आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पार्टी प्यालेसबाट सभागृहतर्फ मोडिएको हार्मोनीमाथि चुनौतीको चाङ

पार्टी प्यालेसबाट सभागृहतर्फ मोडिएको हार्मोनीमाथि चुनौतीको चाङ

काठमाण्डौमा कार्यक्रम गर्ने योजना पछाडि धकेलियो । शुक्रबारको कार्यक्रम भव्य बनाउने तयारी ।


  • राजाराम पौडेल
  • पुष २७ २०७९, बुधबार

पोखरा/ सुगम संगीतको एउटा कार्यक्रम गर्ने गायिका इतु जोजिजूको सपना थियो । यसको बारेमा पहिला उनले आफ्नो परिवारमा कुरा राखिन् । त्यसपछि फेसबुकमा गायिका कौशल्या गुरुङ, रुवी गौलीसँग कुरा भयो । कुराकानीकै क्रममा महिला गायिका मिलेर एउटा कार्यक्रम गरौं भन्ने योजना फु¥यो । अनि २०७३ सालमा जन्मियो ‘हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ । जुन संस्थाले स्थापना पश्चात विभिन्न कार्यक्रममार्फत् नेपाली सुगम संगीतको क्षेत्रमा उर्जा थप्ने काम ग¥यो ।

साहित्यकार प्रकाश सायमीको भनाइलाई आधार मान्दा महिला गायिका मात्र संगठित भई संस्था सञ्चालन गरेर क्रियाशिल भएको ‘हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ नेपालमा पहिलो र एसियामा दोस्रो हो । यो संस्था स्थापनाको उद्धेश्य सुगम संगीतको उत्थान र प्रर्वद्धनका निमित्त भनिएको छ । सुगम संगीतका क्षेत्रमा जिवन अर्पण गरेका महिलाहरुसँग सहकार्य गर्दै सुगम संगीतको यात्रा र क्षेत्रलाई लामो तथा फराकिलो वनाउने लक्ष्यका साथ संस्था पोखराबाट अगाडी बढीरहेको छ । सुगम संगीतका क्षेत्रमा रुची भएका तर अवसर र विभिन्न परिस्थितीवाट आफ्नो कला प्रस्तुत गर्न नपाएका महिला गायिकाहरुलाई प्रोत्साहन गर्न स्टेज प्रदान गर्दै आएको छ ।

हार्मोनीले कार्यक्रम गर्न सुरु गरेको ६ वर्ष नाघिसक्यो । २०७३ साल पौष ९ गते पहिलो कार्यक्रम आयोजना गरेको थियो । यो कार्यक्रम दरबारथोक पार्टी प्यालेसमा गरिएको थियो । त्यतिबेला दर्शक श्रोताको साथ पाइन्छ कि पाइन्न भन्ने डर थियो । ‘लेजेण्डरी हार्मोनियस इभिनिङ्ग’ नामको कार्यक्रम मार्फत् नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायिकाहरु मिरा राणा, ज्ञानु राणा र बाबा राणा एकै साथ मञ्चमा देखिएका थिए । सो कार्यक्रममा गायिकात्रय सहित बसन्ती लालचनलाई सम्मान गरियो । कार्यक्रम सफल बन्यो ।

यसरी पहिलो कार्यक्रमबाट प्राप्त सफलता र संगीतप्रेमीको साथको कारण उत्साहित बनेरनै दोस्रो कार्यक्रम पोखरा सभागृह हलमा आयोजना गरियो । २०७४ साल चैत्र १० गते शनिबार पोखरामा ‘टेस्ट अफ हार्मोनी’ कार्यक्रममा गायिका तथा नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ति ठटाल, लोक दोहोरी गायिका हरिदेवी कोइराला र साहित्यकार उषा शेरचनलाई सम्मान समेत गरिएको थियो । पार्टी प्यालेसबाट सभागृहतर्फ यात्रा मोड्दा कार्यक्रम झनै बृहत बन्यो । उनीहरुमा कार्यक्रम गर्ने हुटहुटी थप जगायो ।

२०७६ असार २१ गते शनिबार पोखरामा ‘टेस्ट अफ हार्मोनी, धुनहरुमा तारादेवी र अरुणा लामा’ शीर्षकमा विशेष साँगीतिक कार्यक्रम भयो । दिवंगत गायिकाद्वय अरुणा लामा र तारादेवीलाई ‘ट्रिब्युट’ गर्दै यो कार्यक्रमको आयोजना भयो । सो कार्यक्रममा दार्जलिङ्की गायिका दावा ग्याल्मो, गायक कर्ण दासकी आमा तथा नृत्यङ्गना रत्न दाश र गायिका जोनिशा पौडेललाई सम्मान गरियो ।

तेस्रो संस्करणको कार्यक्रम सम्पन्न गरेपछि हार्मोनीमा थप जोश बढ्यो । यो कार्यक्रममा पोखरा बाहिरका अतिथिको समेत बाक्लो उपस्थिति थियो । चौथो संस्करणको कार्यक्रम काठमाण्डौ गर्ने योजना हार्मोनीले बनायो । पोखराका कलाकारलाई राजधानीमा लगरे भव्य कार्यक्रम मार्फत प्रस्तुति राख्न लगाउने उनीहरुको रहर थियो । तर, कोरोनाको कारण यो सफल हुन सकेन ।

