बेनी / काठमाडौंबाट मुस्ताङको जोमसोम जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएका चारै जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ ।
काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो मुस्ताङ हुँदै थोरङ्लापास गरी बेंसीसहर निक्लन हिँडेका मजदुरहरु सवार बस बेनी-जोमसोम सडकको तिप्ल्याङ खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका- १ मा पर्ने तिप्याङ नजिकै शुक्रवार बिहान करिब ९.४५ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी ओखलढुङ्गा जिल्लाको मलङ गाउँपालिका- ७ की मिङ्मा शेर्पा, खिचिरेम्बा गाउँपालिका-१ की छम्जी शेर्पा, सिन्धुपाल्चोक जिल्लाको पाँचपखीथान गाउँपालिका-६ का मिङ्मार तामाङ र लिसिम्वोपहर गाउँपालिका- १ का पूर्ण लामा घाइते भएका हुन् ।
बेनी अस्पतालमा उपचाररत घाइतेहरुलाई टाउको, खुट्टा, हात र ढाडमा बढी चोट लागेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उक्त बसमा सवार अन्य यात्रु भने अर्को बस व्यवस्था गरी गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
‘सडकको कुनापट्टि ग्राभेल गर्न गिटी थुपारेको थियो । बस डिलबाट तीव्र गतिमा गुडेको बेला अचानक बस डिलमुनि पुग्यो । थोरैले कालीगण्डकीमा झरेन,’ बेनी अस्पतालमा उपचारत टिमका मुख्य कुक पूर्ण लामाले भने, ‘कम्पनीबाट रिजर्भ बसमा हामी २१ जना थियौं । पर्यटकहरु मार्फा पुगी सके । आज जोमसोममा भेटेर भोलिबाट उपल्लो मुस्ताङ गइ फर्केर थोरङ्ला उक्लेर तिलिचो पुग्ने र मनाङ झर्न हिँडेका हौं ।’





