१.हात्तीहरु बहुलाउँछन्
कहिलेकाहीँ हात्तीहरु बहुलाउँछन
तहस नहस पार्न खोज्छन झुप्रा र झोपडीहरु
उन्मादको रसमा प्रलयको दूर्गन्ध
मानौं हात्तीहरुको सर्वप्रिय गीत हो
आफ्नै पैतालाले आफ्नै इतिहास कुल्ची हिंडेको थाहा हुँदैन हात्तीहरुलाइ यस्तो बेला
ओ गधाहरु !
छेउ लागेर हिंडनु
जति भारी बोके पनि
जसको भारी बोके पनि
गधाहरुको नियतीमा
अनिवार्यरुपमा अपमानको भारी बोक्नु लेखिएको हुन्छ
हात्तीहरु उन्मादमा छन्
धनको उन्मादमा
तनको उन्मादमा
छेउ लागेर हिँड्नू गधाहरु
केही बेरपछि उन्मादले छोडेपछि
ती बाँधिनेछन मसिना सिक्रीहरुमा
२.म मरेको रात
म मरेको रात
तिम्रो सपनाको नदी हुन्हुनाउँदै
प्रलयको गीत गाउनेछ
रुखका हांगाहरु भाँच्चिनेछन
र छिरल्लिनेछन सपनाका गुँडहरु
आकाशमा प्वाल पर्नेछ
र त्यही प्वालबाट अदृश्य हुनेछ मेरो देह
साँझ पर्दा नपर्दै चुक घोप्टिनेछ आकाशमा
संभावनाका सबै जून ताराहरु त्यही चुक घोप्टिएको आकाशको दहमा डुब्नेछन
तिमी देख्नेछौ मलाई आँसुमा
र खोज्नेछौ सुस्केरामा
मलाई तिमी मेरो अनुपस्थितिमा पनि
माया गर्छौ भने
कृपा गर
तिमीसंग बचेको मेरो माया जो छ
सबैमा बाँडिदिनू
र म सबैमा फैलिएको अनुभूति गर्नू
यो भन्दा अजम्बरी माया
मेरो लागि कुनै हुने छैन
फेरि तिम्रो मनको रुखका हांगाहरुमा
नयाँ पालुवा पल्हाउनेछ्न्
नयाँ फूलहरु फूल्नेछन्
सुदूर कतैबाट आउने छन्
सपनाका चराहरु
र गुँड लाउने छन
मलाई त्यतै खोज्नू
म हुनेछु त्यतै कतै





