आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

निराको निधनमा कलाकारको श्रद्धाञ्जली

निराको निधनमा कलाकारको श्रद्धाञ्जली

केही सांस्कृतिक कार्यक्रम रोकिए,केहीमा कलाकारहरुले सहभागिता जनाएनन् ।


  • संजय रेग्मी
  • माघ ६ २०७९, शुक्रबार

पर्वत / कलाकार प्रकाश सपूत गत माघ दुई गते म्याग्दी आउने तय भएको थियो । म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा दुई गते उनले आफ्नो प्रस्तुति दिने तयारी थियो । तर, उनी आफ्ना प्रस्तुति दिनका लागि म्याग्दी पुगेनन् ।

गत माघ एक गते पोखरामा यति एयरलाइन्सको एटीआर विमान सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको निधनले देशलाई नै शोकमा डुबाएको बेला उनले स्टेज नजाने निर्णय गरे । माघ दुई गतेका लागि सरकारले राष्ट्रिय शोक मनाउने गरी देशभरि बिदा दिएको थियो । तर म्याग्दी चलेको महोत्सव भने शोककै दिनमा पनि चलिरह्यो। शोककै पोखरामा चलिरहेको ११ औँ पोखरा महोत्सव एक दिनका लागि नचलेको भए पनि म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको म्याग्दी महोत्सव भने चल्यो ।

कलाकार प्रकाश सपूतका लागि माघ दुई तय गरिएको भए पनि उनले शोकमा रहेका कारण आफ्ना प्रस्तुति नदिएका हुन् । ‘पोखरा जहाज दुर्घटनापछि माघ २ गते उहीँ पुगेर गीत गाउन मानले मानेन’, सपूतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘व्यावसायिक मर्यादाबाट माथि उठेर मेरो भावनाको कदर गर्दिनुभएकोमा आयोजक म्याग्दी उद्योग वाणिज्य संघलाई धन्यवाद । म्याग्दीका प्रिय दर्शक श्रोताहरूमा क्षमा चाहन्छु । मलाई माया छ । अर्को पटक फेरि भेटौँला ।’

अर्का कलाकार विष्णु खत्रीले पनि विमान दुर्घटनाको शोककै कारण आफू जाने भनी तय गरेको कार्यक्रम नै छोडेका छन् । माघ एक गतेदेखि बागलुङको भिमपोखरामा चलेको माघे संक्रान्ति मेलाको चौथो दिन माघ चार गते खत्रीका लागि तालिका तयार थियो । तर, घट्नाको शोककै कारण खत्रीले दर्शक र आयोजकप्रति क्षमा माग्दै उक्त कार्यक्रममा उपस्थित हुन नसक्ने गरी आफ्नो तालिका रद्द गर्न लगाए ।
दुर्घटनामा परी बागलुङकी गायिका निरा छन्त्यालको मृत्यु हुनुले आफूलाई मर्माहत बनाएकोले आफू गीत गाउन नगएको बताएका छन् । त्यसमा पनि माघ चार गते नै विष्णु खत्री सँगसँगै निराले पनि आफ्ना सांगीतिक प्रस्तुतिहरू राख्ने गरी आयोजकले निरालाई निमन्त्रण गरेको थियो । एकै दिन, एकै समयमा स्टेजमा रहेर गाउने कलाकारलाई गुमाउनुपर्दा आफूलाई एक्लै स्टेज जान मन नलागेको खत्रीले बताएका छन् ।

‘पोखरा र म्याग्दीको कार्यक्रम सकाएर उनी (निरा) बागलुङ आउने जानकारी उनले मलाई फोनमै गराएकी थिइन । उनको स्टेज प्रोग्राम अति नै आकर्षक थियो भने दर्शक श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो,’ कलाकार खत्रीले फेसबुकमा लेखेका छन्, ‘यति बेला म पनि मर्माहत छु । सांगीतिक क्षेत्रमा एउटा आशा लाग्दी बागलुङकी चेली गुमाउनु पर्दा पिडा त छ नै तसर्थ निरा बैनी र म आउने भनिएको यस कार्यक्रममा म एक्लै पुगेर गीत गाउन असमर्थ छु । उक्त दिन उनकै सम्झनामा मैले माइक नसमाउने निधो गरेको छु । अर्थात् कार्यक्रम उपस्थित हुन नसक्ने जानकारी गराउन चाहन्छु ।’

एउटा कलाकारको सम्मानका लागि अर्को कलाकारले निभाउनुपर्ने भूमिका आर्थिक सवालभन्दा माथिको हुने गायक खत्री बताउँछन् । स्टेजमा गाएर रकम भन्दा एक कलाकारको सम्मान र शोकका लागि अर्को कलाकारले निभाउने भूमिका महत्त्वपूर्ण उनको भनाई छ ।

कलाकार द्वय खत्री र सपूत दुवै जनाको घर बागलुङ हो। आफ्नै गृह जिल्लाको गायिकालाई गुमाउनु परेका कारण उनीहरू बढी चिन्तामा देखिएका छन् । एकै जिल्लामा घर भएका कारण तथा एउटै पेशा भएकाले एकै स्टेजहरूमा सँगसँगै भेटिने गरेको व्यक्ति गुमाएको पिडाले मर्माहत बनाएको उनीहरूको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->