पर्वत / नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशको अर्थतन्त्र डामाडोल बन्दा सुनको अण्डा दिने हाँस जस्ता व्यवसायीहरू भीरबाट खसेको बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा बुधवारदेखि पर्वत सदरमुकाम कुश्मा बजारमा सुरु भएको सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अर्थतन्त्रमा देखिएको तरलता अभावका कारण भीरबाट खसिसकेका व्यवसायीहरूलाई हात दिएर माथि तान्नुपर्ने बाध्यता अहिलेको सरकारसँग रहेको र तल गइहाल्यो भनेर छोड्ने स्थिति नरहेको उनको भनाई छ ।
‘म भन्न चाहन्छु अबको यो सरकार कसैलाई गाली गरेर, कसैको विरोध गरेर समय खर्चिनेवाला छैन । अब भिरबाट खसिसकेका व्यवसायीहरूलाई हात दिएर माथि तान्नुपर्ने छ । डोरी दिएर माथि ल्याउनुपर्ने छ । तल गइहाल्यो भनेर छोड्ने स्थिति छैन । सुनको अण्डा दिने हाँस जस्ता व्यापारीहरू यति निराश भएर बसेका छन’, मन्त्री गिरीले भने, ‘उद्यमीहरूको मनोबल गि¥यो भने कहाँबाट रोजगारीका अवसर सिर्जना हुन्छन ? कहाँबाट अर्थतन्त्र गतिशील हुन्छ ? कहाँबाट अर्थतन्त्र चलायमान हुन्छ ? विकासका सम्भावनाहरू कसरी अगाडि आउन सक्छन ?’ अहिलेको जस्तो जटिल परिस्थिति भएको बेलामा अब सरकारले देशलाई सङ्कटबाट मुक्त गर्दै समृद्धिको बाटोमा अगाडि लैजानुपर्ने दायित्व रहेको उनले धारणा राखेका छन् ।
अर्थतन्त्रलाई सुदृढ र बलियो बनाएर लैजानु पर्ने दायित्व आफ्नो सरकारसँग भएको भन्दै उनले अहिलेको अवस्थामा रहेको देशलाई फर्काएर समृद्धिको बाटोमा लैजाने अठोट पनि गरेको तर्क गरे । यसमा आफूहरूले ऐतिहासिक सफलता पाउने भन्दै मन्त्री गिरीले दर्शकको माझमा विश्वास दिलाउन चाहेको उल्लेख गरे ।
मन्त्री गिरीले आत्मदाहको प्रयास गरी पछि मृत्युवरण गरेका झापाका प्रेमप्रसाद आचार्यको अवस्थाका बारेमा बोल्दै आत्महत्या आफैमा नराम्रो भए पनि उनको घटनाले देशको आर्थिक परिस्थिति कति जर्जर छ भन्ने देखाएको बताए । ‘शरीरमा आगो लगाएर जुन मृत्युवरण भएको छ आज बिहान, यो कुराले देशभरि सनसनी मच्चिएको छ । आत्महत्या गर्ने कुरा आफैमा राम्रो होइन । यसलाई राम्रो मान्न सकिँदैन ।
तर पनि परिस्थिति कति जर्जर भएको छ अर्थतन्त्रको भन्ने कुरा यो निकै नै सोचनीय विषय अवश्य पनि हो’, उनले भने, ‘आज बैङ्कमा गयो बैङ्कले लगानी गर्दैन, तरलताको अभाव छ ।
७/८ प्रतिशतमा लिएको ऋणको ब्याज बढेर १४, १५, १६ प्रतिशतसम्म पुगेको छ । बैङ्कले पैसा नदिएपछि, समयमा बैङ्कको ब्याज तिर्न नसकेपछि अनि मिटरब्याजीकोमा गएर पैसा लिएर कारोबार गर्नुपरेको छ ।’
व्यवसायीहरू दिनदिनै धराशायी हुँदै जाने, होतोत्साही हुँदै जाने र उनीहरूको मनोबल गिर्दै जाने अवस्था आएको भन्दै उनले देशमा आयात दिनानुदिन बढेको तर उत्पादन घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । बजेट आएको सात महिनासम्म पनि विकास खर्च १५ प्रतिशत मात्रै हुनुले विकासको क्षेत्रमा पनि समस्या उस्तै देखिएको मन्त्री गिरीले बताए । विकास आयोजनाका काम अगाडि नबढ्दा गाउँ–गाउँमा बजेट नपुग्ने र त्यसको परिणाम आर्थिक क्षेत्र ठप्प हुने उनले उल्लेख गरे ।
व्यापार व्यवसायका सम्पूर्ण क्षेत्रहरू चौपट भएको आफूले देखेको भन्दै उनले गाउँमा कुटो कोदाले गरेर साँझ बिहानको काम गरिरहेको मान्छेको अवस्था केही सामान्य रहेको हुन सक्ने भए पनि केही गर्छु भन्ने अठोटका साथ लगानी गरेकाहरूको अवस्था भने दयनीय बनेको बताए । यसका लागि लागि कसैलाई दोष दिने ठाउँ नरहेको बताएका उनले यस अगाडिको सरकारमा को थिए र कसका कारण यो हालत भयो भन्ने सबैले थाहा पाएकाले आफूले कसैको आलोचना नगर्ने मन्त्री गिरीको अघिल्लो सरकारप्रति व्यङ्ग्य थियो ।
अहिलेको सरकार बनेपछि शेयर कारोबारमा अलिकति हरियाली छाएको छ भनेर पत्रपत्रिकामा पढ्न पाउँदा भने आफू अलिकति खुसी र अलिकति आसावादी रहेको उनले बताएका छन् ।
समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सव माघ २१ गतेसम्म चल्ने छ । यस पटक स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टल सुविधा दिइएका कारण स्थानीय व्यवसायीहरूले नै बढी स्टल लिएका छन् । महोत्सवमा बाहिरबाट व्यापारी आउने र स्थानीय व्यवसायीले उल्टै नोक्सानी बेर्होनुपर्ने गुनासा यस अघि आएका कारण स्टलमा स्थानीय व्यवसायीलाई नै प्राथमिकता दिइएको उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष गोपी अधिकारीले बताए ।
महोत्सवमा पाँच करोड भन्दा बढीको कारोबार गर्ने अपेक्षा लिइएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित बस्तुहरूको प्रवर्द्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वद्र्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यवसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्देश्य रहेको छ ।





