बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘यन्त्र’ र ‘रोग’ ले पर्वतमा गाई गोरुको सङ्ख्या ओरालो लाग्दै

‘यन्त्र’ र ‘रोग’ ले पर्वतमा गाई गोरुको सङ्ख्या ओरालो लाग्दै


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८०, बिहिबार

पर्वत / कृषि क्षेत्रमा भित्रिएको यान्त्रिकीकरण र चौपायामा आउने रोगका कारण जिल्लामा गाई र गोरुको संख्या एक वर्षको अवधिमा नै करिब एक हजारले कमी आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा २९ हजार २५ ओटा गाई/गोरु रहेकोमा आर्थिक वर्ष ०७९/०८० मा नौ सय ९० ले घटेर २८ हजार ३५ कायम भएको छ । परम्परागत खेती प्रणालीमा गोरुले खेतबारी जोत्ने गरेको भए पनि पछिल्लो समयमा कृषिका सरोकारवाला निकाय र स्थानीय तहहरूले पनि आधुनिक हलो अर्थात् ‘मिनी टिलर’ बाँड्दै आइरहेका छन् ।

गोरुले खेतबारी जोत्दा लामो समय लाग्ने र त्यसले समयको बरबादी गर्ने तथा कृषकलाई बढी दुःख हुने भएकाले कृषकहरू पनि ‘मिनी टिलर’ मा आकर्षित हुँदै गइरहेका छन् । यसैको प्रभाव स्वरूप हरेक वर्ष गाई÷गोरु पाल्ने कृषक र गाई÷गोरुको सङ्ख्यामा कमी आउँदै जाने सम्भावना देखिएको छ ।

कार्यालय प्रमुख रामजी पौडेलले अन्य चौपाया तथा पंक्षीको पालनमा अघिल्लो पछिल्ला दुई आर्थिक वर्षमा खासै भिन्नता नरहेको भए पनि गाई/गोरु र बङ्गुर पालनमा कमी आएको बताए । बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगले पालनमा कमी आएकाले रोग नियन्त्रणमा आएपछि आगामी वर्षहरूमा फेरि सङ्ख्या बढ्ने छ । तर गाई/गोरुलाई पनि यान्त्रिक उपकरणहरूले विस्थापन गर्दै लगेकाले सङ्ख्या घट्दै जाने देखिएको उनको भनाई छ ।

‘दूध बेच्नका लागि गाई पालिएको भए पनि गोरु उत्पादनका लागि स्थानीय जातका गाइहरू पाल्ने क्रम घट्दै गइरहेको छ । स्थानीय जातका गाइले कम दूध दिने भएकाले व्यावसायिक कृषकहरूले उन्नत जातका गाई पाल्नुभएको छ । ती गाइबाट जन्मिएका बाच्छा जोत्नमा प्रयोग हुँदैनन्,’ कार्यालय प्रमुख पौडेलले भने, ‘बसाईँसराईँका कारण गाउँका बस्तीहरू पातलिँदै गएका छन् । गाउँमा बसेर जसले कृषि पेसा धानिरहेका छन् उनीहरूले पनि आधुनिक उपकरणहरूको प्रयोग गरिरहेका छन् ।’

भैँसीको संख्या करिब ३३ हजार रहेकोमा रहेको छ । बाख्रा पालनमा भने कृषकहरूको रुचि बढ्दै गएको देखिएको छ । स्याहार गरेर पाल्दा स्थानीय जातकै बोकालाई पनि २०/२२ हजार रुपैयाँमा बेच्न सक्ने करिब चार/पाँच महिनाकै अवधिमा त्यो मूल्य पाउने भएपछि कृषकहरू यसमा आकर्षित भएको अनुमान गर्न सकिन्छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा ४७ हजार बढी बाख्रा पालिएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुई हजारले बढेर ४९ हजार भन्दा बढी पुगेको छ । ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणले सुँगुर तथा बङ्गुर मरेपछि करिब तीन हजार सुँगुर/बङ्गुर घटेका छन् । भेडा, कुखुरा र हाँसको सङ्ख्या दुवै आर्थिक वर्षमा बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->