बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङका नगर प्रमुख श्रेष्ठ भन्छन्-‘बागलुङको बैभव मेरो सपना हो’

बागलुङका नगर प्रमुख श्रेष्ठ भन्छन्-‘बागलुङको बैभव मेरो सपना हो’

मान्छे जन्मिनुअघि देखि मृत्युसम्मको जिम्मेवारी लिएको हुनाले हामीले हरेक क्षेत्रको समान हिसावले विकास गर्न जरुरी छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८०, शुक्रबार

स्थानीय तह गठन पछिको दोस्रो निर्वाचन भएको एक वर्ष भएको छ । नयाँ ऊर्जा, उत्साह र योजनाका साथ आएका जनप्रतिनिधिहरुले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् । बागलुङ नगरपालिकामा एक वर्षको समयमा के कति काम भए ? आगामी योजनाहरु के के छन् ? कसरी अघि बढिरहेको छ बागलुङ नगरपालिका ? बागलुङ नगरपालिकाका एक वर्षे काम, चालु वर्षका योजना र दीर्घकालीन योजनाका विषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले नगरप्रमुख वसन्तकुमार श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः

के गरिरहेको छ बागलुङ नगरपालिका  ?

-स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था, विद्यमान नेपालको संविद्यानले दिएका अधिकारको प्रयोग गरेर जनताको सेवा गर्ने काम बागलुङ नगरपालिकाले गरिरहेको छ ।
अहिले बागलुङलाई सुन्दर र समृद्ध नगर बनाउने काममा हामी लागिरहेका छौं । बागलुङ बजारको मुहार परिवर्तन गर्न, फुटपाथ व्यवस्थापन गर्न र सडक फराकिलो बनाउने अभियानमा हामी लागेका छौं । सडकपेटीका सामान भित्र राख्ने काम भइरहेको छ । यो अभियानहरुलाई सबैले सहयोग गर्न जरुरी छ ।

निर्वाचित भएको एक वर्ष बित्यो । आफ्नो एक वर्षे कार्यकाललाई आफैंले कसरी मूल्यांकन गर्नुहुन्छ  ?

–एक वर्षको समयमा हामी धेरै कुराहरुमा जोडियौं । धेरै कुराहरुको मूल्यांकन गरेका छौं । हामी जहाँ गएपनि अन्यत्र काम कसरी भइरहेका छन् । नयाँ कामको थालनी कसरी भइरहेको छ । हामीले कसरी काम गर्न सक्छौं भन्ने विषयमा खोजी गरेका छौं ।
हामीले विगतमा गरेका कार्यहरु के–के छन् । सफलता र असफलता के छन् । अधुरा काम के छन् र कसरी पूरा गर्ने भन्ने विषयमा खोजी गरेका छौं । अधुरा काम पूरा गरेर नयाँ कामको थालनी कसरी गर्न सकिन्छ भनेर लाग्यौं ।
बागलुङ बसपार्ककै कुरा गरौं । बसपार्क सञ्चालनका लागि हामीले धेरै कोणबाट काम थालेका छौं । कतिपय पहिरोले सताइरहेको छ । प्रदेश र संघीय सरकारले हेर्नुपर्ने काम हामीले हेर्नुपरेको छ । सहयोग हुँदाहुँदै पनि सर्वसाधारणको नजिक स्थानीय सरकार हुने भएकाले हामीप्रति अपेक्षा धेरै छन् ।
स्थानीय सरकार यस्तो रहेछ जन्मदेखि मृत्यु संस्कारसम्म जोडिनुपर्ने रहेछ । जिम्मेवारी हाम्रो जन्म संकारदेखि मृत्यु संस्कारसम्म हुँदो रहेछ । मान्छे जन्मिनुअघि देखि मृत्युसम्मको जिम्मेवारी लिएको हुनाले हामीले हरेक क्षेत्रको समान हिसाबले विकास गर्न जरुरी छ । चाहे त्यो स्वास्थ्यको क्षेत्र होस्, चाहे त्यो शिक्षा, पोषण, भ्याक्सिन, कुकुरको समस्यादेखि पशुको रोगसम्म, पूर्वाधारको क्षेत्र होस् सबै क्षेत्रमा हरेक दिन हाम्रा जनप्रतिनिधि र वडामा रहेका कर्मचारीदेखि कार्यालयमा रहेका कर्मचारी साथीहरुले त्यो किसिमले काम गरिरहनुभएको छ । र, हामीले बागलुङलाई नयाँ रुप दिनुपर्छ भनेर नयाँ योजनाका साथ काम थालेका छौं ।

५ वर्षपछि देखिने गरी बितेको एक वर्षमा नगरले केही कामको सुरुआत गर्न सक्यो त  ?

–दीर्घकालीन प्रभाव पार्ने कामको सुरुआत वडा तहबाट गरेका छौं । ५ वर्षमा सबै वडामा पक्की सडक पुग्ने गरी कामको थालनी भएको छ । बागलुङलाई कम्तिमा तरकारी, माछा, मासु, अण्डा र दुधमा आत्मनिर्भर बनाउने गरी कामको थालनी भएको छ । बाहिरबाट आउने यस्ता उत्पादन रोक्ने र कृषकलाई आत्मर्निभर बनाउने योजनामा हामी छौं ।
पूर्वाधारमा हामीसँग पर्याप्त पर्यटकीय गन्तव्य प्रकृतिले दिएको छ । त्यहाँ पूर्वाधार बनाउने योजनामा हामी छौं । बागलुङमा पर्यटक भित्राउन सके बागलुङे जनताले केही गर्नु पर्दैन । पर्यटन क्षेत्रमा भएको सम्भावनाको पहिचान, विकास र प्रवद्र्धनमात्रै गर्दा पुग्छ ।

गण्डकीका अन्य पालिका र बागलुङ नगरपालिकामा के फरक छ ? अरुभन्दा फरक र नयाँ केही गर्न सकियो त बागलुङमा  ?

