बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाढीको क्षति अवलोकन गर्न मुस्ताङ आइपुगे उपप्रधानमन्त्री श्रेष्ठ

बाढीको क्षति अवलोकन गर्न मुस्ताङ आइपुगे उपप्रधानमन्त्री श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८०, मंगलबार

मुस्ताङ / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (कागबेनी) मा बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गर्दै तत्त्काल राहत र दीर्घकालिन पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवं व्यापारिक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानी, सिँचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेको थियो ।

समयमै बाढीको सूचना पाएपछि यहाँ कुनै मानवीय क्षति भने भएको थिएन । क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनाविद्को अध्ययनमा आधारित निष्कर्षका आधारमा पुनर्निर्माण गरिने जानकारी दिए ।

उनले कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने पनि बताए । त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए ।

संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत् सामान्य तत्कालीन राहत पुगेपनि त्यो पर्याप्त, व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो । गृहमन्त्री श्रेष्ठले जनताको यस्तो दु:खबाट आफू पनि उत्तिकै दुःखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->