पोखरा/ पोखरामा बिहीबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुने भएको छ । सभागृहस्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुन लागेको हो । शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘बहाव’ को रेडकार्पेट शो मा कलाकारहरु सुरक्षा पन्त, कमलमणि नेपाल, निर्देशक प्रमोद कँडेल र निर्माता श्रीधर पौडेल आउने भएका छन् ।
रेडकार्पेट शो को आयोजना प्रचार र स्पेक्स फोर्टीनले गरेको हो । सह—आयोजना चलचित्र पत्रकार संघ कास्कीको रहेको छ । पोखरामा हुने रेडकार्पेट शो को सम्पूर्ण तयारी पूरा भएको प्रचारका संचालक आशिष पुरीले जानकारी गराए ।
काठमाडौंको प्रिमियर शो पछि पोखरामा बहावको पहिलो पटक रेडकार्पेट शो गर्न लागिएको स्पेक्स फोर्टीनका संचालक महेश्वरसिंह भण्डारीले बताए ।
पारिवारिक कथामा निर्माण भएको फिल्म ‘बहाव’मा अभिनेत्री सुरक्षा पन्त र सक्किगोनी सिरियलका कलाकार कमलमणि नेपाल मुख्य भुमिकामा रहेका छन् । अहिले यहि जोडी लिएर फिल्मका निर्माता श्रीधर पौडेल प्रचार प्रसारका लागि दौडधुपमा छन् । श्रीधर पौडेल नेपालका चर्चित फोटो पत्रकारसमेत हुन् । उनले यसअघि फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।





