पर्वत/ विशेषतः गाई र गोरुमा देखिएको ‘लम्पी स्किन डिजिज’ का कारण गण्डकी प्रदेशमा चार हजार पाँच सय ५४ पशु मरेका छन् ।
रगत खाने कीराहरू झिँगा, लामखुट्टे, टिक्स लगायतका कारण फैलिने रोगले प्रदेशका ११ वटै जिल्लालाई प्रभावित बनाएको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी डा. राजेश कुमार चौधरीले जानकारी दिए ।
निर्देशनालयमा रहेको गत साउन २८ गतेसम्मको तथ्याङ्क अनुसार प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये ८२ वटामा ‘लम्पी स्किन’ फैलिएको छ । ती स्थानीय तहका ७७ हजार पाँच सय २६ गाई÷गोरु, चार वटा याक/चौँरी तथा दुई हजार चार सय २१ राँगा/भैँसी गरी कुल ७९ हजार नौ सय ८७ चौपायामा सङ्क्रमण भएको छ । तीमध्येका चार हजार चार सय ९१ गाई÷गोरु र ६३ वटा राँगा÷भैँसी गरेर चार हजार पाँच सय ५४ पशुको मृत्यु भएको छ ।
सङ्क्रमित भएकामध्ये ४० हजार सात सय ९३ गाई÷गोरु र एक हजार सात सय एक राँगा÷भैँसी गरी कुल ४२ हजार चार सय ९४ पशुलाई रोग निको भएको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी गोरखा जिल्लामा यो रोगको प्रभाव देखिएको छ । त्यहाँका २० हजार दुई सय २३ पशुमा सङ्क्रमण भएकोमा नौ सय २४ वटा मरेका छन् भने सात हजार नौ सय ११ वटा लाई निको भएको छ । स्याङ्जामा दुई हजार दुई सय ८६ मा सङ्क्रमण, एक सय १६ को मृत्यु हुँदा एक हजार एक सय १७ पशुलाई निको भएको छ । तनहुँका आठ हजार आठ सय ६६ मा सङ्क्रमण भएको छ । तीमध्येका तीन सय ५३ को मृत्यु हुँदा ३ हजार चार सय ३९ पशुमा लागेको रोग निको भएको छ ।
लमजुङका पाँच हजार सात सय ५४ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण भएकोमा दुई सय ६० वटा मरेका छन् भने दुई हजार आठ सय २३ लाई निको भएको छ । बागलुङका पाँच हजार ७४ पशुमा सङ्क्रमण भएको थियो । जसमध्ये पाँच सय ६७ वटाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ६० वटालाई निको भएको तथ्याङ्क छ । पर्वतका दुई हजार एक सय ६४ पशुमा रोग लागेकोमा एक सय ९६ को मृत्यु र सात सय ९३ लाई निको भएको पाइएको छ । म्याग्दीका आठ हजार १२ मा सङ्क्रमण हुँदा सात सय ३९ को मृत्यु र चार हजार तीन सय ४२ लाई निको भएको छ ।
|
गोरखा जिल्लापछि दोस्रो बढी प्रभावित जिल्ला कास्की रहेको छ । त्यहाँका १८ हजार दुई सय १३ पशुमा सङ्क्रमण भएकोमा सात सय नौ वटाको मृत्यु र १२ हजार तीन सय २४ लाई निको भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा नौ हजार एक सय ७१ पशुमा रोग लागेकोमा छ सय ८५ वटाको मृत्यु भएको छ भने सात हजार २९ लाई निको भएको छ । मुस्ताङमा गाई र गोरु गरी ३५ वटामा सङ्क्रमण भएकोमा पाँच वटाको मृत्यु भएको छ भने २७ वटालाई निको भएको छ । यस्तै मनाङमा ५५ वटा गाई र गोरु तथा चार वटा याक र चौँरीमा गरी ५९ वटामा रोग लागेकोमा २२ वटाको मृत्यु र २२ वटालाई निको भएको निर्देशनालयको तथ्याङ्क छ ।
रोगलाई नियन्त्रणमा लिन हालसम्म एक लाख १० हजार चार सय १९ पशुलाई ‘लम्पी स्किन’ बिरुद्धको खोप लगाइएको छ । ती पशुहरू स्याङ्जाका नौ हजार सात सय १०, तनहुँका १७ हजार चार सय ७३, लमजुङका १३ हजार पाँच सय, बागलुङका पाँच हजार छ सय, गोरखाका ११ हजार तीन सय, पर्वतका छ हजार पाँच सय ७३, म्याग्दीका चार हजार दुई सय ५०, कास्कीका १७ हजार दुई सय २५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १९ हजार तीन सय ४५, मुस्ताङका चार हजार चार सय ४० र मनाङका एक हजार तीन रहेका छन् ।