त्यसोत कोरोना भएको समयमा ‘हार्मोनि लाइभ सेसन’ नामक कार्यक्रम मार्फत उनीहरु जोडिए । विभिन्न कलाकारलाई यो कार्यक्रममार्फत् दर्शक श्रोतामाझ ल्याउने क्रममा उनीहरुको सम्पर्क गायिका दीपा नारायण झासँग भयो । २०७७ सालको माघमा उनले आफ्नो प्रस्तुति समेत राखिन् । सोही कार्यक्रममार्फत् बनेको सम्बन्धलाई कायम राख्दै हार्मोनीले चौथों संस्करणको कार्यक्रममा उनलाईनै बोलाउने निधो ग¥यो । गायिका झा ले प्रस्ताव स्वीकार गरेपछि कार्यक्रम तयारी भयो । कार्यक्रमको लागि पोखरा आउन उनी समेत उतिकै उत्साहित देखिइन् ।
‘दर्शक श्रोतालाई मनपर्ने गीत प्रस्तुत गर्ने योजनामा कार्यक्रम तय भएको हो । कार्यक्रम रमाइलो होस् धमकेदार होस् भन्ने चाहना हो । लक्कीली दीपाजीसँग जोडिन पुगेकोले यो सम्भव भएको हो’ अध्यक्ष जोजिजुले भनिन् ।

कोरोनाका कारण साढे ३ वर्षको अन्तरालमा यसरी तय भएको कार्यक्रमलाई भव्य बनाउने हार्मोनीको योजना छ । हुनपनि नेपाली सुगम संगीत र चलचित्रका गीतमार्फत् दीपा नारायण झा संगीतप्रेमीको मन मुटुमा बस्न सफल भएकी छन् । उनले पोखरेली दर्शक श्रोताको भरपुर साथ पाउने आयोजकको विश्वास छ । ‘रारा टेस्ट अफ हार्मोनी ः धुनहरुमा दीपा नारायण झा पुस २९ गते शुक्रबार दिउँसो ४ बजे पोखरा सभागृह हलमा सुरु हुनेछ । कार्यक्रम २ घण्टासम्म चल्नेछ । कार्यक्रममा दीपा नारायण झाले आवाज दिएका सुगम संगीत र चलचित्रका गीत सुन्न पाइनेछ ।

अहिले काठमाडौं जाने लक्ष्य पूरा नभएपनि अर्को कार्यक्रम काठमाडौंमा गर्ने उनले सुनाइन् । ‘सधैँ पोखराको स्टेजममा कार्यक्रम गर्ने गथ्र्यौ । बाहिरबाट श्रष्टा बोलाउथ्यौँ । चौथों सस्करणको कार्यक्रम काठमाडौंमा गर्ने इच्छा थियो । काठमाण्डौ लगेर सबै प्रतिभालाई परिचित गराउने योजना थियो । पहिला कोभिडको कारण रोकियो अहिले समय प्रतिकुल बनेन । आगामी दिनमा पक्कै गर्नेछाँै’, उनले थपिन् ।
कार्यक्रमको लागि टिकट पुस सेलिङ भइरहेको छ । केही सहयोगी संस्था जोडिएका छन् । कार्यक्रमलाई भव्य बनाउन साथ दिन सबै संगीतप्रेमीमा उनको आग्रह छ ।

इतु जोजिजूको नेतृत्वमा रहेको हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेसको उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा लक्ष्मी गिरी, सह–सचिवमा सानु जोजिजु, कोषाध्यक्षमा शितल थापा र सह–कोषाध्यक्षमा प्रतिक्षा देवकोटा छन् । कार्यसमिति सदस्यको संख्या पछिल्लो समयमा घटाइएको छ । संस्था स्थापना हुँदा १६ जना सदस्य रहेको थिए । त्यसपछि २० जना पुगे । अघिल्लो कार्यक्रम गर्ने समयसम्म ३१ जना सदस्य पुगेको संस्थाका केही सदस्य भने अहिले पोखरा बाहिर छन् ।

शुक्रबारको कार्यक्रममा इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले झासँगै स्टेज शेयर गर्दै माहोल गर्माउनेछन् । यसैगरी गायका रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको साथले कार्यक्रममा थप रौनकता थप्ने आयोजकको तयारी छ ।

वाद्यवादकमा राजा मुखिया, महिपाल लामा, तेज केसी, प्रविन्दर सिंह, सञ्जिब पाल, गुप्त गुरुङ, सुमन तामाङ, अभिनाश गायक र सुदिप गायकले सघाउनेछन् । कार्यक्रमलाई आर्कषक बनाउन नृत्य प्रस्तुति समेत रहनेछ ।यहीं कार्यक्रमको अवसरमा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानो वादक उपासना पाख्रिनलाई प्रोत्साहन सम्मान गर्ने आयोजकले खुलाए ।

त्यसो त, हार्मोनीले गरेका गतिविधि र यसका स्थापनाले नेपाली सांगीतिक क्षेत्रमा केही सकारात्मक तरंग सिर्जना गरेको छ । भीम विराग संगीत पुरस्कारसहित विभिन्न सम्मान तथा पुरस्कार हात पारिसकेको हार्मोनीको क्रियाशिलता देखेर यो क्षेत्रमा अगाडि बढ्न खोज्नेहरु समेत छन् ।

यति हुँदाहुँदै पनि संस्था स्थापना भइ हालसम्म आउँदा बग्रेल्ती चुनौती समेत थपिदो क्रममा रहेका छन् । संस्थालाई थप मजबुत बनाउने, नियमित रुपमा कार्यक्रम गर्नेदेखि यो क्षेत्रमा लागेका कलाकारलाई टिकाउने चुनौती पेचिलो बन्दैछ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न हार्मोनी कोष स्थापना गर्ने योजना बनाएको संस्थाले त्यसलाई अगाडि बढाउन सकेको छैन । सांगीतिक क्षेत्रमा भविष्य नदेखेर तथा विभिन्न कारणबाट यो क्षेत्रबाट पलायन भै रहेका महिला प्रतिभालाई टिकाउन सहज देखिँदैन ।

तस्विर / राजाराम पौडेल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->