पर्वत/ प्रायः बजार र लोक मार्ग केन्द्रित हुनुपर्ने पर्वतको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा उपस्थिति बाक्लो बनाउँदै ग्रामीण सडक यात्रालाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीमार्फत गण्डकी प्रदेशका सबै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूबाट एकैसाथ सञ्चालन भइरहेको ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम, २०८०’ सुरु गरिएको हो ।
ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने, ग्रामीण क्षेत्रमा सवारी चलाउने सवारी चालकहरूलाई जिम्मेवार बनाइ सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने, ग्रामीण इलाकाका यात्रुहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने, ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्न प्रेरित गर्ने, दुर्घटना न्यूनीकरण र रोकथामका लागि सहकार्य गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्ताहरू माझ अनुशासनको भावना जगाउने तथा ग्रामीण सडक पूर्वाधारको विकासमा विभिन्न निकायहरूलाई सहयोग र सल्लाह दिने उद्देश्य राखेर ग्रामीण क्षेत्रका विभिन्न सडकमा खटिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले बताए ।
एक महिनामा सात दिन गरेर तत्कालका लागि तीन महिनाका लागि सञ्चालन हुने कार्यक्रममा कुल २१ दिनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत इकाइबाट कार्यक्रमहरू समेतमा सञ्चालन भइरहेका छन् । असार पाँचदेखि ११ गतेसम्म, साउनको सातदेखि १३ गते सम्म सञ्चालन भइसकेका छन् भने पछिल्लो पटक भदौ १० गतेदेखि १६ गतेसम्म कार्यक्रम चलिरहेका छन् । ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक÷सवारी सुरक्षा थप मजबुत हुने, जनधनको क्षति न्यूनीकरण हुने, ट्राफिक प्रहरी र सवारी चालक÷परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने, ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने लगायतका प्रतिफलहरू कार्यक्रमबाट प्राप्त हुने ट्राफिक प्रहरीको विश्वास छ ।
महिनामा एक हप्ता सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिनमा सचेतना कार्यक्रम, सवारी जाँच दोस्रो दिनमा ग्रामीण क्षेत्रमा चल्ने सवारीको जाँच, मेकानिकल जाँच, कागजात जाँच, सिट÷हुट अनुगमन, तेस्रो दिनमा ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम, सिट क्षमता र यात्रु जाँच, भाडा दर/आरक्षण सिट कार्यान्वयन अनुगमन गरिने छ । चौथो दिनमा ग्रामीण सडकका चालक परिचालकहरूसँग साथी कार्यक्रम सञ्चालन, चालकको स्वास्थ्य परीक्षण, चालक र ट्राफिक प्रहरी बिच मित लगाउने कार्यक्रम पाँचौँ दिनमा सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ग्रामीण क्षेत्रका विद्यालयमा प्रशिक्षण छैटौँ दिनमा जनप्रतिनिधिहरू सहित ग्रामीण सडक अनुगमन, रातो प्लेट अनुगमन र कारबाही तथा सातौँ दिनमा जनप्रतिनिधिहरू, यातायात व्यवसायीहरू, चालक÷परिचालकहरू, सडक सुरक्षासँग सरोकार राख्ने अन्य निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तालिका छ ।
ट्राफिक प्रहरी प्रमुख निउरेले जिल्लामा दुर्घटना न्यूनीकरण तथा सडक सचेतना सम्बन्धी ज्ञान वृद्धिका लागि आफूहरूले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेर सुसूचित गराउने प्रयास भइरहेको बताए । सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति असम्भव हुने भएकाले सडक तथा सवारीका नियमहरू मान्नु असल नागरिकको कर्तव्य भएको उनको भनाइ छ ।





