बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतका ४० प्रतिशत मुहानको पानी पिउनका लागि अयोग्य

पर्वतका ४० प्रतिशत मुहानको पानी पिउनका लागि अयोग्य


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८०, सोमबार

पर्वत / पर्वतवासीहरूले पिउँदै आएको ४० प्रतिशत पानी पिउनका लागि अयोग्य रहेको स्वास्थ्य कार्यालय पर्वतले गरेको सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य कार्यालय पर्वतले आफूले गरेको सर्वेक्षणको नतिजा प्रस्तुत कार्यक्रममा बोल्दै कार्यालय प्रमुख सन्तोष पौडेलले जिल्लाका सात ओटै स्थानीय तहहरूमा पुगेर लिइएका पानीका करिब दुई सय नमुनामध्ये ७२ ओटा नमुनामा मानिसलाई झाडापखाला हुने ‘ई कोली’ जीवाणु भेटिएको छ ।

परीक्षणका लागि पानीको नमुना लिने क्रममा पानीको मुहान, सङ्कलन गर्ने ट्याङ्की र धाराबाट खसेको वा गाग्रीमा राखिएको पानी गरेर एकै स्रोतका तीन फरक फरक नमुनाहरू लिइएको थियो । पौडेलका अनुसार महाशिला गाउँपालिकाका १० ओटा आयोजनाबाट ३० ओटा नमुना सर्वेक्षण गर्दा सात ओटा मुहानको पानीमा ‘ई कोली’ भेटिएको छ भने २३ ओटा मुहानको पानी पिउन योग्य पाइएको छ ।

पैयुँ गाउँपालिकाका नौ ओटा आयोजनाका २७ ओटा नमुनामध्ये १५ ओटा मुहानको पानीमा ‘ई कोली’ भएको पाइएको छ । त्यहाँका १२ ओटा मुहानको पानी पिउनका लागि योग्य रहेको परीक्षणले देखाएको छ । यस्तै बिहादी गाउँपालिकाका छ ओटा आयोजनाका १८ नमुनामध्ये १० ओटामा ‘ई कोली’ रहेको पाइएको छ । फलेवास नगरपालिकाका चार ओटा आयोजना र एक विद्यालयका गरी १५ ओटा नमुनाको परीक्षण गर्दा आठ ओटामा, जलजला गाउँपालिकाका सात ओटा आयोजनाका २३ ओटा नमुनामध्ये सात ओटामा, कुश्मा नगरपालिकाका पाँच ओटा आयोजनाका २७ ओटा नमुनामध्ये आठ ओटामा तथा मोदी गाउँपालिकाका नौ ओटा आयोजना, एउटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयको गरी कुल ३५ ओटा नमुना परीक्षण गर्दा नौ ओटामा ‘ई कोली’ रहेको पाइएको छ ।

आफूहरूले पानीको परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गरेपछि यसका सरोकारवाला निकायहरूले पानीको अवस्थामा सुधार ल्याउन कामहरू गर्नुपर्ने उनले बताए । कतिपय सरोकारवाला निकायहरूले स्वास्थ्य कार्यालयले नै पानीको शुद्धीकरण गर्नुपर्ने भन्ने बुझेको भन्दै उनले कार्यालयले परीक्षण गरेर पानीको अवस्थाका बारेमा थाहा दिने काम आफूहरूको भएको दाबी गरे । अहिलेको आधुनिक अवस्थामा आइपुग्दा पनि मानिसको दिशामा हुने जीवाणु ‘ई कोली’ पानीमा भेटिनुले हाम्रो स्वास्थ्य अवस्था चुनौतीपूर्ण रहेको पौडेलको भनाई छ । करिब ४० प्रतिशत रोगहरू पानी वा यसको कुनै सम्पर्कबाट सर्ने भएकाले स्वास्थ्यको आधारभूत पहुँचका लागि पनि सबैभन्दा पहिले शुद्ध पानी पिउन पाउनुपर्ने उनले बताए ।

पानीको मुहानमा झरेर पातपतिङ्गर कुहिएर, पानीको मुहानमा मानिसको दिशा मिसिएर वा कहिलेकाहीँ प्राकृतिक रूपमा पनि पानीमा ‘ई कोली’ को मात्रा देखिने पानीको परीक्षणमा संलग्न प्राविधिक दीपा के.सी.ले बताइन् । पानीमा पाइने ‘कोली फर्म’ र ‘ई कोली’ दुवैले मानिसमा झाडापखाला हुने भएकाले सकेसम्म मुहानबाट घरसम्म आउने पानीलाई मुहानदेखि नै शुद्धीकरण गरेर वा त्यो सम्भव नभएमा परिवारले घरमा नै शुद्धीकरण गरेर मात्रै पानी पिउनुपर्ने उनको सुझाव छ ।

परीक्षणको क्रममा जिल्लामा सबैभन्दा शुद्ध पानी शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले वितरण गर्दै आइरहेको पानी भएको पाइएको छ । संस्थाले बाराको अमलेखगन्जबाट ल्याएको बालुवा प्रयोग गरेर ‘स्लो स्यान्ड फिल्टर’ प्रविधिबाट पानीलाई शुद्ध बनाउने गरेको पाइएको छ । संस्थाले वितरण गर्दै आइरहेको पानी सदरमुकाम कुश्मा बजारका विभिन्न स्थानका करिब दुई हजार छ सय घरले प्रयोग गर्दै आइरहेका छन् ।

शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जस्तै करोड बढीको लगानीमा पानीलाई शुद्ध बनाउने प्रविधिको जडान गर्न नसकेपनि २०/२५ लाखमा अरू प्रविधिको प्रयोग गरेर शुद्ध बनाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->