बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्‍यो २८ जना श्रष्टाको बायोग्राफी तयार

गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्‍यो २८ जना श्रष्टाको बायोग्राफी तयार


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७९, बिहिबार

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पूरा हुन लागेको अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वरभूमि हो, यो उर्वर भूमिलाई थप उर्वर बनाउन स्थापनाको छोटो समयमानै प्रतिष्ठानले खेलेको भुमिका प्रति सन्तुष्ट छु,’ उनले भने । प्रतिष्ठानले एकसाथ आयोजना गरेका पाँचवटा कार्यक्रममा सहभागी बन्दै उनले प्रतिष्ठानलाई थप क्रियाशिल बनाउन आफ्नो साथ सदैव रहने वाचा गरें । प्रतिष्ठानले गरेका कार्य र यसको सक्रियताले यो क्षेत्रमा थप रौनकता थप्ने विश्वास उनको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, रंगकर्मी शिव संकल्प लगायतले बोलेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

‘गण्डकी नाट्यदर्पण’ प्रकाशन

प्रतिष्ठानले गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको छ । दूईसय पेजको यो पुस्तकमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाट्य गतिविधिको इतिहास र वर्तमान अवस्थाको बारेमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा सामुदायिक नाट्यचेतको अवस्था बारेको जानकारीसँगै नाट्य क्षेत्रमा स्थापित बनेका नाट्यकारको अन्तर्वार्ता पुस्तकमा समावेश छ । मनकुमार श्रेष्ठ, परिवर्तन र शिवसंकल्पले सम्पादन गरेको यो पुस्तक गण्डकी प्रदेशको नाट्य क्षेत्रबारे थाहा पाउने महत्वपूर्ण पुस्तक बन्ने विश्वास प्रतिष्ठानले गरेको छ ।

श्रष्टाको बायोग्राफी तयार हुँदै

प्रतिष्ठानले यो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी तयार पारेको छ । जसअन्तर्गत संस्कृतीकर्मी तीर्थ श्रेष्ठको बायोग्राफी बुधबार विमोचन गरियो ।

डा. रविलाल अधिकारी, तीर्थ श्रेष्ठ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल वात्स्यायन, काजी रोशन, प्रेम छोटा, जीवन शर्मा, खड्ग गर्बुजा, शान्ति नारायण श्रेष्ठ, इन्द्र विकल्प, सुन्दर कुमार जोशी, डा.कुशुमाकर न्यौपाने, अम्बर गुरुङ, पुरुषोत्तम न्यौपाने, आलोक गुरुङ, पृथ्वीनारायण श्रेष्ठ, माया गुरुङ, कृष्ण गुरुङ, डा.बम बहादुर जिताली, रोशन गुरुङ, रामचन्द्र घिमिरे शास्त्री, आलोक श्री, धोज गुरुङ, बुद्धिप्रसाद गुरुङ गौरी, गोविन्द विनोदी, अम्बर विरही गुरुङ, पुष्परत्न महतो लगायतका श्रष्टाको वायोग्राफी निर्माण प्रतिष्ठानले गरेको छ । केही श्रष्टाको वायोग्राफी संकलन हुने क्रममा समेत रहेको उपकुलपति गोरे गुरुङले जनाए । सम्पादन पछि सबै श्रष्टाका १५ मिनेटका बागोग्राफी वेवसाइटमा राखिनेछ ।

सारङ्गी प्रशिक्षण सुरु

प्रतिष्ठानले झलकमान गन्र्धव सारङ्गी पाठशालासँगको सहकार्यमा २५ जनालाई सारङ्गी प्रशिक्षण गराउने भएको छ । सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ बुधबार गरियो ।

स्रष्टा स्वास्थ्य बिमा कार्यक्रम

प्रतिष्ठानले स्रष्टा स्वास्थ्य विमा कार्यक्रमको समेत थालनी गरेको छ । सम्मर गायक र चन्द्रमणी अधिकारीलाई स्वास्थ्य विमाको फायल हस्तान्तरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरियो । यो वर्ष दुई सय जना श्रष्टाको स्वास्थ्य विमा गर्ने तयारी गरिएको छ ।

परम्परागत गीत संरक्षणको सुरुवात

प्रतिष्ठानले परम्परागत गीत संरक्षणको समेत सुरुवात गरेको छ । जस अन्र्तगत गन्र्धव जातिको तरबार गीत विमोचन भएको छ । बाह्रमणको बालन, गुरुङहरुको मृत्यु संस्कार मात्र बजाइने गीत र मगरहरुको कालीगण्डकीमा मात्र जीवित रहेको गीतलाई तयार पारेर संग्रह गरिएको जनाइएको छ ।

दोस्रो स्थापना दिवस भव्य बनाउने तयारी

प्रतिष्ठानले आगामी वैशाखमा आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारी गरेको छ । सो कार्यक्रममा गण्डकी प्रदेशका कला साहित्य संगीततर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । अन्य केही प्रशिक्षण कार्यक्रम समेत प्रतिष्ठानले गर्न लागेको उनले जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->