पोखरा/ उपल्लो मुस्ताङको लोमान्थाङका बासिन्दा इन्दधारा विष्टको शब्द र संगीत रहेको ‘मुस्ताङे नानी’ शुक्रबार सार्वजनिक भएको छ ।
पूर्वसांसदसमेत रहेका विष्टको गीतको म्युजिक भिडियो भने किमी छ्योक्योङ गुरुङले निर्माण गरेका हुन् । तामाङ सेलोमा आधारित मुस्ताङे नानीको म्युजिक भिडियो एसटु प्रोडक्सन प्रालिको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा विश्व दोङको आवाज छ । म्युजिक भिडियोमा वरिष्ठ नृत्य निर्देशक सुवास राई र रिक्साङ गुरुङको अभिनय हेर्न पाइन्छ । विष्टका अनुसार दुई वर्षअघि लेखिएको गीतको म्युजिक भिडियोमा मुस्ताङकै चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी गीत तयार गरिएको विष्टले बताए । यसअघि लोमान्थाङमै बसम र हिमाल पारी लोमान्थाङ गाउँ गरी दुई गीत बजारमा ल्याइसकेका बिष्टको यो तेश्रो गीत हो ।
गीतको अरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् । गीतको निर्देशन र सम्पादन सुरज श्रेष्ठले नै गरेका हुन् । मञ्जु श्रेष्ठको मेकअप रहेको गीतको कोरियोग्राफर भने एमडी सुुवास गुरुङ हुन् । कोरस नृत्यमा भने महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छिरिङले साथ दिएका छन् ।





