बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भजन चुड्कामा रम्नेहरुको भिड बढ्दै

भजन चुड्कामा रम्नेहरुको भिड बढ्दै

खुल्ला लोक भजन चुड्का प्रतियोगितामा २८ समूह सहभागी ।


  • राजाराम पौडेल
  • फाल्गुन २८ २०७९, आइतबार

पोखरा /पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा भजन चुड्कामा रम्ने तथा कथा सुन्नेहरुको भिड बढ्न थालेको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको बृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा खुल्ला भजन चुड्का प्रतियोगितामा पुग्नेहरुको संख्या बढ्न थालेको आयोजकको भनाइ छ । प्रतिष्ठानले आफ्नो भवन निर्माण गर्ने योजनासहित यस कार्यक्रमको आयोजना गरेको हो । फागुन २५ गतेदेखि सुरु भएको यो कार्यक्रम चैत्र २ गतेसम्म चल्नेछ ।

लोक भजनको संरक्षण ताथ नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न आयोजित खुल्ला लोक भजन चुड्का प्रतियोगितामा देशका विभिन्न ठाउँका २८ समूहले प्रतिष्पर्धा गर्ने भएका छन् ।

यसरी प्रतिष्पर्धा गर्ने समुहमा राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान दाङ, इशानेश्वर बालन समुह लमजुङ, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान पाल्पा, पञ्चासे भजन समूह कास्की, ओखलढुङगा भजन समूह, सफल थापा भजन समुह, मिजुरे पोखरा सम्पर्क समाज, सिद्ध काली भजन समूह, फूलबारी ओमकार भजन समूह, दैविक शक्ति खोज तथा उपचार केन्द्र समुह, हिन्दु धर्म संरक्षण भजन समूह, लिपेनी भजन समूह मादी, थानापति शिव मन्दिर भजन समूह, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान कास्की, महिमा भजन समूह हरिनास स्याङ्जा रहेका छन् ।

यसैगरी मातृकेश्वर भजन समुह कास्की, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान रुपन्देही, शिव पार्वती भजन समुह वालिङ, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान स्याङजा, विश्व हिन्दु महासंघ कास्की, धर्म जागरण भजन समूह पोखरा १९, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नवलपरासी र राधाकृष्ण सांस्कृतिक समूह पोखरा ३२ ले समेत प्रतियोगितामा भाग लिएका छन् । यसका अलावा थप पाँच समुहले समेत प्रतियोगितामा भाग लिने निश्चित गरेको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष प्रजापति पराजुलीले जानकारी दिए ।

भजन चुड्का प्रतियोगिताअन्तर्गत प्रथम हुने समूहलाई ५१ हजार, द्वितीयलाई ३१ हजार, तृतीय हुनेलाई २१ हजार, सान्त्वना हुने समूहलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट नृत्य, उत्कृष्ट झाँकी, उत्कृष्ट भेषभूषा तथा अनुशासित समूहलाई सात हजार पाँच सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ ।

भजन चुड्का महोत्सवसँगै हुने ज्ञान महायज्ञमा विशिष्ट वैज्ञानिक तथा आध्यात्मिक व्याख्याता चैतन्यकृष्ण प्रभुले भागवत् वाचन गरिरहेका छन् । अध्यक्ष पराजुलीले लोक भजनको संरक्षण गर्दै प्रतिष्ठानको भवन निर्माण गर्ने लक्ष्यका साथ गरिएको कार्यक्रममा सहभागिता जनाइ आफूहरुको पवित्र उद्धेश्यमा सहयोग गर्न आग्रह गरेका छन् । ‘राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानको भवन निर्माण गर्ने अभियानमा इट्टा थप्नको लागि तपाईको साथ सहयोग आवश्यक छ, सबै जना आइदिनुहुोला’। उनले भने ।

लोक भजन चुड्का प्रतियोगितामा रमाउन मात्र नभएर महायज्ञमा पुण्य प्राप्त गर्नका लागि रुद्री, ग्रह शान्ती, एकाह, सत्यनारायण पुजा, होमन कार्यमा समेत सहभागी हुन सक्ने उनले जनाए । कार्यक्रममा हालसम्म २ लाख ६१ हजार रुपैयाँ संकलन भएको आयोजकको भनाई छ । भजनप्रति आर्कषण बढाउन र यसको संरक्षण गर्न कार्यक्रम गरिएकोले आगामी दिनमा सहयोगी मनहरुको साथ पाउने उनको विश्वास छ ।

भवन निर्माण गरेर नयाँ पुस्ता तथा यो क्षेत्रमा रुचि राख्ने सबैलाई प्रशिक्षण दिने र लोक वाजाको संग्रालय स्थापना गर्ने योजना बनाएको उनले खुलाए । ‘एकजनाले जग्गा दिने वाचा गर्नुभएको छ, हामीले दूई तले घरको परिकल्पना गरेका छौं’ उनले भने ।

२०६७ सालमा स्थापना भएको प्रतिष्ठानले लोक भजनको क्षेत्रमा निरन्तर कार्य गर्न थाल्यो । फलस्वरुप अहिलेसम्म प्रतिष्ठानको ४६ जिल्ला शाखा, ३ प्रदेश शाखा सहित जापान र अष्ट्रेलियामा वैदेशिक शाखा समेत गठन गरिसकेको छ । नयाँ पुस्तामा लोक भजन प्रतिको मोह बढाइ लोक भजन प्रति आर्कषण गराउँदै संस्कृतिको संरक्षण गर्ने प्रतिष्ठानको मुख्य लक्ष्य रहेको छ । प्रतिष्ठानका गतिविधिका कारण यसतर्फको आर्कषण थपिदै गएको अध्यक्ष पराजुलीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->