बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनशक्ति नहुँदा ठूलीपोखरी स्वास्थ्य केन्द्रका उपकरण चार वर्षदेखि कोठामै थन्किए

जनशक्ति नहुँदा ठूलीपोखरी स्वास्थ्य केन्द्रका उपकरण चार वर्षदेखि कोठामै थन्किए


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८०, आइतबार

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका बासिन्दा साना ठुला सबै प्रकारको उपचारको लागि सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पतालमा आउनुपर्ने बाध्यता थियो । ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ का लागि कुश्मा वा पोखरा नै जानुपर्ने बाध्यतामा रहेको उनीहरूले पछि गाउँमै यी सेवा पाए ।

गाउँमा रहेको स्वास्थ्य संस्थाबाट नै ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ सेवा पाउन थालेपछि ठूलीपोखरी मात्रै नभई फलेवास नगरपालिकाको कार्कीनेटा र स्याङ्जाको आँधिखोला गाउँपालिकाका केही बस्तीका नागरिकले समेत सेवाको उपयोग गरे । सदरमुकाम बाहेकका ठाउँमा ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ सेवा नपाइरहेको अवस्थामा गाउँमै रहेको संस्थाबाट विशेषज्ञ सेवा पाउँदा ठूलीपोखरी सहित आसपासका क्षेत्रका नागरिकमा मिलेको खुसी लामो समय टिक्न भने सकेन ।

एक त जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा पूर्वाधार, उपकरण र जनशक्तिको आवश्यकता पूर्ति गर्न नै समस्या हुँदै आइरहेको छ । कुनै ठाउँमा उपकरणको आपूर्ति हुँदा जनशक्ति नभएको अवस्था छ त कतिपय ठाउँमा जनशक्ति भए पनि उपकरणहरूको अभाव रहँदै आएको छ । ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भने जनशक्तिको अभावमा ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ का उपकरणहरू थन्किएर बसेको करिब चार वर्ष हुन लागेको छ ।

एम.बी.बी.एस चिकित्सकको दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा २०७६ सालदेखि नै दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएपछि समस्या हुँदै आएको छ । निर्धारित दरबन्दी अनुसार चिकित्सक नभएपछि निमित्तको भरमा सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रमा तीन वर्षयता उपकरणहरू चल्न सकेका छैनन् । स्वास्थ्य केन्द्रमा रहेका ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ मसिन थन्क्याउनु परेपछि त्यहाँका नागरिकहरू सेवा लिनको लागि सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पताल तथा निजी स्वास्थ्य संस्थामा आउन बाध्य भएका छन् । ‘मसिन’ हरू सञ्चालन गर्ने जनशक्ति नहुँदा स्वास्थ्य केन्द्रको एउटा कोठामा थन्किएर बसेका छन् ।

चार वर्षदेखि निमित्तको भरमा रहेको स्वास्थ्य संस्थामा १३ जनाको दरबन्दी रहेको छ । तर अहिले कार्यालय प्रमुख सहित आठ जना कर्मचारीहरू नभएको अवस्था छ । निमित्त कार्यालय प्रमुख कुमारी लामिछानेका अनुसार प्राथमिक उपचारको लागि दैनिक ३० देखि ४० जनासम्म बिरामीहरू आउने गरेका छन् । स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन, बर्थिङ सेन्टर, किशोर किशोरी परामर्श सेवा सहित नियमित स्वास्थ्य सेवाहरू प्रवाह हुँदै आएका छन् । तर तोकिएको दरबन्दी अनुसारको जनशक्ति नहुँदा यी सेवाहरूलाई नियमित रूपले सञ्चालन गर्न समस्या भइरहेको छ ।

नगरपालिकाको समन्वयमा सङ्घ वा प्रदेश सरकारले आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो हुन नसक्दा समस्या भइरहेको वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । केही दिन अगाडि प्रदेश सरकारका स्वास्थ्य सचिवसँग चिकित्सक पठाउने बारेमा कुराकानी हुँदा एक हप्तामा पठाउने भनिएको भए पनि अहिले दुई हप्ता हुँदासम्म पनि चिकित्सक नआएको उनको भनाई छ ।

‘केही समय पहिले एक जना डक्टरलाई पठाउने भनेर रमाना पनि भएको थियो रे । त्यो पनि अन्तिम समयमा काटिएछ । म मन्त्रालयमै गएर सचिवसँग कुरा गर्दा एक हप्तामा नै पठाउने भन्ने कुरा भएको हो । तर दुई हप्ता हुँदा पनि चिकित्सक आएका छैनन’, उनले भने, ‘वडाको तर्फबाट सम्बन्धित निकायहरूमा पटक–पटक भनेको छु । प्रदेश र सङ्घका सांसदहरूलाई, नगरपालिकाका प्रमुख उपप्रमुख, स्वास्थ्य सेवा लगायतमा पुगेर पटक पटक कुरा गर्दा पनि यहाँको अवस्थाको बारमा बुझिदिने कोही पनि भएन ।’ पछिल्लो पटक वडाका तर्फबाट फेरि पत्राचार गरेर ‘डिजिटल एक्स रे’ ‘मसिन’ सहित जनशक्तिको व्यवस्थापन गरिदिन अनुरोध गरेको वडाध्यक्ष रिमालको भनाई छ ।

स्वास्थ्य संस्थामा कार्यरत कतिपय कर्मचारीहरू अध्ययनका लागि समेत जाँदा दरबन्दी खाली भएकाले ती ठाउँमा जनशक्ति नपठाउँदा लाखौँ मूल्यका प्राविधिक उपकरणहरू बिग्रिने जोखिम समेत बढ्दै गइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->