बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नाटक ‘आतुरकाल’ मञ्चन सुरु

नाटक ‘आतुरकाल’ मञ्चन सुरु

शनिबार दुई सो मञ्चन हुने ।


  • राजाराम पौडेल
  • फाल्गुन ६ २०७९, शनिबार

पोखरा/ पोखरामा शुक्रबारबाट नाटक ‘आतुरकाल’ को मञ्चन सुरु भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेका छन् ।

केदारनाथ पौडेलले लेखेको यो नाटकलाइ कपिल शर्माले निर्देशन गरेका हुन् । नाटक फागुन ११ गते बिहीबारसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सोमार्फत् दिउँसो १ बजे हुने आयोजकले जनाएका छन्।

शुक्रबार नाटक हेरेपछि प्रतिक्रिया दिदै पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले नाटकले देशको वास्तविकता उजागर गरेको बताए । ’देशमा विभिन्न व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन सकेको छैन, सोही विषयवस्तुलाई समावेश गरेर नाटक निर्माण भएको रहेछ, देशको वास्तविकता उजागर गर्नु नाटकको सुन्दर पक्ष हो’, उनले भने । नाटकलाई आकर्षक बनाउन कलाकारले गरेको मिहिनेतको समेत उनले तारिफ गरें ।

झण्डै एक घण्टा अवधिको नाटकमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र विनोद पौडेलको अभिनय हेर्न पाइन्छ । नाटकको सह–निर्देशन लक्ष्मण डुम्रेले गरेका छन् ।
लेखक पौडेलले यो नाटक लेख्दा धेरैं पटक भाविवह्वल भएको बताए । ‘देशमा परिवर्तनका नारा थुप्रैपटक घन्किए । थुप्रै व्यवस्था बदलिए तर न आत्माले न शरिरले सुखको अनुभूति गर्न पायो । जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुग्यो । पीडा, दुःख र सघंर्षको पहाड आतुरकाल हो’, उनले भने ।

त्यसोत लेखक पौडेलले इन्द्रेणी थिएटर मार्फत् आफ्नो रंगक्षेत्रको यात्रालाई निरन्तर अगाडि बढाइरहेका छन् । जसमा अर्का रंगकर्मी रामहरी अधिकारीले साथ दिएका छन् ।

अरु केही साथी स्वंयसेवकको रुपमा जोडिने गरेका छन् । इन्द्रेणी थिएटरको तर्फबाट दक्षिण कोरिया, भारत, स्पेन, इटाली, इजिप्टमा पुगेका पौडेलले अन्य भुर्चअल कार्यक्रममार्फत् समेत आफूमा निखराता थप्दै आएका छन् । नाटक धनीरामको गोरु, घेरो, एम्रोनिक, आजको युग र हनुमान नाँचले समेत इन्द्रणी थिएटरको लोकप्रियता बढायो । लेखक पौडेलका नाटकमा सामाजिक यथार्थता भेटिन्छ ।

निर्देशक कपिल शर्माले नाटक आतुरकाल मान्छेको जीवनचक्र भएको बताउँछन् । निर्देशक शर्माले लेखकले उठाएको विषयवस्तुलाई जस्ताको तस्तै दर्शकमाझ लैजान मेहनत गरिएको बताए । नाटकले दर्शकको मन जित्नेमा उनी विश्वस्त छन् । पौडेलले लेखेको नाटक घेरो र धनीरामको गोरुसमेत शर्माले निर्देशन गरेका थिए ।

नाटकलाई जीवन्तता प्रदान गर्न कलाकारले उत्तिकै मिहिनेत गरेका छन् । नाटकले दर्शकको साथ पाउने विश्वास आफूहरुको रहेको कलाकार राजेन्द्र अधिकारीले बताए । ’कलाकारको हैसियतले नाटकमा कत्तिको न्याय गर्न सके त्यो दर्शकले पक्कै मूल्यांकन गर्नुहुनेछ, यो आफैमा चुनौतीपूर्ण पात्र थियो, कन्टेनको हिसाबले यो नाटकले पक्कै दर्शकको मन छुनेछ’ उनले भने । नाटकलाई परिपक्क बनाउन अधिकारीले गरेको प्रयास तारिफयोग्य छ । अन्य कलाकारले समेत आफ्नो भुमिकामा न्याय गरेका छन् । यसका अलावा नाटकलाई आकर्षक बनाउन सांगीतिक खुराक र लाइटले समेत उतिकै सघाएको छ । पहिलो सो मञ्चन पश्चात् थप उत्साहित भएको टिमले एकपटक नाटक हेरेर प्रतिक्रिया दिन रंगप्रेमी दर्शक समक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->