पोखरा/ पोखरामा झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगिता वैशाख १५ र १६ गते हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारङ्गी पाठशालाले उक्त कार्यक्रम गर्न लागेको हो । झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगितामा प्रतियोगीले सारङ्गी बजाएर गन्धर्व गीत गाउनुपर्ने छ । प्रतियोगितामा देशभरका कलाकारहरुले सहभागिता जनाउने पाउनेछन् ।
प्रतियोगितामा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन । वैशाख १५ गते प्रतियोगी छनोट कार्यक्रम रहेको र फाइनल वैशाख १६ गते हुने आयोजक संस्था नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ का अध्यक्ष सूर्य गायकले जानकारी गराए । झलकमान गन्धर्वका गीतको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार १५ हजार, चौथो पुरस्कार ७ हजार ५ सय रुपैयाँ, प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
नेपालका मौलिक बाजा अर्बाजो, सारङ्गी, मादलको संरक्षण, मौलिक तथा लोपन्मुख बाजाको पहिचान, गन्धर्व गीत मंगल, माहल बाह्रमासे, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल,बालन,कृष्ण चरित्र, स्वस्थानी, विभिन्न कथा, घटनाहरुको संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे ।
उनले सारङ्गी गायन र वादनको प्रशिक्षणलाई निरन्तरता दिइ नयाँ कलाकार उत्पादन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको पनि बताए ।





