बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मध्य असार आउन लाग्दा पर्वतमा करिब तीन प्रतिशत मात्रै रोपाई

मध्य असार आउन लाग्दा पर्वतमा करिब तीन प्रतिशत मात्रै रोपाई


  • संजय रेग्मी
  • असार १३ २०८०, बुधबार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–कटुवाचौपारीका कृषक तुलसीनाथ पौडेलले असारको पहिलो साता पानी राख्ने ‘ड्रम’ मा पानी ओसारेर धानको बीउ राखे । कटुवाचौपारीको फाँटमा धानको बीउ राख्न तथा रोपाइ गर्नको लागि स्थानीय मल्याङ्दी खोलाको पानी नहरमा चढ्नुपर्छ । तर आवश्यकता अनुसारको वर्षा नहुँदा मल्याङ्दी खोलामा पानीको बहाव नबढेपछि धाराको पानी जम्मा गरेर बीउसम्म भए पनि राख्ने बाध्यतामा पौडेल थिए ।

असारको १५ गते लाई मध्य असारको दिनको रूपमा लिने गरिन्छ । असारको महिनालाई ‘लासलाई छोपेर मेलामा जाने समय’ को रूपमा कृषकहरूले चित्रण गर्दै आएका छन् । बर्षदिनभरी खाने भातको लागि यो बेलामा गरेको मिहिनेतले मात्रै सम्भव हुन्छ । असार १५ मध्य असार भएकाले यो दिनमा ‘रोपाइ महोत्सव’ समेत आयोजना गर्ने गरिएका छन् । बिहानभर पाकेका मकै थन्क्याएपछि साँझसम्म नै खेतका गरामा व्यस्त हुने बेला हो यो । अति व्यस्तताका कारण ‘लासलाई छोपेर मेलामा जाने समय’ का रूपमा चिनिने यो बेलामा पर्वतका कृषकहरू भने फुर्सदिला छन् ।

‘यो बेलामा रातीको आठ बजेसम्म खेतकै गरामा भइन्थ्यो। हिलाम्मे शरीर हुन्थ्यो ज्यान थाकेर लखतरान ! आजभोलि यो के हुँदै गएको हो कुन्नि पानी नै परेन। परे पनि ढिलो ढिलो गर्छ । आकाशबाट पानी परे पो कान्लामा मूल उठेर रोपाइ हुन्थ्यो। असार १५ आउने बेलामा पनि बसिबसाउ छ’, कुश्मा नगरपालिका–२ खुर्कोटका महेश्वर पौडेल भन्छन्, ‘मानो रोपेर मुरी उब्जाउने बेला हो यो । हाम्रो मुख्य खाद्यान्न नै धान बाली हो । अहिलेसम्म वर्षा नहुँदा रोपाइका त कुरै छाडौँ कतिपयले अहिलेसम्म पनि बीउ राख्न नसकेर चिन्ता भएको छ ।’

कृषि ज्ञान केन्द्र पर्वतका बाली संरक्षण अधिकृत आशिष पाण्डेका अनुसार जिल्लामा असार १३ गतेसम्ममा करिब तीन प्रतिशतसम्म मात्रै रोपाइ भएको अनुमान छ । अधिकांश ठाउँका कृषकहरू बर्खे मूल र वर्षाको भेलमा निर्भर रहेर रोपाइ गर्ने गरेको र अहिलेसम्म मूल उठ्ने र भेल चल्ने अवस्था नरहेकोले रोपाइ हुन नसकेको उनको भनाई छ । गत वर्ष पनि वर्षाकै कारण समस्या खेपेका कृषकहरूले यो वर्ष पनि खडेरीकै कारण समयमा नै रोपाइ गर्न नसकिरहेको पाण्डे बताउँछन् ।

‘अहिलेसम्म त्यही तीन प्रतिशत जति रोपाइ भएको छ । गत शुक्रवारदेखि देशभर मौसम सक्रिय भएको भनिए पनि खेतबारीका कान्लामा मूल फुटाउने गरी वर्षा भएकै छैन । एक छिनलाई चर्किएर भएको वर्षाभन्दा लगातार एकनासले लामो समय वर्षा हुनुपर्छ’, उनले भने, ‘अबै भए पनि वर्षा भइदिए त धान उत्पादनमा त्यति धेरै फरक पर्ने थिएन । अब वर्षा भइदिए त धमाधम रोपाइ सुरु भइहाल्ने थियो ।’ जिल्लाका उत्पादनयोग्य भूमिमा मकै खेतीपछि धान खेती हुने गरेको छ । पर्याप्त वर्षा नहुँदा यस वर्ष मकै उत्पादनमा समेत ह्रास आएको अधिकृत पाण्डेको भनाई छ ।

खोल्साखोल्सी भएका, मकै खेती नगरिएका, बाँझो छाडिएका, एक बाली मात्रै खेती गरिने जस्ता ठाउँहरूमा जेठको अन्तिम साता वा असारको पहिलो सातादेखि नै रोपाइ हुने गरेको थियो । अपायक ठाउँको रोपाइ सकेपछि मध्य असारमा मकै लगाएको खेतमा रोपाइ हुने गरेको थियो । तर यस वर्ष न मकै राम्रो हुन पायो, न समयमै धानको बीउ राख्न मिल्यो न समयमै रोपाइ हुन पाएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष जिल्लाको सात हजार आठ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो वर्ष पनि यही क्षेत्रफल बराबरकै रोपाइ हुने अनुमान गरिएको उनले बताइन् । धान खेती हुनेमध्येको ३६ प्रतिशत क्षेत्रफलमा मात्रै सिचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको थापाको भनाई छ ।

‘धान खेती हुने गरेकोमध्ये ३६ प्रतिशतमा सिचाइको सुविधा छ । तर खोलामा पानी सुकेको अवस्थामा सिचाइका कुला र नहरहरू पानी विहीन बनेको अवस्थामा ३६ प्रतिशत नै पानीको सुविधा छ भन्न सकिँदैन । ६४ प्रतिशत क्षेत्रफल आकाशे पानीमा निर्भर रहनु भनेको आकाशे भरोसा नै हो’, उनले भनिन, ‘गत वर्ष करिब २४ हजार टन धान उत्पादन भएको हो । पोहोर पनि समयमा नै वर्षा नहुँदा कृषकहरू समस्यामा पर्नुभएको थियो । अहिले पनि अवस्था त्यस्तै बनेको छ । धेरै ढिला हुँदै गयो भने उत्पादनमा ह्रास आउने जोखिम बढ्दै जान्छ ।’

पर्वतको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धान खेती हुने गरेको छ । यस क्षेत्रमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यू.एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिड लगायतका जातका धान लगाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->