–बागलुङ र अन्य पालिकामा फरक भनेको हामी पुरानो नगरपालिका हो । प्रकृतिको उपहार हामीसँग छन् । बिक्री गर्न सकेका छैनौं । सबै मिलेर यहाँको प्रकृतिको उपहार बिक्री गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।
बागलुङ बजार आफंैमा सफा छ । हरेक नगरपालिकामा कुचीकार छन्, हाम्रो नगर आफैंमा सफा छ । यो बेच्नुपर्ने विषय हो । हामीसँग कयौं पर्यटकीय स्थल छन्, प्राकृतिक र धार्मिक स्थानहरु छन् । हिमाल देखिने प्राकृतिक संरचना हामीसँग छन् ।
बलेवा बिमानस्थल सञ्चालन र त्यसको प्रभाव लगायतका क्षेत्र छन् । विकास गर्ने भनेको यी क्षेत्रको हो । यी क्षेत्रमा हुने विकासले हामीलाई सफल बनाउँछ । बागलुङ नगर, यहाँको बजार भनेको अन्य पालिका र जिल्लाबाट बसाई सरेर आउने नगरपालिका हो । त्यसले गर्दा बागलुङ बजारलाई सुन्दर, सफा, सुविधासम्पन्न बनाउने कुरा अन्य पालिकाको भन्दा फरक कुरा हो ।

भावी योजना के छन्  ?

–ठूला योजनाको विषयमा हाम्रो मूल ध्येय हरेक वडामा पक्की सडक पु¥याउने हो । बागलुङ बसपार्क बागलुङ नगरको मात्रै होइन्, साविकको धौलागिरि अञ्चलकै महत्वपूर्ण बसपार्क हो । यसको सञ्चालन, व्यवस्थापन र दीगोपनाको कुरा छ । सबैको सरोकारको विषय हो बसपार्क ।
बागलुङका हरेक वन जंगलमा रहेको कुकाठ निर्मुल गरेर कृषि उत्पादनलाई बढावा दिने पनि हाम्रो ध्यान छ । शैक्षिक क्षेत्रलाई ३ वर्षभित्र शैक्षिक गुणस्तर पूरा गर्ने, १५ मिनेटमा स्वास्थ्य सेवा पाउने वातावरण बनाउने, बालमैत्री नगर घोषणा गर्ने, पर्यटन पूर्वाधार जोड्दै जाने योजना छ ।
पर्यटकीय हब बागलुङ बनाउने, बागलुङ बजारलाई व्यावसायिक हब बनाउने, मालढुंगाबाट बागलुङ बजारसम्म ४ लेनको बाटो बनाउन सरोकारवालालाई अनुरोध गर्ने, नगरको आफ्नै भवन र यहाँका कार्यालयहरुका लागि घर जग्गाको व्यवस्थापन गर्ने, छाडा कुकुर र गाईवस्तुको व्यवस्थापन गर्ने, खानेपानीका लागि दीर्घकालीन योजना सोच्ने र चलेको योजना तत्काल सम्पन्न गरेर शुद्ध खानेपानीका लागि प्रयासरत रहने योजना छ ।
बागलुङलाई सडक मानवमुक्त बनाउन आश्रमहरुसँग समन्वय गर्ने, अनाथ बालबालिकाका लागि अभिलेख राखेर निशुल्क बढाउने पाल्ने योजना छ । नगरपालिकालाई खेलकुद क्षेत्रमा विकास गर्ने, फोहोर व्यवस्थापन गर्ने, बागलुङ नगरको आफ्नै भवन बन्ने परिस्थिति नभएकाले वडा कार्यालयसहितका लागि जग्गाको व्यवस्थापन गर्ने योजना छ ।
बागलुङमा अहिले विद्युतको अत्याधिक समस्या छ । यसको समाधानका लागि सम्बन्धित निकायसँग पहल भइरहेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर विद्युत समस्याको समाधान गर्ने, उज्यालो बागलुङ कार्यक्रमअन्तर्गत हरेक वडाका चोकहरुमा बिजुली जडानको कार्यक्रम चलेको छ । विद्युत र सोलारको प्रयोगबाट हामीले उज्यालो बागलुङको परिकल्पना गरेका छौं । बागलुङका महत्वपूर्ण ठाउँहरुमा हाइमास्ट बत्ति जडानको कार्य अघि बढाउँदैछौं ।
स्वास्थ्य क्षेत्रमा धौलागिरि अस्पताललाई शिक्षण अस्पताल बनाउन पहल गरेका छौं । नगर अस्पताललाई विकास गर्ने, बर्थिङ सेन्टरहरु खडा गर्ने, बिद्यालय नर्स थप्दै जाने, घरघरमै ल्याबसेवा समेत दिन सकिन्छ कि भनेर सोचेका छौं । कृषि बिमा, गरिब परिवारलाई विद्युत महशुल निशुल्क गर्ने लगायतका कार्यक्रमहरु गर्ने योजनामा छौं ।

समन्वय सहकार्यका केही योजना छन्  ?

–संघ र प्रदेश सरकारसँग समन्वयत अपरिहार्य भयो । कम्तिमा पनि हामीले साविक धौलागिरिका ४ जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङसँग सहकार्य गर्ने योजना छ । महत्वपूर्ण कामहरुमा सहकार्य गर्न हामी तयार छौं । त्यसका लागि हामी समन्वय गर्न तयार समेत छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->