स्याङ्जा/ भेषजराज साहित्य प्रतिष्ठान वालिङले स्याङ्जाका दुईजना श्रष्टालाई सम्मानित गरेको छ ।
प्रतिष्ठानले भेषजविन्दु साहित्यिक पुरस्कारबाट विश्वप्रेम अधिकारी र भेषजराज साहित्य सम्मानबाट साहित्यकार नारायणप्रसाद ज्ञवालीलाई सम्मान गरेको हो ।
पाँच दशकदेखि स्याङ्जामा साहित्यका क्षेत्रमा अनवरत रुपमा लाग्नु भएका साहित्यकार विश्वप्रेम अधिकारी प्रतिष्ठानद्वारा भेषजविन्दु साहित्यिक पुरस्कार २०७९ बाट १० हजार रुपैयाँ सहित सम्मानपत्रसहित सम्मान गरिएको हो । पुतलीबजार १० राङखोलाका अधिकारीका तीनवटा लोक साहित्य र पाँचवटा कविता तथा काव्यसहित १३ वटा कृति प्रकाशित भएका छन् । अधिकारी स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रजस्थल त्रैमासिक पत्रिकाका प्रधान सम्पादक हुन् ।
भेषजराज साहित्य सम्मानित ज्ञवाली जगत्रदेवी साहित्य प्रतिष्ठानको उपाध्यक्ष तथा साहित्यकार रहेका छन् । ज्ञवालीलाई नगद १० हजारसहित सम्मान पत्रले सम्मानित गरिएको हो ।
कार्यक्रममा बर्दघाट नगर प्रज्ञा प्रतिष्ठान नवलपरासीका कूलपति डा. घनश्याम न्यौपाने परिश्रमीले साहित्यकारका लागि राजनीति खतरनाक हुने बताए ।
साहित्यले सबैको मन र विचारलाई जोड्ने र राजनीतिले फुटाउने काम गर्ने कुलपति डा. न्यौपानेको भनाइ थियो ।
२०११ सालमा नै वनारसमा रहँदा कविता लेखेको स्मरण गर्दै डा. न्यौपानेले स्याङ्जा जिल्लाकै पहिलो साहित्यिक पत्रकार हुने शौभाग्य मिलेको पनि बताए । भेषजराजका खण्डकाव्य, समालोचना, कविता, निवन्धलगायतका पुस्तकहरु प्रकाशित भएका छन् ।
वालिङ ११ पेखुस्थित भेषजराज शर्माकै निवासमा भएको कार्यक्रममा नियमित कार्यक्रमअन्तर्गत ५७ औं श्रृंखलाको रचना वाचनसमेत गरिएको थियो । प्रतिष्ठानले २०७४ सालदेखि विभिन्न साहित्यकारहरुलाई पुरस्कारसहित सम्मान गर्दै आएको छ ।




