बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अभिभावकलाई पढाउँदै जलजला

अभिभावकलाई पढाउँदै जलजला

‘अभिभावकले नै मोवाइल चलाउने अनि बालबालिकालाई नचलाऊ भन्ने ?’


  • संजय रेग्मी
  • साउन १६ २०८०, मंगलबार

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विद्यार्थीलाईपढ्ने वातावरण निर्माण गर्दै सिकाइमा थप सहजीकरणको लागि ‘अभिभावक शिक्षा’अभियान थालिएको हो । जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई शिक्षा दिन लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, समयको माग अनुसार बालबालिकाहरूप्रति गरिनुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकको दायित्व लगायतको विषयमा जानकारी दिएर अभिभावकहरूलाई थप जिम्मेवार बनाउन लागिएको उनको भनाइ छ । ‘यसले बच्चाहरूको विकास र सिकाइलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छ। आमाबाबुको शिक्षाले उनीहरूलाई शारीरिक, संज्ञानात्मक, सामाजिक र भावनात्मक पक्षहरू सहित बाल विकासको बारेमा ज्ञान प्रदान गर्दछ,’ आचार्यले भने, ‘यस शिक्षाले व्यावहारिक अभिभावकीय सीपहरू र रणनीतिहरू प्रदान गर्ने छ । प्रभावकारी अभिभावकत्वले बच्चाको व्यवहार, अनुशासन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।’

अभिभावक शिक्षासहित शैक्षिक क्षेत्रमा गरिएको लगानी र प्रयास भविष्यको सम्पत्ति भएको आचार्य बताउँछन् । अभिभावक शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्धत गर्ने, समग्र रूपमा परिवार र समाजको कल्याणमा योगदान पु¥याउने, अभिभावकत्वका जटिलताहरूलाई न्यूनीकरण गर्ने, बच्चाहरूको वृद्धि र विकासको लागि पोषण र सहयोगी वातावरण सिर्जना गर्ने लगायतका सीपहरू अभिभावकले सिक्ने छन् ।

स्वस्थ सम्बन्ध, बाल सुरक्षा, भावनात्मक व्यवहार, बाबुआमा वा संरक्षकबाट हुने ‘रोल मोडलिङ’ लगायतका विषयमा अभिभावकहरूलाई जानकारी गराएर बालबालिकाहरूको सिकाइमा थप सहजीकरण गर्ने गाउँपालिकाको योजना छ । कार्यक्रमअन्तर्गत अभिभावकहरूलाई लक्षित गरी शैक्षिक क्षेत्र सँग सम्बन्धित विविध विषयमा शैक्षिक विज्ञ, कर्मचारी, जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, सम्बन्धित वडाका अध्यक्ष तथा शैक्षिक सरोकारवालाहरूको उपस्थितिमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

अभिभावकहरू बालबालिकाका पहिलो गुरु हुने र बिहान बेलुका उनीहरूले जस्तो व्यवहार गर्छन् त्यसैको सिको बालबालिकाले गर्ने भएकोले पनि अभिभावक शिक्षाको आवश्यकता बढ्दै गइरहेको उनको भनाइ छ । ‘बालबालिकाहरूले दिउसोको समयमा त विद्यालयमा अध्ययन गरिरहेका हुन्छन्। तर, बिहान, बेलुका वा विद्यालय बाहेकको समयका शिक्षक भनेका अभिभावक नै हुन,’ शर्माले भने, ‘हामी आफै सामाजिक सञ्जालमा समय बिताएका छौँ । अनि बच्चाले त्यही सिकेर सामाजिक सञ्जाल चलाउँछन्। तर हामी उनीहरूलाई नचलाऊ भन्दै आफै चलाउँछौँ । यस्ता धेरै विषय छन् जुन अभिभावकबाट सुधार हुन आवश्यक छन् ।’

‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले साउन १५ देखि १८ गतेसम्मका लागि समय तालिका नै बनाएर सार्वजनिक गरेको छ। शिक्षा प्रदान तथा छलफल कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले समूह निर्माण गरेको छ । ती समूहहरूले तोकिएको समयमा विद्यालयमा सरोकारवालाहरूलाई उपस्थित गराएर छलफल र आगामी दिनमा शैक्षिक गुणस्तरका लागि गर्नुपर्ने कामहरूको बारेमा निष्कर्ष निकाल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->