पोखरा/ भजन गायक कृष्णप्रसाद गौतमको एकल साँझ हुने भएको छ । यहीं फागुन २७ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने एकल साँझको तयारीसमेत थालिएको छ । पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा कार्यक्रम हुन लागेको हो । बालन नाच संरक्षण र प्रर्वद्धनमा सहयोग पु¥याउनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकको दाबी छ । एकल साँझमा गायक गौतमले भजनसहित सालैजो, रोइला, रत्यौली, बाजा र लोकगीत गरी कुल १५ वटा गीत गाउनेछन् ।
एकल साँझ कार्यक्रममा चर्चित लोकदोहोरी गायक राजु परियार र शिला आलेले समेत गायक गौतमलाई साथ दिनेछन् । गौतमको जन्म कास्की जिल्लाको पोखरामहानगरपालिका वडा नम्बर २८ कालिकाको काँफलघारीमा भएको हो । बुबा ठाकुरप्रसाद गौतम र आमा सावित्री गौतमको सन्तानको रुपमा जन्मेका गौतमको सांगीतिक यात्रा गाउँमा आमाहरुसँग बसेर रत्यौली र बुबाहरुसँग बसेर भजन गाउँदै सुरु भएको हो ।
उसांगीतिक क्षेत्रको औपचारिकता यात्रा भने २०६८ सालमा ‘झम्के साँझ’ गीतबाट भयो । उनको आवाजमा हालसम्म एक सय भन्दा बढी गीत रेकर्ड भइसकेको छन् । उनले गायका गीतमा बढी भजन गीत नै छन् । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको अध्यक्ष रहेका गौतमका पाँचवटा उपन्यास प्रकाशित छन् ।
एकल साँझबाट ९ लाख आम्दानी हुने तथा साढे ४ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रम संयोजक रुद्र प्रसाद अर्यालले बताए । बचत रकम श्रीकृष्णलीला बालन नाचको लागि आवश्यक कपडा, मुकुट,वाद्यबाधन लगायतका लागि खर्च गरिने उनले जनाए । दिउँसो साढे एक बजेबाट सुरु हुने एकल साँझ हेर्नको लागि तीन सय, पाँच सय र एक हजार रूपैयाँको टिकट काट्नुपर्नेछ ।





