनीतिक विषयमा पत्रकार अखण्ड भण्डारीसँग गफ गर्दै थिए ।
‘अरु भेट्न आए त ठीकै छ, नेता नै आएपछि भेट्नैप¥यो । त्यसैले समय हुँदैन । म ५ मिनेट सुत्छु, ७ मिनेट सुत्छु, मलाई आर्लाम चाहिँदैन । कहिलेकाहिँ ४ घण्टाभन्दा बढी पनि सुत्छु तर त्यो सुतेर उठेको सुताइ हुन्छ । तपाईंहरुले मेरो बानी नसिक्नुहोला, राति अबेरसम्म नबस्नुहोस्,बरु बिहान सबेरै उठेर पढ्नुहोस् ।’ उनले लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु भएको अनि ज्ञानलाई संगठित बनाउन लेख्नैपर्ने धारणा पनि राखे । पढ्नु भनेको ज्ञान प्राप्त गर्नु भएको उनको भनाइ थियो ।





