बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा अभियन्ता एकातिर, पत्रकार अर्कोतिर

पर्वतमा अभियन्ता एकातिर, पत्रकार अर्कोतिर

गाली भनेको भन्दै अभियन्ताविरुद्ध पर्वतका पत्रकारको किटानी जाहेरी ।


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८०, बुधबार

पोखरा/ कालीगण्डकी जोगाउन ‘सेभ कालीगण्डकी’ अभियान चलाइरहेको अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पर्वतका पत्रकारहरुले किटानी जाहेरी दिएका छन । आफूहरुलाई पेशामा आँच आउने गरी गाली गरेको भन्दै उनीहरुले गिरीविरुद्ध विद्युतीय अपराध मुद्दामा किटानी जाहेरी दिएका हुन् । जाहेरी पछि अहिले अभियन्ता गिरीविरुद्ध जिल्ला अदालत पर्वतले पर्वत प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको छ । पक्राउ पूर्जी जारी भएपछि गिरी सम्पर्कमा छैनन् ।

पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, पूर्वअध्यक्ष छविलाल तिवारीसहित पत्रकारहरु वैकुण्ठ गिरी,रोशन तिवारी, साजन परियार, लक्ष्मण सापकोटा, गणेश पौडेलले साउन २१ गते आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीमा उल्लेख गरिएको विषय चाहिँ सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटस र त्यहाँ आएको कमेन्टहरु रहेका छन । आफूले लेखेका स्टाटसमा गिरीले प्रतिक्रिया जनाउँदा व्यक्ति र पेशालाई गाली गरिएको जाहेरीमा उल्लेख छ । चोर, डाँका, लुटेरा, दलाल, तस्कर भनेर व्यक्ति र पेशामा गाली गर्दा सामाजिक प्रतिष्ठामा धक्का लागेकाले विद्युतीय अपराध ऐनअन्तर्गत जाहेरी दिइएको पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष छविलाल तिवारीले जानकारी दिए ।

गिरीले समय समयमा पर्वतका पत्रकारहरुले बेथिथिविरुद्ध नलेखी दलीय आवरणमा हिँड्ने गरेको आरोपसहित स्टाटस लेख्ने गरेका थिए । सोही विषयलाई लिएर गिरी र पर्वतेली पत्रकारबीच जुहारी नै चलेको थियो ।उक्त विषय बल्झिँदै गएर जाहेरीदेखि पक्राउ पूर्जीसम्म पुगेको छ ।‘पछिल्लो एक वर्षयता लेखिरहेका थिए, यस बीचमा हामीले धेरै कुरा ग¥यौँ, सम्झाउन खोज्यौँ, व्यक्तिगत रुपमा पनि भन्यौँ,’ पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले भने,‘भन्न खोजेको के हो, बुझौँ भनेर भेट्न खोज्यौँ सम्पर्कमा नै आउन चाहेनन् । ऊ त्यस्तै मान्छे हो भन्ने भयो ।’तर, पछिल्लो समय चाहिँ लगातार आफूहरुविरुद्ध अपशब्द लेखेको थापाको भनाइ छ ।

‘३/४ दिन लगातार लेखेपछि, चोर, डाँका, फटाहा, थेत्तर, ह्याङओभर जस्ता शब्द प्रयोग गरेपछि पत्रकारकै परिवारमा पनि उसकै शब्दका कारण आँच आउन थाल्यो । यसले हामीलाई असामाजिक बनाउने भयो । त्यसपछि नै हामी कानूनी उपचारमा गएका हौँ,’उनले भने ।आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि गिरीले भने आफूले बेथितिविरुद्ध लेख्दै गर्दा पक्राउ पूर्जी जारी गरिएको र घरमा छापा हानिएको आरोप लगाएका छन । ‘यो अति हो, समाजका मर्यादाहरु कुल्चेर कहाँ के पत्रकारिता गर्ने, के गरिरहेको छ, समाजलाई गुमराहमा राखेर लुटिखाने यो दलाल, माफिया तस्करहरुको झुन्डसँग ठुलो लडाई लड्नुपर्ने छ,’ गिरीले भने,‘अहिलेको समयमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता बोल्दाखेरि पक्राउ पूर्जी जारी हुनु यो के राज्यव्यवस्था हो ?’

