बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘स्वर्णिम’ को जीतले पर्वत कांग्रेसमा पराकम्प

‘स्वर्णिम’ को जीतले पर्वत कांग्रेसमा पराकम्प

सामाजिक सञ्जालमा लेख्दै,पार्टी छाड्दै ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८०, मंगलबार

पर्वत/ वैशाख १० गते भएको उपचुनावको नतिजा १२ गते आयो । नेपाली कांग्रेसले गठबन्धनको शक्ति लगाएर प्रतिष्ठाको विषय बनाउँदा पनि तनहुँ १ मा आफ्ना उम्मेदवारलाई जिताउन सकेन । भारी मतान्तरले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उमेदवार बनेका डा. स्वर्णिम वाग्लेले चुनाव जिते ।

उनको जीतलाई लिएर कांग्रेस भित्र र गठबन्धनमा मात्र नभई राष्ट्रिय राजनीति नै तरंगित बन्न पुग्यो । भएजतिको शक्ति लगाउँदा पनि कांग्रेसका उम्मेदवारले मंसिरमा समानुपातिकमा पाएको जति मत पनि ल्याउन सकेनन ।

उमेदवार पराजित भएपछि तनहुँमा चुनावी कमाण्डर बनेका कांग्रेस महामन्त्री गगन थापाले निर्मम समीक्षा र आत्मनिरिक्षण गर्ने बताइरहेका छन । पार्टी सभापति शेरबहादुर देउवाले पनि उपचुनावको परिणामपछि ‘ठूला पार्टीहरुप्रति जनताले चासो नदेखाएको र पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता देखिएको’ बताएका छन ।

कांग्रेसकै नेताहरुको प्रतिक्रिया अनुसार रास्वपाबाट स्वर्णिमको जित, ‘सतर्कताको घण्टी’ हो । तर, घण्टी चुनाव चिन्हबाट स्वर्णिमले जित्दै गर्दा त्यसको बाछिटा पर्वत कांग्रेसमा देखिएको छ । हप्तादिनमा नै कांग्रेस छाड्नेको लहरो हेर्दा पर्वतको कांग्रेसमा ‘सतर्कताको घण्टी’ को सट्टा ‘खतराको घण्टी’ बजेको छ ।

एक हप्तामा नै पर्वतमा ५० औँ जना बढीले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन । पार्टी छाड्नेमा जिल्ला सभापतिमा प्रतिष्पर्धा गरेकादेखि लिएर जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय समितिका पदाधिकारी, नेपाल विद्यार्थी संघ, महिला संघमा आबद्ध पदाधिकारी तथा सदस्यहरु छन ।पार्टी परित्याग गर्नेहरु पर्वतमा संस्थापन इतरको रुपमा चिनिएका थिए ।कांग्रेसको १४ औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा प्रतिष्पर्धा गरेका मिलन सुवेदीसहित ३१ जनाको टोलीले एकैसाथ कांग्रेस छाडे । पर्वत कांग्रेसको सभापतिमा सुवेदीले युवराज जोशी र यामबहादुर मल्ल (रामकृष्ण) सँग प्रतिष्पर्धा गरेका थिए । तर, उनी त्यहाँ पराजित भए । जिल्ला सभापतिमा प्रतिष्पर्धा गर्नुअघि उनी नेविसंघ पर्वतका सभापति समेत थिए ।उनै सुवेदीसहित नेविसंघकै पूर्वसभापति सन्तोष पाठक, जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेललगायत छन ।

१४ औँ जिल्ला अधिवेशनमा हालका महामन्त्री गगन थापाले नै फोन गरेर सभापतिमा उठ्न भनेका सुवेदीले आखिर किन कांग्रेस छाड्नुप¥यो त ?
कांग्रेस परित्याग गर्नुको कारणबारे उनले लेखेका छन, ‘विगतलाई समीक्षा गर्दै आजसम्म हामी क्रियाशील रहँदै आएको पार्टीबाट साधारण सदस्य पनि नरहने गरी स्वतन्त्र रहेको जानकारी गराउँदछौँ । निकट भविष्यमा नयाँ यात्रासहित यहाँहरुका सुखदुखमा जोडिने नै छौँ । धन्यवाद ।’

त्यसयता पर्वतमा दिनहुँ सामाजिक सञ्जालमा कांग्रेस परित्याग गर्नेहरु बढिरहेका छन । सोमबार नै कांग्रेसको प्रदेश समितिअन्तर्गत क्षेत्र (२) का क्षेत्रीय सहसचिव ठाकुर रसाइलीले पनि राजीनामा दिएका छन ।

