पोखरा/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलको नेतामा चुनाव हारेर आँत्तिनु नपरेको प्रतिक्रिया दिएका छन् । उनले दशौँ संस्करणको नेपाल साहित्य महोत्सवमा सहभागी हुन पोखरा आएका थापाले चुनाव हारेर आफू पोखरा आउन पाएको भन्दै ठट्टा गरेका छन् ।
दलको नेता जितेको भए सरकार गठनका लागि बालकोट र खुमलटार आउने जानेहरुका कारण तनाव हुने अवस्था आउने भन्दै उनले कांग्रेस नेतृत्वको गठबन्धन टुटेको पनि समाचार पढेर थाहा पाएको बताए ।
‘दलको नेता भएको भए खुमलटारबाट बालकोट, बालकोटबाट बालुवाटार हुँदै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुपथ्र्यो । कम्तिमा ढुक्कले पोखरा आउन पाएँ,’ उनले भने, ‘यो चाहिँ काठमाडौंको मान्छेको चित्त बुझाउने काइदा हो । कहिलेकाहीँ यसरी पनि चित्त बुझाउनुपर्छ ।’
कांग्रेस संसदीय दलको चुनावपछि गठबन्धनलगायत कुनै पनि बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्रीहलाई सहभागी गराएका थिएनन् । त्यहीकारण महामन्त्री थापा आइतबार पोखरामा छन् ।
‘कथा काठमाण्डुका’ सेसनको सुरुमा नै बोल्दै थापाले आफू ढुक्कले पोखरा आएको बताए ।
आफू संसदीय दलको नेताको चुनाव लड्ने तयारी गर्दैगर्दा महोत्सवका आयोजकले आफूलाई फोन गरेको र नभ्याउने जानकारी दिएको पनि उनले सम्झिए ।
‘म चुनाव लड्दै छु, भ्याउँदिन होला, भनेँ । निरजले (निरज भारी) चुनाव सकिइसकेको हुन्छ । भनेर भन्यो,’ थापाले थपे, ‘मलाई अलिकति भ्रम रहेछ, निरजलाई शेरबहादुर हार्नुहुन्न भन्ने ग्यारेण्टी रहेछ । त्यसैले उसले मिल्छ, मिल्छ भन्यो, भन्याजस्तै भयो ।’