वास्तविक नाम रमेश थापा रहेका गिरीको जन्मथलो भने बागलुङको जैमिनी नगरपालिका ७ जैदी हो । उनी पर्वतको कुश्मा बजारमा बस्दै आएका थिए । कुश्मामा गिरीले सेभ कालीगण्डकी अभियानसहित शताब्दी घर र कुश्मा आर्ट परियोजनालगायतका सांस्कृतिक सामाजिक अभियान चलाउँदै आएका छन् । यता, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख डिएसपी मधुसुदन न्यौपानेले भने पक्राउ पूर्जी जारी गरिएको र खोजीकार्य जारी रहेको बताएका छन् ।साइबर अपराधसम्बन्धी मुद्दा मन्त्रिपरिषदको असार ७ गतेको निर्णयपछि सम्बन्धित जिल्लाले नै हेर्ने निर्णय भएको थियो । उक्त निर्णय राजपत्रमा प्रकाशित भइसकेपछि पहिलो मुद्दा नै पत्रकारको आएको उनले बताए ।

गिरीले पर्वतको पत्रकारितामाथि उठाएका प्रश्नहरु

पर्वतको पत्रकारितालाई नजिकबाट चिन्नेहरुलाई थाहा छ, त्यहाँको पत्रकार महासंघले ‘बास्केट फन्ड’ सञ्चालन गर्छ । उक्त बास्केट फन्ड भनेको विभिन्न संघ, संस्थाबाट आउने अनुदान, सहयोगहरु त्यहाँ जम्मा गरिन्छ । अनि, जिल्लामा सञ्चालनमा रहेका सबै प्रकृतिका सञ्चार माध्यमलाई समान रुपले वितरण गरिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा मात्रै पत्रकार महासंघको बास्केट फन्डमा ५९ लाख ५७ हजार १५७ रुपैयाँ जम्मा भयो । यो रकम त्यहाँका पत्रपत्रिका, एफएम, अनलाइनलगायतका मिडियामा वितरण गरियो ।

पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाका अनुसार उक्त वर्ष झन्डै ६० लाख रुपैयाँ पर्वतका ४२ वटा मिडियालाई वितरण गरिएको बताए ।दैनिकले ३ लाख, साप्ताहिकले दुई लाख भन्दा बढी, अनलाइन मिडिया एफएमहरुमा वितरण गरिएको थियो । उक्त वर्ष पत्रकार महासंघ पर्वतलाई कुश्मा नगरपालिकाले १३ लाख ७९ हजार, जलजला गाउँपालिकाले सात लाख ८८ हजार रुपैयाँ, मोदी गाउँपालिकाले सात लाख ८८ हजार ६९० रुपैयाँ दिएका थिए ।

