पोखरा / नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार हुने यो नाटक नेपाली नयाँ वर्षको अवसरमा आगामी बैशाख १ गतेबाट ९ गतेसम्म मञ्चन हुनेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकको लेखन तथा निर्देशन शिव संकल्पले गरेका हुन् । शनिबार अतिरिक्त सो दिउँसो १ बजे पनि हुनेछ । विद्यार्थीलाई लक्षित गरेर अबदेखि सोमबार भने दिउँसो २ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए ।
नाटकमा दील प्रसाद गुरुङ, रोशन तिमिल्सिना, सुशिल बराल, रोशन पोखरेल, रमेश बाबु तिमल्सिना, दीपसना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, भुमिका धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियंका खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय रहेको छ । मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष संगीत नाटकमा रहनेछ भने यो पाटोलाई थप आर्कषक बनाउन सोनिया कार्की खत्री र पासाङ ल्यामू शेर्पाले मेहनत गर्दैछन् ।
नाटकमा शास्त्रीय संगीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिएको छ । भेषभुषामा समेत सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक संकल्पले जनाए । पेशाले पोखरा विश्वविद्यालयमा प्राध्यापनरत रुचिले साहित्य, संगीत र कलाप्रेमी उनका कथा, कविता लेख र समालोचनाहरु प्रकाशित छन् । यो नाटकबाट पूर्वीय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उनले खुलाए ।