रसाइलीले फेसबुकमा एक विज्ञप्ती जारी गर्दै लेखेका छन, ‘पछिल्लो दिनमा युवापंक्ति माझ विद्यमान भइरहेको चरम निराशा, पार्टीभित्रको गुटबन्दी तथा द्वन्द्वको रचनात्मक व्यवस्थापन र जनअपेक्षासहितका काम गरी आशा भरोसा दिलाउने सवालमासमेत जिम्मेवार पदमा रहेर पनि केही गर्न नसकिने अवस्था बनेको छ ।’
रसाइली १४ औँ महाधिवेशनमा इतर समूहबाट प्रतिष्पर्धा गरि सहसचिव निर्वाचित भएका थिए ।

नेविसंघमा आबद्ध भई ०४६ सालदेखि कांग्रेसमा जोडिएकी महिला संघकी जिल्ला सदस्य माया शर्माले पनि सोमबार नै कांग्रेस छाडेकी छन । उनी तरुण दल विहादीको कोषाध्यक्ष हुँदै महिला संघको कार्यसमिति सदीय समेत थिइन ।कांग्रेस परित्याग गर्दैगर्दा उनीहरुले दुइवटा संकेत दिएका छन ।एउटा नेतृत्वको चरम गुटबन्दी र अर्को उदाउँदै गरेको रास्वपाप्रतिको आकर्षण ।

‘अवसरका लागि ठुला भनिएका दल र ठुला सोचिएका नेताका आडमा बसिरहने कि परिवर्तनका लागि जनताका साथमा उभिने आफैँ सोचौँ । स्वतन्त्र अभियान पर्वत ।’ पार्टी त्यागेपछि सुवेदीले लेखेको फेसबुक स्टाटस हो, यो ।

उनले रास्वपाबाट निर्वाचित डा. वाग्लेलाई भेटेको तस्वीर शेयर गर्दै देशको समसामायिक विषयमा छलफल गरिएको समेत जनाएका छन । तर, तत्काल रास्वपामा प्रवेश गर्ने वा नगर्ने निर्णयमा पुगिनसकेको उनले जनाए । ‘हामीले कांग्रेस त्याग गरेका हौँ, कांग्रेसका कारण हामीलाई अन्याय भएको होइन, देशलाई नै अन्याय भएको छ,’ सुवेदीले भने ।

मुलुकमा लोकतन्त्र आएर गणतन्त्र आइसक्दा पनि नागरिकले पाउनुपर्ने डेलिभरी ठूला दलबाट नपाएको उनको भनाइ छ । ‘अहिले पनि विधिको शासन र कानुनीराजको धज्जी उडाएर जनतालाई त्रास र आशमा राखेर राजनीति गर्ने परिपाटी छ । यसले जनतालाई न्याय भएन । मुलुक र जनतालाई न्याय नहुँदैगर्दा हामीपनि दुख गरेको पार्टी भनेर बस्ने कुरा भएन,’उनको भनाइ छ ।

तर, पर्वत कांग्रेसमा भने पार्टी परित्यागको विषयलाई लिएर पक्षविपक्षमा टिकाटिप्पणी भइरहेका छन । कतिपयले पार्टी त्याग गर्नेलाई अवसरवादी भनिरहेका छन भने कतिपयले पार्टी सच्चिनुपर्ने र परित्याग गर्नेहरुलाई पुनः पार्टीमा नै ल्याउनुपर्ने बताइरहेका छन ।

पर्वतमा कांग्रेसभित्रको विवाद भने पुरानो होइन । सुवेदी स्वयं नेविसंघको राजनीति हुँदै १४ औँ जिल्ला अधिवेशनमा गगन थापा समूहको प्रतिनिधि बनेर चुनावमा होमिएका थिए ।

पर्वतको कांग्रेस राजनीतिमा दुईवटा गुट सक्रिय छन । अर्जुनप्रसाद जोशी र इतर समूहको गुट टोलसम्म नै सक्रिय छ । १४ औँ महाधिवेशनले भने त्यसलाई झनै सक्रिय बनायो । पर्वत कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा भयो । अर्जुनप्रसाद जोशीका भाई युवराज जोशी, रामकृष्ण मल्ल र मिलन सुवेदी सभापतिका उमेदवार बने । अन्य पदाधिकारी तथा सदस्यको पनि प्यानल बन्यो । पहिलो चरणमा नै युवराज जोशी सभापतिमा निर्वाचित भए । निर्वाचित भइसकेपछि सबैलाई मिलाएर लग्नुको सट्टा प्रतिष्पर्धामा उत्रनेहरुलाई निषेध गर्न थालेको इतर समूहको आरोप छ ।