यस्तै, फलेवास नगरपालिकाले नौ लाख ८५ हजार, विहादी गाउँपालिकाले छ लाख ४० हजार २५०, पैयुँ गाउँपालिकाले छ लाख ४० हजार ३६७ र महाशिला गाउँपालिकाले तीन लाख ४९ हजार ६७५ रुपैयाँ महासंघलाई दिएको थियो । पर्वतका सबै पालिकाबाहेक महासंघले सिंचाई तथा डिभिजन कार्यालयबाट ७५ हजार,डिभिजन वन कार्यालयबाट ६० हजार, स्वास्थ्य कार्यालयबाट एक लाख ४७ हजार ७५० र अन्य कार्यालयबाट एक लाख तीन हजार ४२५ रुपैयाँ लिएको थियो । उक्त रकम विभिन्न शीर्षकमा वितरण गरिएको थियो । महालेखा परिक्षकको कार्यालयको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनले भने महासंघले पालिकाबाट लिएको रकम अनियमित भनेर उल्लेख गरेको छ । ऐन विपरित आर्थिक सहयोग लिएको रकमलाई अनियमित भनेर प्रतिवेदनमा लेखिएको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवम संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था रहेको देखिँदैन । लेखापरिक्षणको क्रममा नमुना परिक्षण गर्दा यस पालिकाले विभिन्न प्रयोजनको लागि यो वर्ष निम्नानुसार राजनैतिक सम्बद्ध संस्था, व्यक्ति एवम अन्य संघसंस्थालाई रु सात लाख ९९ हजार ३९० रुपैयाँ आर्थिक सहायता वितरण गरेकोले अनियमितता देखिएको … ।’ विहादी गाउँपालिकाको अन्तिम लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसरी अनियमित हुने रकमध्येमा पत्रकार महासंघ पर्वतले लिएको छ लाख ५० हजार रुपैयाँ पनि सामेल छ । अन्य पालिकाबाट लिएको रकममा पनि महालेखाले अनियमितता औँल्याएको छ । पालिकाबाट रकम लिने र वितरण गर्ने पत्रकार महासंघको नाममा अनियमितता आएपछि सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो ।पर्वतमै पत्रकारिता क्षेत्रका व्यक्तिले पनि यसको आलोचना गरेका थिए । सोही विषयलाई लिएर अभियन्ता आरके अदिप्त गिरीले पनि आलोचना गर्दै आइरहेका थिए । पत्रकारको संस्थाको नाममा लाखौँ अनियमितता आउने, राज्यबाट लोककल्याणकारी विज्ञापन लिने तर बजारमा पत्रपत्रिका नै वितरण नगर्ने भन्दै उनले आलोचना गरेका थिए ।

पर्वतका पत्रकारलाई उनले ‘प्रसस्ति लेख्ने’ को उपमा दिएका थिए । यसबाहेक उनले हालै पत्रकार महासंघ पर्वत कमिटीले गरेको शुद्धीकरणको विषयलाई लिएर पनि टिप्पणी गरेका थिए । पत्रकार महासंघ प्रदेश समितिले पर्वतका अध्यक्ष सन्तोष थापासहित पूर्वअध्यक्ष,लगायत थुप्रै पत्रकारहरुको नाम काटिदिएको थियो । विभिन्न एनजिओमा काम गरेकोदेखि लिएर विभिन्न दलमा सक्रिय रहेकाहरुलाई प्रदेश समितिले हटाएको थियो । उक्त विषयलाई जोड्दै उनले सामाजिक सञ्जालमा आपत्ति जनाएका थिए । महासंघ र पत्रकार लक्षित टिप्पणीकै कारण उनी अहिले प्रहरीको खोजी सूचीमा छन् ।

‘मौलिक हकमाथि आघात’

फोटोपत्रकार समेत रहेका गिरीमाथिको पक्राउ पूर्जी जारी भएपछि कालीगण्डकी बचाउ अभियान (सेभ कालीगण्डकी) ले विज्ञप्ति प्रकाशन गर्दै संविधानले दिएको मौलिक हकमाथि आघात पुगेको जनाएको छ ।

‘सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेकै कारण पक्राउ पूर्जी जारी गरिएकोमा यो अभियान गम्भीर आपत्ति प्रकट गर्न चाहन्छ ।यो कदमले अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त मौलिक हकमाथि नै आघात पु¥याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।पर्वतका पत्रकारले आधारहीन उजुरी देखाएर गिरीलाई पक्राउ पूर्जी जारी हुँदा कालीगण्डकी दोहनविरुद्धको अभियानलाई कमजोर गराउन खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अभियानका तर्फबाट जारी विज्ञप्तिमा पर्वत प्रहरीले पक्राउ पूर्जी जारी गरेको कारण कालीगण्डकी दोहनमा लागिपरेका दलाल र तस्करको मनोबल बढेको हुँदा प्रहरीलाई आफ्नो कदम सच्याउन अपीलसमेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->