बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ईश्वरमणिको मुक्तक संग्रह ‘सम्बोधिका’ लोकार्पण

ईश्वरमणिको मुक्तक संग्रह ‘सम्बोधिका’ लोकार्पण

असल कृति आयो : सरुभक्त


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८०, आइतबार

पोखरा/ साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह ‘सम्बोधिका’को पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्वकुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा र श्रष्टा अधिकारीलगायतको साथमा लोकार्पण गरेका हुन् ।

कृति लोकार्पण गर्दै सरुभक्तले साहित्यिक कृतिहरु समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । साहित्यकार ईश्वरमणिको यो चौथो कृति हो । यसअघि समयको तस्वीर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह प्रकाशन भइसकेका छन् ।उनले सगरमाथा आरोही विद्यार्थी अरविन तिमिल्सिनाको जीवनी पनि लेखेका थिए । सरुभक्तले मुक्तकको सहर पोखराबाट यस्ता असल कृतिहरु आइरहनुपर्ने बताए ।

प्रमुख अतिथि श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाइ शैलीको लेखनमा मुक्तक आइरहेका भए पनि हाम्रो नेपाली धरातल, संस्कृति, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरुलाई बुझ्न आवश्यक भएको बताए ।

साहित्यकार,संस्कृतिकर्मी तीर्थ श्रेष्ठले मुक्तक मुक्त हुनुपर्ने धारणा राखे । ‘यो स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुन्छ । चार लाइनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कंैचीले काटेको जस्तै हनुपर्छ भन्ने कुरा गलत हो । श्रेष्ठले भने, यो दुई लाइनको पनि हुनसक्छ वा चार, सात लाइनको पनि हुनसक्छ । तर, हुनुपर्ने चाहिँ भाव र चोटिलो प्रहार यसको गुण हो,’ उनले भने ।

कृतिकार ईश्वरमणि अधिकारीले ३० वर्षको अवधिमा लेखेर थन्किएका मुक्तकहरुबाट छानेर सम्बोधिका प्रकाशन गरेको बताए । ‘मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेको छु। तर बेईमानीलाई अस्वीकार गरेको छु,’ उनले भने, ‘मानिस सर्वगुणको हुँदैन । केही कमजोरी भएका छन् भने म आगामी दिनहरुमा सच्याउनुपर्छ । सो अवसरमा उनले छिट्टै अर्को पुस्तक निकाल्ने र पाण्डुलिपि पनि तयार भएको जानकारी दिए ।

कार्यक्रममा कवि जीवनसागर भण्डारीले अधिकारीको परिचय विवरण प्रस्तुत गरेका थिए भने कवि प्राञ्जलले उनका केही मुक्तक वाचन गरेका थिए । कृतिको बारेमा कवि संजिव पौडेलले समीक्षा गरेका थिए ।सो अवसरमा प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ, बिम्ब कवि रमेश श्रेष्ठ, गजलकार दीपक समिप, सरस्वती प्रतिक्षालगायतले शुभकामना व्यक्त गर्दै विषय विज्ञताका साथमा साहित्य लेखनमा अधिकारीको कर्मले नेपाली साहित्यमा योगदान पुगेको बताए ।

१२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । यसअघि कार्यक्रममा कार्यक्रममा सहभागिहरुलाई संस्थाकी उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत, संस्थाका सचिव चैतन्य अधिकारीले सञ्चालन गरेका थिए । उपेन्द्र पौडेल कार्यक्रमको अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->