दुई पक्षबीचको यही गुटगत प्रतिष्पर्धा स्थानीय तहमा प्रष्टै देखियो । गठबन्धनका कारण पर्वतका सातमध्ये पाँच पालिकाको अध्यक्ष कांग्रेसले जितेतापनि वडाध्यक्ष भने गुमायो । गठबन्धनबाट नै उपाध्यक्षमा उमेदवारी दिएका माओवादी केन्द्रकाका उमेदवारहरु सबैले जित हासिल गर्न सकेनन । कांग्रेसको विधान अनुसार वडाको टिकटको अन्तिम टुंगो जिल्ला सभापतिले लगाउँछन । इतर समूहले केही वडाध्यक्ष माग्दा नदिएको भन्दै स्वतन्त्र उमेदवार उठाउनेसम्मका क्रियाकलाप भए ।

कांग्रेसभित्रको यो टकरावको मारमा स्वयं अर्जुनप्रसाद जोशी पनि परे । २०७९ मंसिरको प्रतिनिधीसभा निर्वाचनमा गठबन्धनका उमेदवार थिए, जोशी । गठबन्धन हुँदापनि उनी दोश्रोपटक फराकिलो मतान्तरले पराजय भोगे ।

कांग्रेसमा एक समूहले अर्को समूहलाई हराउने आरोप एकले अर्कोलाई लगाइरहन्छन । यतिसम्म कि पार्टीको प्रशिक्षण कार्यक्रममा नबोलाइएको भन्दै पूर्व पार्टी सभापति नवराज गुरुङले माइक नै खोसेर बोले । कांग्रेसका अर्का महामन्त्री विश्वप्रकास शर्मा नै उपस्थित भएको प्रशिक्षण कार्यक्रममा पर्वतको कांग्रेसलाई उनले ‘जोशी कम्पनी एन्ड प्राइभेट लिमिटेड’ को संज्ञा दिए ।

‘आफूसँग असहमत राख्ने समूहलाई तिल बराबर पनि नगनी स्थान नदिई झन कांग्रेसमा विवाद चुलाएको छ ! स्मरण रहोस्m, हिजो गिरिजा बाबु ले पनि शेरबहादुर देउवालाई ४० र शेरबहादुरले रामचन्द्र र आज शेखर समूहलाई समेटेर लगिरहेको अवस्था छ, र प्रजातन्त्र मा सत्ता पक्ष ले इतर समूहलाई समेटेर लानुपर्छ ! बहुमतपक्षले अल्पमतको कदर गर्नुपर्छ अन्यथा त्यो तानाशाही हुन्छ ! यहि प्रवृत्तिको पराकाष्ठा बनेको छ पर्वत कांग्रेस,’ उनले सामाजिक सञ्जालमा लेखेका छन ।

पर्वतमा अर्जुनप्रसाद जोशी भइञ्जेल आफ्नो पालो आउँदैन भन्ने इतर समूहले बुझेका छन । केन्द्रमा सभापति देउवाका निकट जोशीले आफूले टिकट पाएपनि चुनाव जितिँदैन भनेर निकटस्थहरुलाई मंसिरको चुनावताका नै भनेका थिए । सामाजिक सञ्जालमा कतिपयले जोशीलाई अब अभिभावकको भूमिकामा बस्न सुझाव पनि दिएका छन् ।‘नेपाली कांग्रेस र कांग्रेसका साथीहरु र जिल्लाबासीहरुबाट मैले धेरै पाएको छु र म बुझ्ने भएदेखि नै यो पार्टीमा आफ्नो बलबुताले भ्याएसम्म लागि रहेको छु । मेरो यो पहिचान कांग्रेसको कारणले बनेको हो, त्यसैले नेपाली कांग्रेसको लागि जे जस्तोसुकै शर्त र भूमिका मेरा लागि स्वीकार्य छ,’जोशीले सामाजिक सञ्जालमा लेखेका छन ।

पार्टी परित्याग गर्नेहरुका कारण कांग्रेस कमजोर हुन्छ भन्ने दुवै समूहले बुझेका छन । तर, एकले अर्कोको अस्तित्व नस्वीकार्ने प्रवृत्तिले जितिरहँदा पर्वतमा कांग्रेस परित्याग गर्ने भने बढिरहेका छन । यी दुई समूहको नाडी छामेर पार्टी परित्याग गरेकाहरुको आकार बढिरहँदा पर्वत कांग्रेसको साइज घटिरहेको छ ।

यही ‘इगो’ र शक्ति अभ्यासको लोभका कारण एकले अर्कोलाई निषेध गरिरहँदा पर्वत कांग्रेस छाड्नेको लहरो अझै बढ्ने देखिएको छ । सामाजिक सञ्जालका अभिव्यक्ति र घण्टीप्रति देखिएको आकर्षणले यही संकेत गर्छन, कि यो ‘पर्वत कांग्रेसको लागि खतराको घण्टी’ हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->